कुनै पनि देश त्यतिबेला धनी र सम्पन्नशाली भएको मानिन्छ जब त्यसदेशका मानिसलाई पौष्टिक आहार , उचित आवास, शिक्षा, स्वास्थ्य र अन्य नागरिक सुविधाहरू प्राप्त गर्नुका साथै नागरिक प्रशन्न रहेका हुन्छन् । वर्तमान सरकारले निम्नवर्गीय जनतालाई र कामदार वर्गलाई खुशी दिने प्रयास गरी रहेको छ । न्यूनतम तलब तोक्ने र बैंकबाट भुक्तानी गर्नुपर्ने आदि नियम पसिना बगाउने व्यक्ति भोकै बस्न नपरोस् भनेर नै हो । श्रमशोषण गरेर थोरै तलबमा काम लगाई रहेको निजीक्षेत्रमा त छटपटी भएको होला तर काम गरेका, पसिना बगाएका कर्मचारीहरू, ज्यालादारी कामदारहरू, निजी विद्यालयका शिक्षकहरूलाई यस्तो नियमले ठूलो राहत पुगेको देखिन्छ । मालिकले कमाओस् र काम गर्ने पनि भोकै नमरोस् भन्ने सरकारको चाहाना देखिन्छ ।
पश्चिमा देशहरूले कामदारको विद्रोह र हडताल आदि रोक्न धेरै पहिलादेखि नै नाफाको अनुपातमा कर्मचारीलाई सन्तुष्ट पार्ने रणनीति लिएका हुन् । हरेक ज्ञानको काउन्टर उपलब्धि लिनसक्नु क्षमता विकासको ठूलो आधार हो । पश्चिमा देशहरूले माक्र्सलाई राजनीतिक रूपमा आलोचना गरे पनि श्रमसम्बन्धमा उनका सम्पूर्ण विचार अक्षरशः पालन गरकोले २१औं शताब्दीका सबैभन्दा सफल कम्पनीहरू अमेरिका र यूरोपमा रहेका छन् । अहिले भने ग्लोबल इन्डेक्सले मापन गर्ने विश्वका ५ सय ठूला कम्पनीमध्ये सबैभन्दा बढी चीनमा छन् । अर्थात् चीनमा यो सूचीका १२९ र अमेरिकाका १२१ कम्पनी सूचीकृत भएका छन् । संख्यात्मक रूपमा चीन माथि भए पनि आम्दानीको हिसाबले अमेरिकी कम्पनी बढी छन् । यसको अर्थ के भने कम्पनी सफल बनाउन धेरै चिज चाहिन्छ तर ग्राहकलाई सन्तुष्टि दिन सक्नुपर्छ । यो सबै तब सम्भव हुन्छ जब त्यहाँ काम गर्ने कामदारहरू सन्तुष्ट हुन्छन् । सामाजिक सुरक्षाकोषबाट पेन्सन दिने, न्यूनतम तलब बैंकबाट दिने र प्यान नम्बर अनिवार्य गर्ने काम यही कामदारलाई भोकै मर्न नपरोस् भनी चालिएका पाइला हुन् ।
विश्वको विकासको मूल आधार व्यवसाय नै हो । अमेरिका, चीन, जापान, जर्मनी र बेलायत विश्वका सबैभन्दा ठूला अर्थतन्त्र हुन् । अब यो सूचीमा भारतमा पनि संलग्न हुन प्रयास गर्दै छ । यी देश विकसित हुनुको पछाडि अन्तरराष्ट्रिय व्यापार नै । अन्तरराष्ट्रिय व्यापारमा चीनको सरकारद्वारा सञ्चालित केही उद्योग बाहेक अन्य सबै निजी क्षेत्रले सञ्चलन गरेका उद्योगहरू रहेका छन् । विश्वप्रसिद्ध फरच्युन पत्रिकाले विश्वभरका १ हजार ठूला कम्पनीको बारेमा लगभग १५ हजार कर्मचारी, वित्तविश्लेषक, सीईओ, बजार विश्लेषक आदिसँग सोधेर जम्मा १० ओटा समृद्ध कम्पनीको नाम सार्वजनिक गरेको छ । ती हुन् : एप्पल, एमाजोन, वर्कसायरहाथवे, वाल्ट डिज्नी, स्टारबक्स, माइक्रोसफ्ट, अल्फाबेट, नेट फ्लिक्स, जेपीमर्गन चेज, फेडएक्स ।
सन् २०१८ मा सबैभन्दा बढी नाफा कमाउने कम्पनी वालमार्ट हो र पनि समृद्धि मापनमा उत्कृष्ट दशको यसको नाम छैन । यसको अर्थ नाफा कमाएकोलाई मात्र समृद्ध मानिँदैन रहेछ । कम्पनीको समृद्धि मापन गर्ने उक्त पत्रिकाले नौओटा आधार तोकेको छ जुन आधारहरू भोलिका दिनमा विश्वभरका उद्यमीहरूका लागि मार्गदर्शक हुन सक्छ । फरच्युनले विकास गरेका कम्पनी मापन गर्न तोकेका ९ आधारहरू निम्न बमोजिम छन् :
नवप्रवर्तन क्षमता
