हरेक वर्ष जेठ महीना शुरू हुनासाथ चर्चाको विषय बजेट हुने गरेको भेटिन्छ । कर्मचारीभित्र बजेटभित्रको महत्त्वपूर्ण आकर्षण भनेको उनीहरूको तलब बुद्धि हुन्छ कि हुँदैन भन्ने चासो रहेको पाइन्छ । सरकारले, आफ्नो अवस्थाअनुकूल निर्णय गरेर समय समयमा कर्मचारीको तलब वृद्धि गर्ने गरेकै पाइन्छ । एकातर्फबाट तलब वृद्धिको आलोचना हुन्छ भने अर्कोतर्फबाट समर्थन । कर्मचारीको तलब बढ्दा, उनीहरूको खर्च गर्न सक्ने क्षमतामा व्यापक रूपमा वृद्धि हुन्छ, जसले मुद्रास्फीतिमा समेत प्रत्यक्ष असर पर्ने हुन्छ । त्यसैगरी, सरकारी कर्मचारीको तलब वृद्धि हुनसाथ निजीक्षेत्रलाई समेत दबाब हुन्छ ।
राष्ट्रिय योजना आयोगका अनुसार नेपालको प्रतिव्यक्ति आय १४५६ मात्र रहेको छ । यो आफैमा एउटा न्यून अंक हो । दक्षिण एशिया वा अफ्रिकी मुलुकसँग नै तुलना गर्दा पनि हाम्रो यो तथ्यांक न्यून हो । स्पष्ट छ, हाम्रो कुल आय पर्याप्त छैन । तत्काल तलब बढ्नुको पहिलो प्रभाव भनेको कर्मचारीको जीवनस्तर वृद्धि गर्नु नै हो । अहिलेको तलब जे जति छ, त्यसले एक परिवारको दुई छाक खान, आफ्नो बच्चालाई पढाउन र सामान्य घरायसी खर्चलाई मात्र पुग्ने हुन्छ । सम्पत्ति जोड्ने त परको कुरा, महीनामा एकपटक सबै परिवारलाई बाहिर खुवाउन वा वर्षको एकपटक कतै घुमाउन नसक्ने अवस्था छ । तलबले आधारभूत आवश्यकता मात्र पूर्ति गर्न सहयोग गर्ने गरेकाले कर्मचारीको जीवनस्तर जहाँको त्यहीँ छ । सरकारी कर्मचारीहरू नै डिभी भर्नु वा विदेश पलायन हुन लालायित हुनुका पछाडि यहाँ प्रदान गरिएको तलबसुविधा नै कारण हो भनेर भन्दा फरक पर्दैन । जीवनभर आफ्नो कार्यक्षेत्रमा काम गरेर रोजीरोटीबाहेकको खर्च ननिस्किँदा कर्मचारीहरूलाई हालको तलबले असन्तुष्टि दिलाउनु स्वाभाविक पनि हो ।
अहिले एउटा प्रतिभायुक्त छात्रको पहिलो प्राथमिकता नै विदेश हुन थालेको छ । अवस्था यतिसम्म बिग्रिन थालेको छ कि यी प्रतिभायुक्त युवाहरूको प्राथमिक रोजाइ स्वदेश नभएर विदेश मात्र हुन थालेको छ ।
नेपालको बजार यस समयमा ठप्प छ । चाहे न्यूरोडतिर होस्, या काठमाडौंको अन्य क्षेत्रमा पसल खाली हुने क्रम बढ्दो छ । आधारभूत आवश्यकताबाहेकको व्यापार सुस्त अवस्थामा छ । निर्माण कार्यहरूको गति न्यून छ । यसको प्रमुख कारक भनेकै उपभोक्तासँग खर्चयोग्य रकम वा डिस्पोजेबल रकमको अभाव हुनु हो । अहिले एउटा ठूलो जमात विदेश गइरहँदा, खर्च गर्ने जमात सीमित मात्र छन् नेपालमा । कर्मचारीहरूलाई आफ्नो दैनिक आवश्यकता पूर्ति हुने तलब मात्र हुँदा उनीहरूबाट बजार अपेक्षित खर्चयोग्य रकम नहुनु स्वाभाविक पनि हो । कर्मचारीहरू तब मात्र अन्यत्र खर्च गर्छन्, जब उनीहरूको आधारभूत आवश्यकता पूर्ति हुन्छ । आफ्नो बालबच्चाको विद्यालय शुल्कलाई कम प्राथमिकतामा राखेर दुई जोर कपडा किन्ने आँट एक मातापिताले गर्न सक्दैनन् । यसर्थ तलब वृद्धि भएको खण्डमा उनीहरूसँग खर्चयोग्य रकमसमेत प्राप्त हुन्थ्यो, जसले अन्तत: नेपाली बजार चलायमान गराउँथ्यो ।
