काठमाडौं। काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा डा. अच्युत वाग्ले नियुक्त भएका छन् । यसअघि उनी उक्त विश्वविद्यालयमा रजिस्ट्रार थिए । आर्थिक अभियान दैनिकका पूर्वसम्पादकसमेत रहेका डा. वाग्लेलाई मन्त्रिपरिषद्को सोमवार बसेको बैठकले उपकुलपति नियुक्त गरेको हो । यो विश्वविद्यालयको कुलपति प्रधानमन्त्री हुन्छन् ।
यसअघि वाग्ले उक्त विश्वविद्यालयको स्कूल अफ म्यानेजमेन्टको एशोसिएट डीन र व्यवस्थापन विज्ञान विभागको प्रमुख भएका थिए । उनले भारतको इन्डियन इन्टिच्युट अफ टेक्नोलोजी, कानपुरबाट अर्थशास्त्रमा विद्यावारिधि, बेलायतको बर्मिङ्घम विश्वविद्यालयबाट एमएससी इन इकोनोमिक्स र त्रिभुवन विश्वविद्यालय नेपालबाट स्नातकोत्तर गरेका छन् । उनले विगतमा विभिन्न महत्त्वपूर्ण सार्वजनिक पदमा बसेर सेवा पनि गरेका छन् । उनी प्रधानमन्त्री र नेपाल राष्ट्र बैंकका गभर्नरको सल्लाहकार पनि भइसकेका छन् ।