काठमाडौं । नेपाल प्रहरीले २५ करोड रुपैयाँभन्दा बढीको विदेशी मुद्रासहित एक जनालाई पक्राउ गरेको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–१ भई हाल काठमाडौंको गोकर्णेश्वर नगरपालिका–२ बस्ने ४३ वर्षीय फुच्चे भन्ने कुसाङ लामालाई सोमवार राति टोखा नगरपालिका–१ झोर क्षेत्रबाट अमेरिकी डलर र युरोसहित पक्राउ गरेको हो ।
उनको साथबाट बरामद गरिएको विदेशी मुद्रा २५ करोड १९ लाख २४ हजार ९५० रुपैयाँ बराबर हुन आउँछ ।
कार्यालयले जारी गरेको गरेको प्रेस विज्ञप्ति अनुसार पक्राउ परेका व्यक्तिले सुन चोरी पैठारी मुद्दामा ५ वर्षको कैद भुक्तान गरिसकेका छन् ।
ना७ख १६५२ नम्बरको ट्रकको खानतलासी गर्दा बोनटको माथिल्लो भागमा फल्सबटम बनाएर उक्त रकम लुकाइएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । उक्त ट्रकलाई समेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।