काठमाडौं । हिमालयन पावर पार्टनर लिमिटेडले चालू आर्थिक वर्ष (आव)को पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनी चालू आवको पहिलो त्रैमासमा रू. ९ करोड ४० लाख नोक्सानीमा छ । गत आवको पहिलो त्रैमासमा भने कम्पनी रू. ८७ लाख ६५ हजार नाफामा थियो ।
चालू आवमा कम्पनीको खर्चमा वृद्धि भएसँगै नोक्सानीमा गएको हो । कम्पनीको कुल खर्च गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ३९८ प्रतिशत वृद्धि भएको छ । कम्पनीको कुल खर्च गत आवमा रू. १ करोड २८ लाख रहेकोमा चालू आवमा बढेर रू. ६ करोड ३७ लाख पुगेको छ ।
कम्पनीले गत आवमा विद्युत विक्रीबापत रू. १ करोड ३४ लाख आम्दानी गरेकोमा चालू आवमा यो रकम बढेर रू. ९ करोड ९६ लाख पुगेको छ । कम्पनीको चुक्ता पूँजी रू. १ अर्ब ६ करोडभन्दा बढी छ ।
रिटेन्ड अर्निङ भने रू. ९ करोड ४९ लाख ऋणात्मक छ । कम्पनी नोक्सानीमा भएसँगै प्रतिशेयर आम्दानी ८ रुपैयाँ ८२ पैसा ऋणात्मक छ । त्यस्तै कम्पनीको प्रतिशेयर नेटवर्थ ९१ रुपैयाँ ०९ पैसा र तरलता अनुपात शून्य दशमलव ६६ प्रतिशत छ ।