काठमाडौं । चौधरी ग्रूप (सीजी) अन्तर्गतका तीनओटा कम्पनीले अग्नि बीमाबापत लिएको भुक्तानीमध्ये करीब २४ करोड रुपैयाँ बीमा कम्पनीलाई फिर्ता गर्नुपर्ने भएको बीमा प्राधिकरणले बताएको छ ।
बीमित, बीमक र सर्वेयरको मिलेमतोमा वास्तविक क्षतिभन्दा बढी मूल्यांकन गरी दाबी भुक्तानी लिएको विषय अदालतबाट समेत प्रमाणित भएसँगै कम्पनीले तोकिएकोभन्दा बढी रकम फिर्ता गर्नुपर्ने भएको हो ।
सीजीअन्तर्गतका सीजी इम्पेक्स, इओएल प्रालि र सिजी इलेक्ट्रोनिक्स प्रालिको काठमाडौंको सतुंगलस्थित गोदाममा २०६९ सालमा भएको आगलागीपछि तत्कालीन युनाइटेड इन्स्योरेन्समा कुल ५८ करोड ७ लाख रुपैयाँ दाबी परेको थियो ।
यसमा बीमा कम्पनी, बीमित र सर्वेयरको समेत मिलेमतोमा क्षतिभन्दा बढी भुक्तानी भएको भन्दै उजुरी परेपछि तत्कालीन बीमा समिति (हाल बीमा प्राधिकरण)ले अनुसन्धान गरी ३४ करोड ९६ लाख रुपैयाँमात्र भुक्तानी गर्न निर्देशन दिएको थियो ।
यस विषयमा उच्च अदालत पाटनमा परेको मुद्दामा तत्कालीन बीमा समितिको निर्देशनलाई अदालतले सदर गरेको थियो । त्यसमा असहमति जनाउँदै सीजी इम्पेक्स, इओएल प्रालि र सीजी इलेक्ट्रोनिक्स प्रालि, युनाइटेड इन्स्योरेन्स, इस्योरेन्सका कर्मचारी तथा सर्वेयरहरूले सर्वोच्च अदालतमा दायर गरेको विभिन्न ११ ओटा मुद्दामा सर्वोच्चले समिति (प्राधिकरण) को पक्षमा फैसला गरेको हो ।
सर्वोच्चका न्यायाधीश नहकुल सुवेदी र महेश शर्मा पौडेलको संयुक्त इजलाशले फागुन २० गते अन्तिम फैसला गर्दै यसअघि बीमा समिति र पाटन उच्च अदालतले गरेको फैसलालाई सदर गरेको हो । यससँगै सीजी ग्रूपअन्तर्गतका ३ कम्पनीले समितिले निर्धारण गरेभन्दा बढी भुक्तानी लिएको २३ अर्ब रुपैयाँभन्दा बढी रकम फिर्ता गर्नुपर्ने प्राधिकरणका निर्देशक शाम्भराज लामिछानेले बताए । ‘तत्कालीन बीमा समितिले गरेको निर्णयमा असहमति जनाउँदै बीमा कम्पनी, बीमित, सर्वेयर र कर्मचारीले दायर गरेको मुद्दामा सर्वोच्चले समितिको निर्णय सदर गरेको छ,’ उनले भने, ‘अब हाम्रो मूल्यांकनभन्दा बढी भुक्तानी गरेको रकम फिर्ता गर्नुपर्छ ।’
बीमालेखको भारतीय कम्पनी जीआईसी रिमा पुनर्बीमा भएको र युनाइटेड अजोड इन्स्योरेन्स (हाल युनाइटेड इन्स्योरेन्स अजोड इन्स्योरेन्ससँग मर्ज भई युनाइटेड अजोड इन्स्योरेन्स बनेको छ)ले भुक्तानी गर्दा कम्पनीबाट पुनर्बीमा भुक्तानी लिएको थियो । अब पुनर्बीमा कम्पनीले लिएको जोखिमको आधारमा बीमा कम्पनीले समेत भुक्तानी फिर्ता गर्नुपर्नेछ ।
यो मुद्दामा समितिले बढी भुक्तानी भएको रकम कम्पनीबाट ब्याजसहित फिर्ता गर्न निर्देशन दिएको विषयमा भने अदालतले साँवा मात्र फिर्ता गर्ने फैसला गरेको छ । यसैगरी तत्कालीन समयमा कम्पनीलाई अग्नि बीमालेख जारी गर्न रोक लगाइएको विषय भने अदालतले उल्ट्याएको छ ।
यसैगरी क्षतिको मूल्यांकनमा संलग्न सर्वेयर सूर्य जोशी र राजन थापालाई जनही ३/३ हजार रुपैयाँ जरीवाना गर्ने निर्णयलाई पनि सर्वोचले सदर गरिदिएको छ । बीमा कम्पनीबाट भुक्तानीमा संलग्न कर्मचारी प्रवीण कोइराला र गोपाल सराफलाई पनि ३/३ हजार जरीवाना गर्ने निर्णय सदर भएको छ । प्राधिकरणले गरेको अनुसन्धानमा कम्पनीले बीमा गर्दा राम्रोसँग अन्डरराइटिङ नगरेको, क्षतिको मूल्यांकन उचित रूपमा नभएको र व्यावसायिक स्वार्थ बाझिने गरी बीमा भएको पाइएपछि दाबी भुक्तानी रकम घटाइएको निर्देशक लामिछाने बताउँछन् ।
कम्पनीका ३ ओटा गोदाम भए पनि एउटा गोदाममा भएको आगलागीमा सबै गोदामको दाबी गरेको, मौज्दातमा रहेको सामानको उचित रूपमा गणना नभएको पाइएको थियो । युनाइटेड इन्स्योरेन्स चौधरी समूहको लगानी रहेको कम्पनी हो । अजोड इन्स्योरेन्ससँग मर्जरपश्चात् २०८० जेठदेखि युनाइटेड अजोड इन्स्योरेन्सको नाममा कम्पनीले कारोबार गरिरहेको छ ।
बीमा कम्पनीले स्वार्थ बाझिने गरी सञ्चालकका व्यवसायको बीमा गर्ने र गतल दाबी भुक्तानी गर्ने प्रवृत्ति बढेपछि प्राधिकरणले २०७५ सालमै ‘बीमकको संस्थागत सुशासन निर्देशिका’ जारी गर्दै यस्तो व्यवसायमा रोक लगाइसकेको छ ।