काठमाडौं । देशको इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेडको सञ्चालन आम्दानी बर्सेनि बढिरहेको छ ।
क्रेडिट रेटिङ एजेन्सी केयर रेटिङ नेपालको प्रतिवेदनमा उल्लेख तथ्यांकअनुसार कम्पनीको उक्त आम्दानी आर्थिक वर्ष २०७८/७९ यता बढिरहेको छ । उक्त प्रतिवेदनमा आर्थिक वर्ष २०७८/७९ वर्षयताको मात्रै तथ्यांक छ ।
आर्थिक वर्ष २०७८/७९ मा ९ अर्ब ३९ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको कम्पनीले आर्थिक वर्ष २०७९/८० मा १० अर्ब ३३ करोड रुपैयाँ कमाएको थियो । आर्थिक वर्ष २०८०/८१ मा भने कम्पनीको सञ्चालन आय ११ अर्ब १२ करोड रुपैयाँ पुगेको छ ।
आर्थिक वर्ष २०७८/७९ को तुलनामा आर्थिक वर्ष २०८०/८१ मा कम्पनीको आम्दानी करीब पौने दुई अर्ब बढेको छ ।
प्रतिप्रयोगकर्ता औसत आम्दानी भने घट्दो
कम्पनीको सञ्चालन आम्दानी बढे पनि प्रति प्रयोगकर्ता औसत आम्दानी भने घट्दो क्रममा देखिन्छ ।
आर्थिक वर्ष ०७९/८० मा ९८७ रुपैयाँ रहेको उक्त आम्दानी आर्थिक वर्ष ०८०/८१ मा घटेर ९२७ रुपैयाँमा झरेको छ । चालू आर्थिक वर्ष ०८१/८२ को सात महीनामा यो थप घटेर ८६१ रुपैयाँमा सीमित भएको छ ।
प्रतिस्पर्धी कम्पनीले ल्याएका इन्टरनेट प्याकेज र छूटसम्बन्धी योजनाका कारण वर्ल्डलिंकको उक्त आम्दानी घटिरहेको बताइएको छ । प्रति प्रयोगकर्ता औसत आम्दानी घटिरहेकाले भविष्यमा नाफामा असर पर्न सक्ने सम्भावना रहेको प्रतिवेदनमा उल्लेख छ ।
तथापि, मध्यम अवधिमा उत्पादन लागतमा बचत र मापनको अर्थशास्त्रबाट केही हदसम्म सो असरलाई सन्तुलनमा ल्याउन सकिने केयर रेटिङ्सले अपेक्षा गरेको छ ।
कुल आम्दानी ७.७० प्रतिशतले वृद्धि
इन्टरनेटको मागमा भएको वृद्धिका बीच ग्राहकहरूको संख्यामा निरन्तर बढेकाले कुल आम्दानी बढेको प्रतिवेदनमा उल्लेख छ । वर्ल्डलिंकको कुल आम्दानी आर्थिक वर्ष २०८०/८१ मा वार्षिक रूपमा करीब ७.७० प्रतिशतले वृद्धि भई ११ अर्ब १२ करोड रुपैयाँ पुगेको छ ।
उक्त आर्थिक वर्षमा कुल आम्दानीमध्ये करिब ५० प्रतिशत इन्टरनेट सेवाको विक्रीबाट, करीब ४२ प्रतिशत निगरानी र प्राविधिक सेवाबाट र बाँकी करीब ८ प्रतिशत नेटवर्क सेवा, उपकरण विक्री र अन्य विक्रीबाट आर्जन भएको प्रतिवेदनमा उल्लेख छ ।
इन्टरनेट ब्यान्डविथ खर्च उक्त वर्षमा घटेको भए पनि लिज, भाडा, विद्युत्, कर्मचारीलगायत अन्य सञ्चालन खर्चहरू नेटवर्क विस्तार प्रयासका कारण बढेका छन् ।
