काठमाडौं । सिमेन्ट कम्पनीका शेयरमा लगानीकर्ताको आकर्षण बढ्दै गएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत चार कम्पनीमध्ये तीन ओटा कारोबार रकमको आधारमा शीर्ष स्थानमा पर्दै आएका छन् । यसले सिमेन्ट कम्पनीमा लगानीकर्ताको आकर्षण बढेको देखाउँछ ।
मंगलवारबाट कारोबारमा आएको सर्वोत्तम सिमेन्ट्सको आईपीओमा लगानीकर्ताको खरीद माग २४ लाखभन्दा बढी कित्ता मार्केट डेप्थमा देखिएको थियो । कम्पनीको शेयर मूल्य बुधवार पनि पोजेटिभ सर्किट लागेर प्रतिकित्ता रू. ६७२ दशमलव ७ पुगेको छ ।
बुधवार सर्वाधिक शेयर खरीदविक्री सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको रू. १९ करोड ५२ लाखभन्दा बढीको भएको छ । यस कम्पनीको शेयर नेप्सेमा सूचीकृत भई दोस्रो बजारमा कारोबार खुल्नेबित्तिकै उच्च विक्री चाप देखिएको थियो । कारोबार खुल्नेबित्तिकै भने कम्पनीको शेयर मूल्य निकै घटेको थियो । तर, अहिले कम्पनीमा लगानीकर्ता झुम्मिएका छन् ।
यस कम्पनी नेप्सेमा सूचीकृत भएको पहिलो कारोबार दिनमा प्रतिकित्ता रू. ३५० खुलेको भए पनि शुरुवातमै विक्री चाप बढ्दा कम्पनीको शेयर मूल्य रू. २३० सम्म झरेको थियो । त्यसपछि कम्पनीको शेयर मूल्य लगातार बढ्दो क्रममा छ ।
बुधवार शेयर सर्वाधिक खरीदविक्री हुने दोस्रोमा रहेको शिवम् सिमेन्ट्सको रू. १७ करोड ६० लाख बराबरको भएको छ । यस कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ५३९ कायम भएको छ ।
त्यस्तै घोराही सिमेन्ट्सको रू. ५ करोड ९४ लाख बराबरको शेयर कारोबार भएको छ । यस कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ५२८.१० कायम छ।
सिमेन्ट कम्पनीको शेयर मूल्य बढ्नुमा नयाँ निर्माणको सिजन शुरु हुनु, नयाँ सिमेन्ट कम्पनी बजारमा भित्रिनु र सिमेन्ट निर्यातको बाटो खुल्दै जानु मुख्य कारण रहेको जानकार बताउँछन् ।
यसो त अहिले निर्माणको सिजन शुरु भएको छ । धेरै निर्माणका काम धमाधम शुरु भइसकेका छन् । बैंकहरूले पनि अहिले ९ प्रतिशत ब्याजदरमा नै घरकर्जा ‘अफर’ गर्न थालेका छन् । यसले गर्दा निर्माण क्षेत्रलाई अझै चलायमान बनाउने आँकलन गरिएको छ ।
निर्माण क्षेत्र चलायमान हुँदा सिमेन्ट कम्पनीको व्यापार बढ्ने छ भने उनीहरूको आम्दानी पनि बढ्ने छ । यसले गर्दा अहिले आगामी त्रैमासमा सिमेन्ट कम्पनीको वित्तीय विवरणसमेत सकारात्मक प्रभाव देखिने जानकार बताउँछन् । यसले गर्दा पनि सिमेन्ट कम्पनीको शेयरमा लगानीकर्ताको आकर्षण परेको उनीहरूको भनाइ छ ।