काठमाडौं । पियोर इनर्जी लिमिटेडले फागुन २० गतेदेखि निष्कासन गरेको पहिलो चरणको आईपीओ छिटो अवधि चैत ५ गतेभित्रै बिकेको छ । कम्पनीले सर्वसाधारणमा जारी हुने आईपीओमध्ये पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्कासन गरेको हो ।
कम्पनीले आफ्नो जारी पूँजी ८० करोड रुपैयाँको २ प्रतिशत अर्थात् १ करोड ६० लाख रुपैयाँ बराबरको १ लाख ६० हजार कित्ता शेयर आयोजना प्रभावित क्षेत्र बाँके जिल्लाका आयोजना प्रभावित स्थानीय बासिन्दाहरूका लागि आईपीओ जारी गरेको हो ।
त्यस्तै कम्पनीले जारी पूँजीको १८ प्रतिशत अर्थात् १४ लाख ४० हजार कित्ता साधारण शेयरको १० प्रतिशत अर्थात् १ लाख ४४ हजार कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगार गरी रहेका नेपालीहरूका लागि निष्कासन गरेको छ ।
दोस्रो चरणमा सर्वसाधारणका लागि निष्कासन गरिने कुल कित्ता शेयरमध्ये १० प्रतिशत आरक्षित शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गर्न लागिएको हो । दुवैतर्फको शेयर खरीदका लागि मागभन्दा बढी आवेदन परिसकेकाले छिटो अवधि चैत ५ गतेसम्म मात्र विक्री खुला गर्ने जानकारी कम्पनीले दिएको छ । दुवैतर्फको शेयर खरीदका लागि न्यूनतम १० कित्ता माग गर्न सकिने व्यवस्था छ । अधिकतमका लागि भने आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूले १६ हजार कित्ता र वैदेशिक रोजारीमा रहेका नेपालीहरूले ७ हजार २०० कित्ता माग गर्न सकिने व्यवस्था छ ।
कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । स्थानीय बासिन्दाले आयोजना स्थल, नबिल बैंकका कोहलपुर र नेपालगञ्ज शाखा कार्यालय, लक्ष्मी सनराइज बैंकको कोहलपुर र नेपालगञ्ज शाखा, सिद्धार्थ बैंकको खजुरा, न्युरोड नेपालगञ्ज र वि पि चोक शाखा कार्यालय तथा कुमारी बैंकको चिसापानी, खजुरा, कोहलपुर, सुर्खेत रोड नेपालगञ्ज र रिमझिम बजार शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले भने नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका कार्यालयसँगै मेरो शेयरमार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ ।