काठमाडौं । खुम्बु ल्होसार कप फुटबल प्रतियोगिताको उपाधि खुम्जुङ युवा क्लबले जितेको छ । काठमाडौंमा सानो गौचरणस्थित खेल मैदानमा सम्पन्न फाइनल खेलमा महेन्द्र ज्योती भूपू विद्यार्थी मञ्चलाई २–० ले पराजित गर्दै खुम्जुङ युवा क्लबले उपाधि हात पारेको हो । प्रतियोगितामा खुम्बु यम्बु शेर्पा समाजको टोलीले तेस्रो स्थान हासिल गरेको छ ।
प्रतियोगितामा बेस्ट स्ट्राइकर खुम्जुङ युवा क्लबका फुरा छिरिङ शेर्पा, बेस्ट मिडफिल्डर खुम्बु यम्बु शेर्पा समाजका मिङ्मा तामाङ, बेस्ट डिफेन्डर खुम्जुङ युवा क्लबका लाक्पा रिता शेर्पा, बेस्ट गोलकिपर खुम्जुङ युवा क्लबका फुर्वा गेल्जेन शेर्पा, बेस्ट प्लेयर महेन्द्र ज्योति भूपू विद्यार्थी मञ्चका निग्मा तेम्बा शेर्पा छन् ।
यस्तै, इमर्जिङ प्लेयर ठमिछोवा फुटबल टिमका छिरिङ रिता शेर्पा र सबैभन्दा बढी गोल गर्ने खेलाडी ठमिछोवा फुटबल टिमका केसाङ छिरिङ शेर्पा भएका छन् ।
विजेता टिमले मेडल, प्रमाण–पत्रको साथमा नगद एक लाख रुपैयाँ जितेको छ । यस्तै, उपविजेता टिमले मेडल र प्रमाण–पत्रको साथमा नगद रु ५० हजार रुपैयाँ र तेस्रो हुने टिमले रु २५ हजारको साथमा मेडल र प्रमाण–पत्र प्राप्त गरेको छ ।
प्रतियोगिता माघ २९ गतेबाट शुरु भएको थियो । ८ दिनसम्म सञ्चालन भएको प्रतियोगितामा जम्मा १६ खेल सञ्चालन भएका थिए भने प्रतियोगितामा ८ टोलीले सहभागिता जनाएका थिए ।
शेर्पा समुदायको चाड ल्होसार (नयाँ वर्ष) अवसर पारेर १३ वर्षदेखि प्रतियोगिता आयोजना हुँदै आएको हो । यम्बु ठमिस्रो किदुग काठमाडौं र उमीछछोवा युवा समूहले संयुक्त रूपमा प्रतियोगिता आयोजना गरेका हुन् ।
सोलुखुम्बुस्थित खुम्बु पासाङ ल्हामु गाउँपालिकाको विभिन्न गाउँमा जन्मिएर हाल काठमाडौंमा रहेका युवाबीच यो प्रतियोगिता हुने गर्दछ । शेर्पा युवालाई खेलकुदप्रति लगाव बढाउन, उनीहरूको प्रतिभा प्रदर्शन गर्न र समुदायलाई एकआपसमा जोड्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले बताएको छ ।