काठमाडौं । पियोर इनर्जी लिमिटेडले फागुन २० गतेदेखि निष्कासन गरेको पहिलो चरणको आईपीओ आजसम्म विक्री गरेको छ । मागभन्दा बढी आवेदन पर्न आएपछि स्थानीयमा पनि छिटो अवधिभित्र मात्र कम्पनीले आईपीओ विक्री गरेको हो ।
कम्पनीले सर्वसाधारणमा जारी हुने आईपीओमध्ये पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्कासन गरेको हो ।
कम्पनीले आफ्नो जारी पूँजी ८० करोड रुपैयाँको २ प्रतिशत अर्थात् १ करोड ६० लाख रुपैयाँ बराबरको १ लाख ६० हजार कित्ता शेयर आयोजना प्रभावित क्षेत्र बाँके जिल्लाका आयोजना प्रभावित स्थानीय बासिन्दाहरूका लागि आईपीओ जारी गरेको हो ।
त्यस्तै कम्पनीले जारी पूँजीको १८ प्रतिशत अर्थात् १४ लाख ४० हजार कित्ता साधारण शेयरको १० प्रतिशत अर्थात् १ लाख ४४ हजार कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगार गरी रहेका नेपालीहरूका लागि निष्कासन गरेको हो । दोस्रो चरणमा सर्वसाधारणका लागि निष्कासन गरिने कुल कित्ता शेयरमध्ये १० प्रतिशत आरक्षित शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरिएको हो ।
अन्तिम दिनसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि जारी गरिएको शेयर खरीदका लागि ५६ हजार ४०२ जनाले आवेदन दिएको जानकारी सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सिडिएससी)ले दिएको छ । यी आवेदकहरूबाट १२ लाख ८२ हजार ८२० कित्ता शेयर खरीद माग भएको भनाई सिडिएससीको छ ।
आयोजना प्रभावित स्थानीयबाट प्राप्त आवेदनको विवरण भने संकलन कार्य भइरहेको जानकारी विक्री प्रबन्धकले दिएको छ । कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । पहिलो चरणको आईपीओ निष्कासन तथा बाँडफाँटपछि कम्पनीले आम सर्वसाधारणमा आईपीओ निष्कासन गर्नेछ ।