तानसेन । पाल्पा र गुल्मीको सङ्गमस्थल रुरु क्षेत्र धाममा पहिलो पटक शालिग्राम महोत्सव गरिएको छ । कालीगण्डकीमा पाइने शालिग्रामको प्रचारप्रसार गर्न आजदेखि रुरु क्षेत्रस्थित रिडी ऋषिकेशव मन्दिरमा दुईदिने शालिग्राम महोत्सव आयोजना गरिएको हो ।
पाल्पाको तानसेन नगरपालिका, गुल्मीको रुरु क्षेत्र गाउँपालिका, स्याङ्जाको कालीगण्डकी गाउँपालिका, रुपन्देहीको पर्यटन डिभिजन कार्यालयको आयोजना तथा ऋषिकेश मन्दिर व्यवस्थापन समितिको संयुक्त आयोजनामा महोत्सव सञ्चालन भएको छ । यसका लागि लुम्बिनी प्रदेश सरकारको १० लाख सहयोग रहेको छ ।
महोत्सवको लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले शुभारम्भ गर्दै रुरु क्षेत्र नेपालकै चारधाममध्ये एक रहेको हुँदा ऐतिहासिक, धार्मिक र सांस्कृतिक स्थलको संरक्षण, प्रवर्द्धन तथा प्रचारप्रसारलाई प्रदेश सरकारले उच्च प्राथमिकतामा राखेको बताए । उनले लुम्बिनी प्रदेशलाई तपोभूमिका रूपमा उल्लेख गर्दै यस्ता महोत्सवबाट धार्मिक पर्यटन प्रवर्द्धन भई प्रदेशको समृद्धिको आधार बन्न सक्ने विश्वास व्यक्त गरे ।
नेपालका ४ प्रमुख धार्मिक धाममध्ये एक मानिने रुरु क्षेत्रमा शालिग्राम दिवसको अवसर पारेर आयोजना गरिएको महोत्सवमा धार्मिक, सांस्कृतिक तथा पर्यटन मूलक कार्यक्रम समावेश गरिएका छन् । महोत्सवमा शालिग्रामका विषयमा प्रचारप्रसार, प्रवर्द्धन, महत्त्वलगायतका विषयमा जानकारी दिइने ऋषिकेशव मन्दिर व्यवस्थापन समितिका अध्यक्ष परशुराम भट्टराईले जानकारी दिए ।
महोत्सवमा १ हजार ८ शालिग्रामको पुजन, बिक्री वितरण, ऋषिकेशवको रथयात्रा, झाँकी र्यालीलगायत भजनकिर्तन, कालीगण्डकीमा संन्ध्याकालीन आरती गर्ने कार्यक्रम छ ।
हिन्दू धर्मशास्त्रमा शालिग्रामलाई भगवान विष्णुको शिला स्वरूपका रूपमा वर्णन गरिएकाले यसको धार्मिक महत्त्वका साथै अनौठो बनोटका कारण पनि शालिग्राम सबैको चासोको विषय बन्दै आएको छ । श्रीस्वस्थानी व्रतकथामा विष्णु भगवानले जालन्धरकी पत्नी वृन्दाको पतिव्रता धर्म नष्ट गरेर महादेवले जालन्धरको वध गरेपछि विष्णुलाई वृन्दाले दिएका ४ श्रापमध्ये एक शिला हुनुपरोस् भनकाले शालिग्राम स्वरूपमा रहनुपरेको उल्लेख छ । शालिग्रामको धार्मिक, सांस्कृतिक तथा वैज्ञानिक महत्व भएकाले यसको खोजी गर्ने बर्सेनि बढ्दै गएका पाइन्छ ।
सोह्रौँ शताब्दीका राजा मणिमुकुन्द सेनले कालीगण्डकीमा स्नान गर्दा भगवान ऋषिकेशवको मूर्ति फेला परेको र सोही मूर्तिलाई प्रतिस्थापन गरको भन्ने किंवदन्ती रहेको छ । कालीगण्डकीमा नुहाउन र ऋषिकेशव, गायत्रीमाता लगायत विभिन्न देवालयको दर्शन गर्न भक्तजन आउने गर्छन् ।