जसका कारण आर्थिक वर्ष २०८०/८१ मा कम्पनीको ब्याज, लीज, मूल्यह्रास र कर मार्जिन अघिको नाफा ३३.४५ प्रतिशतबाट घटेर ३१.४५ प्रतिशतमा झरेको छ ।
बक्यौता र ग्रामीण दूरसञ्चार विकास कोषमा रकम भुक्तानीलगायत कारणले कम्पनी आर्थिक वर्ष २०८०/८१ मा २ अर्ब १५ करोड रुपैयाँ खुद नोक्सानीमा रहेको प्रतिवेदनमा उल्लेख छ ।
बक्यौता र ग्रामीण दूरसञ्चार विकास कोषमा रकम भुक्तानीका कारण कम्पनीको नगद सञ्चय पनि घटेको छ । आर्थिक वर्ष २०७९/८० मा २ अर्ब ५० करोड रुपैयाँ नगद सञ्चय रहेकोमा आर्थिक वर्ष २०८०/८१ मा उक्त रकम ९१ करोड ६० लाख रुपैयाँमा सीमित भएको छ ।
क्रेडिट रेटिङमा सुधार
केयर रेटिङ्स नेपालले वर्ल्डलिंकलाई ‘केयर-एनपी ए’ (दीर्घकालीन) र ‘केयर-एनपी एटुप्लस’ (अल्पकालीन) क्रेडिट रेटिङ कायम राखेको छ । कम्पनीको दीर्घकालीन र अल्पकालीन बैंक ऋण सुविधाका लागि क्रेडिट रेटिङ गरिन्छ ।
इन्टरनेट बजारमा अग्रणी स्थान, ग्राहक संख्या निरन्तर वृद्धि, विदेशी संस्थागत लगानीकर्ताहरूको सहयोग, कम्पनीको प्राविधिक उन्नति र सन्तोषजनक वित्तीय प्रदर्शन र पर्याप्त ऋण सेवा क्षमताका कारण वर्ल्डलिंकलाई उक्त रेटिङ दिइएको प्रतिवेदनमा उल्लेख छ ।
इन्टरनेटको बजार हिस्साका आधारमा वर्ल्डलिंक देशकै अग्रणी इन्टरनेट सेवाप्रदायक कम्पनी बनेको छ । प्रतिवेदनअनुसार फाइवर सेग्मेन्टमा वर्ल्डलिंकको हिस्सा सर्वाधिक करीब ३२ प्रतिशत छ ।
नेपाल दूरसञ्चार प्राधिकरणको प्रतिवेदन अनुसार २०८२ वैशाख मसान्तसम्म देशभर कुल इन्टरनेट ग्राहक संख्या ३१ लाख ३० हजार ६५५ छ । केयर रेटिङ्सको प्रतिवेदनअनुसार वर्ल्डलिंकका सक्रिय प्रयोगकर्ताको संख्या १० लाख छ । पछिल्लो समय कम्पनीका ग्राहकको संख्या निरन्तर वृद्धि भइरहेको प्रतिवेदनमा उल्लेख छ ।
कम्पनीमा ब्रिटिश इन्टरनेशनल इन्भेस्टमेन्ट (बीआईआई), डोल्मा इम्प्याक्ट फण्ड र फिनफन्डले लगानी गरेका छन् ।
वर्ल्डलिंकमा गत आर्थिक वर्षसम्ममा २९ अर्ब ८० करोड रुपैयाँ विदेशी लगानी पुगेको छ । कम्पनीमा सन् २०२३ जनवरीमा बीआईआईले १० अर्ब ८० करोड र सोही वर्षको मार्चमा डोल्मा इम्प्याक्ट फण्डले ९० करोड रुपैयाँ लगानी गरेको थियो । कम्पनीले फिनफन्डसँग गत वर्षको नोभेम्बरमा १० मिलियन युरो लगानीका लागि सम्झौता गरेको प्रतिवेदनमा उल्लेख छ ।
