काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमवार पनि नेप्से परिसूचक १० दशमलव १४ अंक घटेर बन्द भएको छ । नेप्से २ हजार ७०४ दशमलव ७० विन्दुमा कायम भएको छ । आजसँगै लगातार दोस्रो कारोबार दिन घटेको हो । बजार घट्दा कारोबार रकम समेत खुम्चिएको छ । अघिल्लो कारोबार दिन रू. ६ अर्ब ८३ करोड बराबरको कारोबार भएकोमा आज रू. ५ अर्ब ४० करोडमा झरेको हो । कारोबार रकम कम हुनुको अर्थ, प्यानिक सेलर कम भएका तथा खरीद गर्ने पनि ‘पर्ख र हेरेको अवस्थामा रहेको बुझ्न सकिन्छ ।
नेप्से निरन्तर घटेर पुनः २७ सयको मनोवैज्ञानिक विन्दु नजिक आएको छ । यसअघि बजार इन्ट्रा डे कारोबारमा २९ सय माथि पुगिसकेको थियो ।
लामो समयदेखि बजार ओरालो यात्रामा छ । यसअघि प्रोफिट बुकिङबाट सुरु भएको नेप्सेको ओरालो यात्रालाई अहिले थप राजनीतिक कुराहरूले अस्थिर बनाएको लगानीकर्ता बताउँछन् ।
यसका साथै बजार बढ्दा धेरै उधारो कारोबार हुने गर्दछ । तर बजार घट्दा उधारो कारोबार गर्नेहरू निकै प्यानिक हुने गर्छन् । बजार घट्दै जाँदा उधारो कारोबारको सेटलमेन्टका लागि शेयर विक्री गर्नैपर्ने बाध्यता भएकाले पनि बजारमा सप्लाइ बढी भएको एक लगानीकर्ताले बताए ।
शेयर बजार सधैँ बढ्ने मात्रै पनि होइन भने घट्ने मात्र पनि होइन घटबढ हुदै अगाडि बढ्ने गर्दछ । जस कारण पनि शेयर बजारमा लगानी गर्नु पूर्व कम्पनीको समग्र अवस्था हेरेर लगानी गरेमा जोखिम कम हुने शेयर जानकारहरू बताउँछन ।
यस दिन सेन्सेटिभ इन्डेक्स शून्य दशमलव २१ प्रतिशत, फ्लोट इन्डेक्स शून्य दशमलव २० प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव २३ प्रतिशत घटेको छ ।
३३१ धितोपत्रको ९९ लाख ३५ हजार ८७२ कित्ता शेयर ५७ हजार ५८५ पटकमा रू.५ अर्ब ४० करोड भन्दा बढीको कारोबार भएको छ । कारोबारमा आएका धितोपत्रमध्ये सबैभन्दा बढी राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनको शेयर मूल्य ९ दशमलव ८६ प्रतिशत वृद्धि भएको छ । शेयर मूल्य प्रतिकित्ता रू. ६३५ पुगेको छ । त्यस्तै दोस्रोमा सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ८ दशमलव ०३ प्रतिशत बढेर रू. २ हजार ५८२ कायम भएको छ ।
सोमवार सबैभन्दा बढी महालक्ष्मी विकास बैंकका शेयरधनीले गुमाएका छन् । यस बैंकको शेयर मूल्य ५ दशमलव ६३ प्रतिशत घटेसँगै धेरै गुमाएका हुन । शेयर मूल्य प्रतिकित्ता रू. ४१९ मा झरेको छ । दोस्रोमा घलेम्दी हाइड्रोपावरको शेयर मूल्य ४ दशमलव ५८ प्रतिशत घटेर रू. २९७ दशमलव ७० कायम भएको छ ।
सर्वाधिक शेयर खरीदविक्रीको हिस्सा हिमालयन रिइन्स्योरेन्स कम्पनीले ओगटेको छ । यस कम्पनीको रू. ४३ करोड ९३ लाख बराबरको कारोबार भएको हो । शेयर मूल्य प्रतिकित्ता रू. ९८४ कायम भएको छ । सर्वाधिक शेयर खरीदविक्री हुने दोस्रोमा नेपाल रिइन्स्योरेन्स कम्पनीको रू. ३० करोड ७४ लाख बराबरको भएको हो ।
कारोबारमा आएका १३ समूहगत सूचक मध्ये चार समूहको सूचक बढेको छ ,म्युचुअल फण्डको स्थिर रहेको छ भने बाँकी समुहको सूचक घटेको हो । सबैभन्दा बढी उत्पादन तथा प्रशोधन समूहको सूचक शून्य दशमलव ४४ प्रतिशत वृद्धि भएको छ भने ब्यापार समूहको सूचक ३ दशमलव ३८ प्रतिशत घटेको छ ।