काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्ष (आव)को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।
उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा २६ दशमलव ५८ प्रतिशत घटेको छ । गत आवमा कम्पनीले रू. ६ करोड ५१ लाख नाफा कमाएकोमा चालू आवमा घटेर रू. ४ करोड ७८ लाखमा सीमित भएको हो । चालू आवमा कम्पनीको इम्पेयरमेन्ट चार्ज बढेकाले र खराब कर्जा बढेकाले नाफा प्रभावित भएको हो ।
गत आवमा कम्पनीको इम्पेयरमेन्ट चार्ज रू. ७ करोड ६ लाख रहेकोमा चालू आवमा बढेर रू. १० करोड ५९ लाख पुगेको छ । त्यस्तै गत आवमा कम्पनीको निष्क्रिय कर्जा ३ दशमलव ८४ प्रतिशत रहेकोमा चालू आवमा बढेर ४ दशमलव २१ प्रतिशत पुगेको छ ।
कम्पनीको खुद ब्याज आम्दानी भने गत आवको तुलनामा चालू आवमा १० दशमलव ५० प्रतिशत वृद्धि भएको छ । गत आवमा कम्पनीले रू. २५ करोड ९१ लाख रहेकोमा चालू आवमा बढेर रू. २८ करोड ६३ लाख पुगेको हो ।
त्यस्तै कम्पनीको नाफा घटेसँगै प्रतिशेयर आम्दानी पनि घटेको छ । गत आवमा कम्पनीको प्रतिशेयर आम्दानी २३ रुपैयाँ ५८ पैसा रहेकोमा चालू आवमा घटेर १५ रुपैयाँ ४६ पैसा मा झरेको छ । दोस्रो त्रैमाससम्ममा कम्पनीको वितरणयोग्य नाफा रू. ८७ लाख ९२ हजार रहेको छ । सो अवधिमा कम्पनीको मूल्य आम्दानी अनुपात ५८ दशमलव २३ गुणा, तरलता अनुपात ३ दशलमव ६५ प्रतिशत र प्रतिशेयर नेटवर्थ १ सय ८१ रुपैयाँ ०९ पैसा छ ।
चुक्ता पूँजी रू.६१ करोड ८९ लाख रहेको कम्पनीले जगेडामा रू.५० करोड १८ लाख सञ्चिति गरेको छ ।