काठमाडौं । नेपालबाट यार्सागुम्बाको निर्यात ६९ प्रतिशतले घटेको छ । गत आर्थिक वर्ष (आव) २०८०/८१ को पहिलो ७ महीनाको तुलनामा चालू आव २०८१/८२ को सोही अवधिमा यार्सागुम्बा निर्यात ६९ प्रतिशतले घटेको पाइएको हो ।
भन्सार विभागको तथ्यांकअनुसार गत आवको माघसम्म नेपालबाट ६० करोड ६१ लाख ८५ हजार रुपैयाँ बराबरको १ हजार २४६ किलोग्राम यार्सागुम्बा निर्यात भएको थियो । चालू आवको सोही अवधिमा १८ करोड ३५ लाख ८२ हजार रुपैयाँको ४५९ किलोग्राम मात्रै यार्सा निर्यात भएको छ । मूल्यको आधारमा यस वर्षको ७ महीनाको निर्यात अघिल्लो वर्षको सोही अवधिको तुलनामा ६९ प्रतिशतले कम हो ।
विभागको तथ्यांक हेर्दा यसअघि आव २०७७/७८ देखि २०८०/८१ सम्म यार्सा निर्यात निरन्तर बढेको देखिन्छ । तर, चालू आवको शुरुआती चरणदेखि नै यसको निर्यात खस्कँदो देखिन्छ ।
पछिल्ला केही वर्षयता यार्सा उत्पादन घट्दै गएकाले निर्यात पनि घटेको हुन सक्ने झन्डै एक दशकदेखि यार्सा निर्यातमा संलग्न माथिल्लो डोल्पाका टासीघुटुर मगरले बताए । उनका अनुसार जलवायु परिवर्तनका कारण तापक्रम बढ्दै जाँदा र हिउँ पग्लने समय परिवर्तन हुँदा यसको प्राकृतिक बासस्थान प्रभावित भएको छ ।
किलोकै लाखौं रुपैयाँ पर्ने भएकाले स्थानीयबासी सबै काम छाडेर हरेक वर्ष यार्सा संकलनमा लाग्ने गरेको उनको भनाइ छ । परिवारका सबै सदस्य यही काममा सक्रिय रहँदा यसको संकलन अत्यधिक मात्रामा हुँदै गएको उनले बताए । फलस्वरुप नयाँ यार्सा उत्पादन हुने क्रम घटेको र एकपटक टिपेको ठाउँमा अर्को वर्ष नपाइने क्रम पनि बढ्दै गएको उनको भनाइ छ ।
यसबाहेक अन्तरराष्ट्रिय बजारमा यार्सागुम्बाको माग विगतको तुलनामा घटेको उनले सुनाए । चीन लगायत केही मुलुकले यार्सा आयातमा कडाइ गरेको मगरको भनाइ छ । नेपालले हङकङ, कम्बोडिया, सिंगापुर, भियतनाम, अमेरिका, चीन, मलेसिया, फ्रान्स, इटाली, जर्मनी, दक्षिण कोरिया लगायत दर्जनभन्दा बढी मुलुकमा हिमाली जडीबुटी यार्सागुम्बा निर्यात गर्दै आएको छ ।
नेपालमा पाइने ७०० भन्दा बढी औषधिजन्य जडीबुटीमा सबैभन्दा मूल्यवान यार्सागुम्बा हो । नेपालका डोल्पा, दार्चुला, जुम्ला, हुम्ला, मुगु, कालीकोट, बझाङ, बाजुरा, जाजरकोट, रुकुम, रोल्पा, बागलुङ, म्याग्दी, मुस्ताङ, मनाङ, लमजुङ, गोरखा, धादिङ, रसुवा, सिन्धुपाञ्चोक, दोलखा, रामेछाप, सोलुखुम्बु, संखुवासभा र ताप्लेजुङ गरी २५ जिल्लाका उच्च क्षेत्रमा यार्सागुम्बा उत्पादन हुने गरेको छ ।
यार्सागुम्बा एक परजीवी ढुसी हो, जुन कीराको जीवनचक्रमा निर्भर रहन्छ । कीराको संख्या घट्नु वा ढुसीको जैविक प्रक्रियामा आएको परिवर्तनले पनि उत्पादनमा कमी ल्याएको हुन सक्ने विभिन्न अध्ययनहरूले देखाएका छन् ।