काठमाडौं । केन्द्रिय बैंकले पछिल्लो ७ महिनाको देशको वर्तमान तथा वित्तीय स्थितिको प्रतिवेदन सार्वजनिक गरेको छ । उक्त प्रतिवेदन अनुसार रेमिट्यान्स प्रवाह बढेको छ भने शोधनान्तर स्थिति रु.२८४ अर्ब ४१ करोडले बचतमा रहेको छ ।
वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ४.१६ प्रतिशत रहेको छ भने आयात १०.१ प्रतिशतले र निर्यात ४६.५ प्रतिशतले बढेको छ । कुल विदेशी विनिमय सञ्चिति अमेरिकी डलरमा १७ अर्ब ५ करोड पुगेको छ ।
त्यस्तै, नेपाल सरकारको खर्च रु. ७५४ अर्ब ८५ करोड र राजस्व परिचालन रु.६४२ अर्ब ८५ करोड रहेको छ । विस्तृत मुद्राप्रदाय ४.४ प्रतिशतले बढेको छ भने वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १०.१ प्रतिशतले बढेको छ ।
बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ३.८ प्रतिशतले र निजी क्षेत्रमा प्रवाहित कर्जा ५.६ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर ९.७ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ७३ प्रतिशत रहेको छ ।