कञ्चनपुरमा । जिल्लाको दोधाराचाँदनी नगरपालिकामा महिलाको ज्यान लिने बाघलाई नियन्त्रणमा लिइएको छ ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र बर्दिया राष्ट्रिय निकुञ्जको प्राविधिक टोलीले शुक्रवार (आज) बिहान दोधाराचाँदनी नगरपालिका–२ स्थित उखुबारीबाट बाघलाई नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक (एसपी) चक्रराज जोशीले प्राविधिक टोलीले हात्तीसहितको डार्ट राखेर बाघलाई नियन्त्रणमा लिइएको जानकारी दिए । बिहीवार बिहान त्यही उखुबारीमा घाँस काट्ने क्रममा बाघको आक्रमणबाट दोधाराचाँदनी नगरपालिका–२ की २३ वर्षीया हीरा शाहको घटनास्थलमै मृत्यु भएको थियो ।
घटनालगत्तै बाघको खोजीका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट हात्तीसहितको प्राविधिक टोली खटिएको थियो । त्यसपछि बर्दिया राष्ट्रिय निकुञ्जको टोली पनि बाघ खोज्न त्यहाँ पुगेको थियो । दुवै टोलीले एक दिनपछि मात्रै बाघलाई नियन्त्रणमा लिन सकेको हो ।
बाघलाई अहिले शुक्लाफाँटा वन्यजन्तु आरक्ष कार्यालयमा राखिएको छ । बाघलाई कहाँ पठाउने भन्ने विषयमा सल्लाह भइरहेको उनले जानकारी दिए ।