विगत केही वर्ष अगाडिको लहर हेर्ने हो भने आफ्नो अध्ययन सकेपछि सबैको रहर एउटा स्थायी जागीर हुने गथ्र्यो । तर, अहिले अवस्था फरक छ । अहिले एउटा प्रतिभायुक्त छात्रको पहिलो प्राथमिकता नै विदेश हुन थालेको छ । स्वदेशभित्रको कुनै अवसरले उनीहरूलाई आकर्षित गर्दैन । शायद त्यही भएर होला आफ्नो हुँदाखाँदाको लोभलाग्दो जागीर छोडेर उनीहरू विदेशिन रुचाउँछन् । नेपालभित्रको सरकारी जागीरमा जुन हदसम्मको रुचि, रहर र सपना हुने गथ्र्यो, त्यो घट्दो क्रममा छ । बरु समयमै विदेशियो भने त्यहाँ आफू र आफ्नो पुस्ताको भविष्य सुनिश्चित हुन्छ भन्ने भाव सृजना हुन शुरू भएकाले नेपालभित्रको रोजगारलाई आकर्षक बनाउन आवश्यक छ । नेपालभित्रकै रोजगारको अवसरहरूलाई राम्रो मान्ने हो भने यही एउटा आकर्षण सृजना गर्न आवश्यक छ ।
पहिलो प्राथमिकता यहीँ रोजगारको अवसर अनि त्यो नभए मात्र विदेशिने रहर युवा समुदायको मानसिकतामा प्रवाह गर्न भए पनि यहाँ हुने समस्त रोजगारको तलबमा व्यापक वृद्धि हुन आवश्यक देखिन्छ । जब यहाँ काम गरेर नै एउटा सोचेअनुरूपको जीवनयापन गर्न ती युवाले सम्भव देख्छन् अनि बल्ल नेपालभित्र प्रतिभायुक्त युवा समुदायको वास हुन थाल्छ । अहिले बढ्दो क्रममा रहेको युवा पलायनको समस्या पनि यही सम्बोधनले धेरै हदसम्म हल गर्न सक्छ ।
गलत नियत त्यसै उत्पत्ति हुँदैन, एउटा बाध्यताले सृजना गर्छ । जब दिनरात काम गर्दा पनि आफ्नो बच्चाको ‘भ्रमण खर्च’ विद्यालयलाई बुझाउन नसक्ने अवस्थामा एउटा कर्मचारी पुग्छ, ऊ भ्रष्टाचार गर्न बाध्य हुन्छ । राज्यको महत्त्वपूर्ण स्थानमा खुला प्रतिस्पर्धा गरेर आएपछि उसलाई पुग्ने तलब दिलाउने जिम्मेवारी राज्यको हुन्छ । उचित तलबले मात्र उक्त समस्याको हल गर्ने हुन्छ । आफ्नो रोजगारी सकेपछिको दिन के होला भनेर पनि उनीहरूले सोच्छन् । तसर्थ उनीहरूले एउटा दिगो सम्पत्ति जोड्ने सपना राख्नु अस्वाभाविक होइन । तर, नेपालमा कर्मचारी वर्गले आफ्नो तलब र भत्ताबाट काठमाडौंमा एउटा जग्गा जोड्न सक्नु भनेको औकातभन्दा बाहिरको सपना हुन पुग्छ । उनीहरूले काम गरेबापत पाउने सेवासुविधा पर्याप्त छैन । तलब वृद्धि उत्प्रेरणा प्रदान गर्ने एउटा महत्त्वपूर्ण औजार पनि हो । कर्मचारीलाई आफ्नो काममा लगनका साथ काम गर्नका लागि समेत तलब वृद्धि एक महत्त्वपूर्ण पक्ष हो ।
एक त उच्च रही आएको आयकर तिरेर आफ्नो तलब खातामा आउने हुन्छ । पुन: त्यही तलब अन्य वस्तु खरीद गर्दा कर तिर्नुपर्ने हुन्छ । कर्मचारी वर्गसँग व्यापारी वर्गजस्तो आयस्रोत लुकाउने ठाउँ हुँदैन, जसले गर्दा उच्च कर दायराभित्र सधैं पर्छन् । न्यूरोडका व्यापारीवर्गले जसरी आफ्नो बहाल सम्झौतामा मासिक बहाल रकम घटाएर देखाउँछन्, कर्मचारी वर्गसँग त्यस प्रकारको विकल्प हुँदैन । फेरि, उच्च मात्रामा तिरिएको करको सम्बोधन कतै हुँदैन । त्यसबापतको सुविधा कतै सुनिश्चित पनि हुँदैन । राज्यले सधैं हेपेको वर्गमा कर्मचारी पर्दै आएको हुन्छ । आफ्नो आयको एक तिहाई कर सरकारलाई बुझाउनुपर्ने बाध्यात्मक अवस्था सायद अरू वर्गको छैन । यसर्थ, उनीहरूलाई समान अवसर प्रदान गर्नसमेत तलब वृद्धि आवश्यक पक्ष हो ।
सधैं एउटा सानो भाग मात्र बढाएर बढाएका छौं जस्तो देखाइने तलबको प्रावधानमा उल्लेखनीय सुधार आवश्यक छ । अर्थतन्त्र कमजोर भएको वर्तमान अवस्थामा तलब वृद्धिले सोचेअनुरूप प्राथमिकता प्राप्त नगर्ला, तर विषय त्यसमा सीमित हुँदैन । कर्मचारीको सेवासुविधा प्राथमिकतामा राख्न सक्नुपर्छ । मुलुकको सबै प्रकारको भार बोक्ने यी कर्मचारी वर्ग सन्तुष्ट भएमा मात्र उनीहरूले प्रवाह गर्ने सेवासुविधामा गुणस्तर अपेक्षा गर्न सकिन्छ । घरबहाल तिर्ने रकम नभएर तनाबमा भएको कर्मचारीबाट हँसिलो अनुहार र व्यवहार अपेक्षा गर्न मिल्दैन ।
रेग्मी बैंकर हुन् ।