व्यवसायहरूलाई समृद्ध बनाउनमा नवप्रर्वतन क्षमता ज्यादै महत्त्वपूर्ण मानिन्छ । कुनै वस्तु तथा सेवा पूर्ण रूपमा नयाँ बनाउनुलाई आविष्कार भनिन्छ । तर, प्रचलनमा रहेको वस्तुमा थोरै परिवर्तन गरेर पहिलाभन्दा थप उपयोगी बनाउने र वस्तु जीवनचक्र लम्ब्याउन सक्नुलाई नवप्रवर्तन भनिन्छ । नवप्रर्वतन गर्ने सातओटा विधि हुन्छन् त्यसको आधारमा वस्तुलाई पहिलाभन्न्दा थप उपयोगी र थप आकर्षक बनाउन सक्ने कम्पनीका ग्राहक जहिले पनि सन्तुष्ट हुन्छन् । २०१८ मा उत्कृष्ट बनेका १० ओटै कम्पनीले नवप्रर्वतनको काम गरेका छन् । एप्पल र एमाजोन त्यसमा अग्रणी मानिन्छन् ।
व्यक्ति व्यवस्थापन
कम्पनी सम्पन्न बन्नुछ भने सही व्यक्ति सही कामको सर्वमान्य नीति अवलम्बन गर्नुपर्छ । उद्यमशीलतामा सफल सीईओ र अन्य विभागीय प्रमुखहरूको छनोट ज्यादै महŒवपूर्ण छ । सबै कर्मचारीको राम्रोसँग व्यवस्थापन गर्नु पर्छ तर सीईओ जस्ता इन्ट्राप्रेनियर व्यवस्थापन त अति मापनीय विषय बन्छ । यसले पनि कम्पनीहरूलाई सम्पन्न बनाउँछ ।
कर्पोरेट सम्पत्तिको उपयोग
व्यवसायको सम्पूर्ण चलअचल सम्पत्ति परिचालन गर्न सक्ने र त्यसबाट काम लिन सक्ने क्षमतालाई पूँजी परिचालन भनिन्छ ।
सामजिक उत्तरदायित्व
व्यावसायिक नैतिकता र सामाजिक उत्तरदायित्व अहिले ज्यादै नै महत्त्वपूर्ण आवश्यक तत्त्व बन्दै गएको छ । कम्पनीले लगानीकर्ता, ग्राहक, कर्मचारी, समुदाय र राष्ट्रप्रति अति नै संवेदनशील भएर सामाजिक उत्तरदायित्व वहन गर्नुपर्छ । आम व्यक्तिको नजरमा यो सबैभन्दा महत्त्वपूर्ण समृद्धि मापक विषय हो ।
गुणस्तर व्यस्थापन
कम्पनी समृद्ध हुनुकोे महत्त्वपूर्ण आधार वस्तुको अविचलित गुणस्तर हो । गुणस्तरका लागि समग्र व्यवस्थापन गुणस्तरका ४ आधार र डेमिङ गुणस्तर सुधारका १४ विधि यी कम्पनीले पूर्णरूपमा परिपालन गरेका हुन्छन् ।
वित्तीय अवस्था
कम्पनीको सफलतामा धेरै पूँजीभन्दा पूँजीको वित्तीयकरण मेकानिज्म अति नै महत्त्वपूर्ण हुन्छ । वित्त कसरी परिचालन गर्ने ? त्यसले नै व्यवशायको सफलता मापन गर्ने हुँदा यो समृद्धि मापनमा यसको खोजी गरिएको थियो ।
दीर्घकालीन लगानीको अवस्था
सफल सीईओ त्यो हो जसले आधा नाफा लगानीकर्तालाई लाभांश देओस्, आधा रिटर्न अर्निङका रूपमा राखेर कम्पनीलाई पछिसम्म लगानी गरी कुनै पनि चुनौती सामना गर्न सक्ने बनाओस् । यो आधार पनि मापन गरेको थियो एक्सपर्ट टीमले ।
उत्पादन र सेवाको गुणस्तर
यसका लागि बेन्चमर्किङ मात्र होइन, रणनीतिक रूपमा अग्रमोर्चामा रहेर गुणस्तर सुधारको प्रयास गर्नुपर्छ ।
विश्वव्यापी प्रतिस्पर्धा : विश्वकै अग्रणी कम्पनीहरूको व्यवस्थापन आफ्नो देशसँग मात्र प्रतिस्पर्धा गरिरहेको हुँदैन यसले विश्वव्यापी रूपमा अन्य देशका उत्पादनको तुलनामा पनि राम्रो सफलता पाएको हुनुपर्छ ।
यी नौ आधारमा राम्रो र उत्तम ठहरिएकाले माथि उल्लिखित १० कम्पनी यस वर्ष राम्रा कम्पनीको सूचीमा सूचीकृत भएका छन् । नेपालको निजीक्षेत्रले आगामी दिन विश्वव्यापी प्रतिस्पर्धा गर्ने हो भने यी आधारलाई सर्वोपरि राखेर नयाँ उद्योग खोल्ने बारेमा सोच्न आवश्यक छ ।
सरकारले ल्याएको श्रमिक कल्याणकारी योजनालाई बोझ नसम्झेर सम्पत्तिकै रूपमा अनुपालनले मात्र निजीक्षेत्र मात्र भोलिका विश्वस्तरमा प्रतिस्पर्धी बन्नेछ ।
लेखक कैलाशकुट बहुमुखी क्याम्पस चाबहिलमा व्यवस्थापन विषयका अध्यापक हुन् ।