काठमाडौं। ‘वल्र्ड रिसाइक्लिङ डे’को अवसरमा खालीसीसी र कोका–कोला बेभरेजेज नेपालले ‘वेल विइङ आउट अफ वेस्ट’ परियोजनाको एक वर्ष पूरा भएको घोषणा गरेका छन् । यो परियोजनाले नेपालमा दिगो विकास, महिला सशक्तीकरण र फोहोर व्यवस्थापनमा योगदान पुर्याउँदै आएको बताइएको छ ।
फेब्रुअरी २०२४ मा शुरू भएको उक्त परियोजनाले १ लाख ४४ हजार किलो बोतललाई ल्यान्डफिलमा जानबाट जोगाएर पुन: उपयोगी स्रोतमा परिणत गरेको बताइएको छ । परियोजनाअन्तर्गत बुढानीलकण्ठमा मटेरियल रिकभरी फ्यासिलिटी (एमआरएफ)स्थापना गरिएको छ, जहाँ ट्रान्सफर स्टेसन, फोहोर संकलन केन्द्र, फुटसल ग्राउन्ड, रेस्टुराँ लगायत विभिन्न स्रोतबाट ल्याइएका पेट बोतल संकलन र छान्ने काम गरिँदै आएको छ ।
एमआरएफमा रहेको बेलिङ मेसिनको क्षमता प्रतिदिन एक टन रहेको र यसले पेट बोतललाई बन्डल बनाई नवलपरासीस्थित ‘पेट रिसाइकलर’मा पठाउँदै आएको छ । रिसाइकलरमा बोतललाई फ्लेक्समा परिणत गरी पोलिएस्टर स्टेपल फाइबर जस्ता सामग्रीमा रूपान्तरण गरिने बताइएको छ । ‘परियोजना फोहोर व्यवस्थापनको विषय मात्र होइन, यो सामाजिक समानता र दिगोपनको यात्राको सहयात्री समेत हो,’ खालीसीसीका प्रमुख कार्यकारी अधिकृत अमुन थापाले भने । महिला तथा फोहोर व्यवस्थापनमा संलग्न मजदूरलाई सशक्त बनाउँदै फोहोरलाई अवसरमा बदल्दै आएको उनले बताए । बुढानीलकण्ठ नगरपालिकाका प्रवक्ता नवराज भट्टराईले परियोजनाले ‘सर्कुलर इकोनोमी’को अवधारणा अघि बढाउँदै फोहोरमुक्त बुढानीलकण्ठ निर्माणमा महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरे । सर्कुलर इकोनोमी यस्तो आर्थिक प्रणाली हो, जसले स्रोतको अधिकतम उपयोग, फोहोर न्यूनीकरण, पुनप्र्रयोग र पुन: उत्पादनलाई प्राथमिकता दिन्छ ।
‘वेल विइङ आउट अफ वेस्ट’ परियोजना आर्थिक सशक्तीकरणमा केन्द्रित रहेको बताइएको छ । ८० प्रतिशत महिला (३५ महिला) संलग्न रहेको यस परियोजनाले महिलालाई फोहोर व्यवस्थापन क्षेत्रमा स्थान दिने कार्य गरिरहेको बताइएको छ । साथै ५० जना अनौपचारिक फोहोर संकलनकर्ता (खालीसीसी फ्रेन्ड्स)लाई गल्ली म्याप्स न्याभिगेसन, डिजिटल साक्षरता, बैंकिङ र सामाजिक सञ्जालको प्रयोगबारे तालीम प्रदान गरिएको छ, जसले उनीहरूको आर्थिक आत्मनिर्भरता तथा जीवनस्तर उकास्ने अवसर प्रदान गरेको अपेक्षा गरिएको छ ।
कोका–कोला बेभरेजेज नेपालका पब्लिक अफेयर्स, कम्युनिकेसन एन्ड सस्टेनेबिलिटी डाइरेक्टर स्नेह राजभण्डारीले परियोजना दिगो व्यापार अभ्यासमार्फत सकारात्मक परिवर्तन ल्याउने लक्ष्यमा रहेको बताए । ‘परियोजना फोहोर व्यवस्थापन सुधार गर्ने र समुदायलाई सशक्त बनाउने हाम्रो साझा प्रतिबद्धताको प्रमाण पनि हो,’ उनले भने ।