प्राप्त विदेशी प्रत्यक्ष लगानी कम्पनीको नेटवर्क पूर्वाधार विस्तारमा प्रयोग भइरहेको बताइएको छ ।
पछिल्लो समय कम्पनीले प्राविधिक रूपमा पनि फड्को मारेको छ । एफटीटीएच प्रविधिबाट सेवाको शुरुआत गरेको कम्पनीले आफ्नो नेटवर्कलाई अत्याधुनिक एक्सजीएस-पीओएन प्रविधिमा अद्यावधिक गरेको छ । यो प्रविधिले १ जीबीपीएसभन्दा बढी गतिको इन्टरनेट सेवा दिने क्षमता राख्छ ।
कम्पनीले हालै सार्वजनिक गरेको नोकिया वाईफाई बेकन राउटरले पनि उच्च गतिको इन्टरनेट सेवा सुनिश्चित गर्ने कम्पनीको विश्वास छ ।
हटाइयो नेगेटिभ संकेत
केयर रेटिङ्सले वर्ल्डलिंकलाई नेगेटिभ संकेतबाट हटाएको छ । वर्ल्डलिंकले बक्यौता भुक्तानी गरेकाले नेगेटिभ संकेतबाट हटाइएको प्रतिवेदनमा उल्लेख छ ।
सर्वोच्च अदालतको २०८१ वैशाख ३१ गतेको फैसला र टेलिकम नियमनमा गरिएको संशोधनपछि कम्पनीले गत कात्तिक २९ गते सबै बक्यौता भुक्तानी गरेको थियो ।
के छन् कम्पनीका चुनौती ?
केयर रेटिङ्सले वर्ल्डलिंकले विभिन्न चुनौती सामना गरिरहेको बताएको छ । बढ्दो प्रतिस्पर्धा, विदेशी मुद्रा जोखिम, नियामकीय अस्थिरतालगायत कम्पनीले सामना गरेका प्रमुख चुनौती हुन् ।
बढ्दो प्रतिस्पर्धाका कारण कम्पनीको बजार हिस्सा र औसत आम्दानीमा दबाब सिर्जना भएको केयर रेटिङ्सको प्रतिवेदनमा उल्लेख छ ।
यस्तै विदेशी मुद्रा विनिमय दरमा आएको उतारचढावले कम्पनीको वित्तीय जोखिम बढाएको छ । कम्पनीले ग्राहकको घरमा जडान गरिने सीपीई उपकरणहरू मुख्यतया चीनबाट आयात गर्छ । र, यसको भुक्तानी विदेशी मुद्रामा गरिन्छ ।
ग्राहक संख्या वृद्धिसँगै उपकरण खरीद बढेकाले विदेशी मुद्राको निकासी उच्च भएको छ । तर, विदेशी मुद्रा विनिमय दरमा उतारचढाव आउँदा कम्पनीले घाटा व्यहोरिरहेको छ । कम्पनीले आर्थिक वर्ष ०८१/८२ मा ३ करोड ४० लाख रुपैयाँ बराबरको विदेशी मुद्रा घाटा व्यहोर्नुपरेको थियो ।
अबको बाटो के ?
वर्ल्डलिंकले अब आफ्नो फाइबर नेटवर्कलाई दुर्गम क्षेत्रहरूमा विस्तार गर्ने योजना बनाइरहेको छ । यस्तो विस्तारका लागि ठूलो पूँजी खर्च आवश्यक पर्ने भएकाले कम्पनीले ऋण र इक्विटीको सन्तुलन मिलाउँदै अघि बढ्ने तयारी गरेको बताइएको छ ।
केयर रेटिङ्सका अनुसार, कम्पनीले लगानी सन्तुलन कायम राखेमा यसको दीर्घकालीन वित्तीय स्थायित्वमा उल्लेखनीय सुधार आउनेछ ।