चितवन। खैरहनी नगरपालिकाले एक वडा एक कृषि सहकारी कार्यक्रम सञ्चालन गरेको छ । सो कार्यक्रमअन्तर्गत हरेक वडामा कम्तीमा एक कृषि सहकारी रहने र उक्त सहकारीमार्फत किसानलाई आवश्यक कृषि सामग्री तथा औजार प्रदान गर्ने लक्ष्य लिएको बताइएको छ ।
कार्यक्रमअन्तर्गत यस आर्थिक वर्षमा ५ ओटा वडामा एक एक ओटा सहकारीमार्फत किसानलाई ५० प्रतिशत अनुदानमा कृषि औजार वितरण गरिएको हो । सोहीअनुरूप वडा नं ६ मा रहेको साना किसान कृषि सहकारी संस्था, वडा नं १० मा रहेको नवयुग कृषि सहकारी संस्था र वडा नं १२ मा रहेको कपिया माछापालन सहकारी संस्थामार्फत ६३ जना किसानलाई अनुदानमा कृषि औजार वितरण गरिएको हो ।
खैरहनी नगरपालिकाका नगरप्रमुख शशिकुमार खनियाले किसानलाई पुस रो सिडर, स्प्रेयर ट्यांकी, डिजिटल काँटा, विडर, मिनटिलर वितरण गरिएकोे जानकारी दिए । कृषि सामग्री वितरणको क्रममा बोल्दै नगरप्रमुख खनियाले १३ वडामध्ये ५ ओटामा एक वडा एक कृषि सहकारी कार्यक्रम लागू भएको भन्दै यसबाट किसान लाभान्वित हुने विश्वास व्यक्त गरे । आगामी वर्ष सहकारीलाई ट्याक्टरसमेत वितरण गर्ने तयारी रहेको उनले बताए ।
सहकारीलाई ५० प्रतिशत अनुदानमा ट्र्याक्टर वितरण गर्दा उक्त सहकारीका सदस्य लगायत अन्य किसानले सहुलियत दरमा ट्र्याक्टर प्रयोग गर्न पाउने नगरप्रमुख खनियाले बताए । उनले अनुदानमा दिइने कृषि सामग्री वितरण गर्दा आगामी दिनमा विपन्नलाई प्राथमिकता दिने बताए ।
यसअघि नै वडा नं १ मा रहेको ग्रामीण ताजा तरकारी तथा फलफूल उत्पादन सहकारी संस्था र वडा नं ९ मा रहेको गरीबी निवारण बहुउद्देश्यीय सहकारी संस्थामार्फत १४ जना किसानलाई उनीहरूको मागअनुसारको ५० प्रतिशत अनुदानमा कृषि सामग्री वितरण गरिएको थियो ।