काठमाडौं । विदेशी विनिमय अपचलनसम्बन्धी कसूरमा राजस्व अनुसन्धान विभागले चार जनाविरुद्ध कपिलवस्तु जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।
विभागले कपिलवस्तुको शुद्धोधन गाउँपालिका वडा नम्बर ६, बिमिहा बस्ने ३५ वर्षीय राजेश कुमार बर्मा, २६ वर्षीय राकेश कुमार बर्मा र ५६ वर्षीय जंगबहादुर बर्मा (सोनार) र मायादेवी गाउँपालिका वडा नम्बर १ ईमिलिया बस्ने २८ वर्षीय हमीद मुसलमानविरुद्ध मुद्दा दायर गरेको हो ।
उनीहरूविरुद्ध ३४ लाख २४ हजार ७ रुपैयाँ बिगो दाबी गरी सजाय माग गरिएको छ । बिगो दाबी गरिएको रकम उनीहरूबाट बरामद भएको भारतीय रुपैयाँको विनिमय गर्दा हुन आउने रकम हो । उनीहरूबाट ५०० र २०० रुपैयाँ नोटका २१ लाख ३८ हजार भारतीय रुपैयाँ बरामद गरिएको थियो ।
उनीहरूले भारतबाट नेपालसम्म अवैधरूपमा भारतीय मुद्रा ओसारपसार गर्ने गरेको पाइएको विभागले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।