चितवन । चालु आर्थिक वर्षको आठ महीनामा २० वटा गैंडा मृत भेटिएका छन् । चितवन राष्ट्रिय निकुञ्ज तथा यस आसपासका क्षेत्रमा ती गैंडा मृत भेटिएका हुन् ।
निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार चालु आर्थिक वर्षमा मृत भेटिएका गैंडाहरू प्राकृतिक कारणले मरेका हुन् । बाघ तथा गोहीको आक्रमणमा परेर, एकापसमा जुधेर, बिरामी भएर, दलदलमा फसेर र बुढो भएर मरेका हुन् ।
यस आर्थिक वर्षमा चोरी–सिकारका कारण भने गैंडा नमरेको उनले जानकारी दिए । गत आर्थिक वर्षमा २१ वटा गैंडा मरेका थिए । मरेका गैंडामध्ये १८ वटा प्राकृतिक कारणले हो भने दुईवटा चोरी–सिकारले र एउटाको कारण खुल्न नसकेको उनले बताए ।
उनका अनुसार आर्थिक वर्ष २०७९/८० मा चितवन राष्ट्रिय निकुञ्जमा २२ ओटा गैंडा मरेका थिए । जसमध्ये २० वटा कालगतिले, एउटा विद्युतीय करेन्टबाट र एउटा चोरी–सिकारीले मारेका थिए ।
प्राकृतिक कारणले धेरै गैंडा मरेपछि वन तथा वातावरण मन्त्रालयले मृत्युको कारण खोजी गर्न समिति बनाएको थियो । पछिल्ला वर्षहरूमा प्राकृतिक कारणबाट हुने गैंडाको मृत्यु दर घट्दै आएको छ । आव २०७५/७६ मा प्राकृतिक कारणले मात्र ४३ गैंडा मरेका थिए । त्यसपछिका वर्षहरूमा प्राकृतिक कारणले हुने मृत्युदर घट्दै आएको छ ।
सन् २०२१ को गणनाअनुसार नेपालमा गैंडाको संख्या ७५२ रहेको छ । एकसिङ्गे गैंडाको संख्या सबैभन्दा बढी चितवन राष्ट्रिय निकुञ्जमा ६९४ रहेको छ । बर्दियामा ३८, शुक्लाफाँटामा १८ र पर्सामा तीन गैंडा रहेको तथ्याङ्क छ । चालु आर्थिक वर्षमा गैंडा गणना कार्यक्रम रहेपनि स्थगन भएको छ । रासस