मानिस प्रकृति वा पर्यावरणबाट टाढा हुनु आफैमा जोखिम हो । पछिल्लो समय मानिसको जीवनशैली प्रकृति र पर्यावरणमैत्री बन्न सकेन । प्रकृति र पर्यावरणविनाको मानिसमा परिष्कृत जीवन सम्भव थिएन । यस अर्थमा आजको मानिसभित्र प्राकृतिक मानवतत्त्व अभाव हुन थालेको छ । किनकि मानिसका प्रत्येक बाच्ने शैलीले कृत्रिम श्वास, कृत्रिम खाना, कृत्रिम प्रकाश, कृत्रिम जल र कृत्रिम आकाशको सहारा खोजिरहेको छ ।
जहाँ जुन जैविक वस्तुको उत्पत्ति हुन्छ, त्यसको खपत वा विसर्जन पनि त्यही पर्यावरणमा हुनु आवश्यक छ । तर, आजको दिनमा विश्व एउटै गाउँ पुकारिँदै कथित ग्लोबलाइजेशनको अवधारणाले यो सन्तुलनलाई खलबल्याएको छ ।
एक अर्थमा प्रकृतिको संहारसँगै हाम्रा पञ्चतत्त्व नष्ट भइसकेका छन् भने हामी तिनका कृत्रिम अवयव र तत्त्वहरूको खोजीमा भौंतारिएका छौं । शहरमा झन् विकराल रूपमा यो अवस्था बढ्दो छ । न हावा स्वच्छ छ र न पानी प्राकृतिक गुणयुक्त छ । केमिकल राखेर शुद्ध पारिएको पानी वा प्याकेटमा उपलब्ध हुने खानाले हाम्रो प्राकृतिक प्रक्रियाको जीवनलाई निर्मूल गरिरहेको छ । शहरहरूमा मानिसहरू परिष्कृत जीवनबाट टाढिएर कृत्रिम जीवन बाँच्न बाध्य देखिन्छन् ।
मानिसको ज्यादतीले प्रकृति विनाश भइरहेको छ । पृथ्वीको प्राकृतिक सन्तुलन बिगारेको छ । मानिस आफूमात्र पृथ्वीको हकदारझैं देखिँदै गएको छ, जसले विविधतायुक्त पर्यावरणीय चक्रलाई खलबल्याइदिएको छ । अर्थात् मानिसले पृथ्वीमाथि सबै जीवजन्तु र वनस्पतिको साझा हक खोसेको छ । थोमस माल्थसले भने जस्तै जैविक वा अजैविक प्रक्रियामार्फत पृथ्वीले आफ्नो भार आफै सन्तुलनमा ल्याउने परिस्थिति आउने तर्क एक अर्थमा स्वाभाविक पनि लाग्दै छ ।
कोरोनाको महामारीबाट सिक्ने सबैभन्दा ठूलो पाठ नै मानवले अब प्रकृतिमाथिको ज्यादती बन्द गर्नु हो । कोरोनाको शुरू कुनै अमुक जीवजन्तु हुन् वा होइनन् भन्ने विषय पुष्टि हुनु आवश्यक छैन । तर, भाइरस वा परावैज्ञानिक विकिरणहरू मानिसले प्राकृतिक सन्तुलन बिगारेपछि फैलिने हो भन्ने तथ्य पुष्टि गरिरहनु पर्दैन । जनसंख्याको चापसँगै पृथ्वीमा उपलब्ध स्रोतहरूको समुचित उपयोग गर्नु आवश्यक छ भन्ने तथ्यबोध हुनु कोरोनाको महामारीको सबैभन्दा ठूलो शिक्षा हो ।
नेपालका कैयन् वैदिक तथा शास्त्रीय मान्यतालाई हामीले तिलाञ्जली दिएका छौं । तर, ती आज जीवन्त सत्य र विज्ञानसम्मत पुष्टि हुन थालेका छन् । नमस्कारको अभ्यास, पलपल पानी चलाइराख्ने बानी वा खानपानको शैली सबैको औचित्य पुष्टि गर्न सकिने समय आएको छ । हाम्रा सबै नित्यकर्म पानीसँग जोडिएका छन्, किनकि टिस्यु पेपर वा ह्यान्ड रब हामीले सिकेको संस्कृति थिएन । हाम्रा नित्यकर्म हजारौं वर्षदेखि हाम्रो पर्यावरणीय सन्तुलनमा घुलमिल गरिरहेका थिए । पर्यावरणमैत्री हुँदै आएका वैदिक संस्कृति र परम्परासमेत आज निर्मूल हुन खोजेको छ । हामी पर्यावरणबाट विमुख हुनु पनि यस अर्थमा आफ्नो मौलिक परम्परालाई विस्थापित गर्नु हो ।
पछिल्लो चरणमा मानिस चरम आत्मपरक बन्दै गएको थियो । आफ्नो मन वा आत्माबाहेक बाहिरका सबै साध्य वा साधन उसका लागि अनावश्यक भइसकेको थियो । मानिस परिवार, समाज र आफूबाट धेरै टाढा थियो । तर, संक्रमणपछिको चरणमा परिवार, समाज र आफन्त चाहिन्छ भन्ने तथ्यको बोध सबैतिर चुलिएको छ । अर्थात् सामाजिक संरचना जसरी बिथोलिएको थियो, त्यसकोे जहाँको तहीँ पुनरुत्थान आवश्यक देखिएको छ । भर्चुअल संसारको उपयोग चरम सीमामा छ, जुन हाम्रा लागि आवश्यक थिएन ।
हुनेखानेले घरभरि आवश्यकभन्दा बढी वस्तु थुपार्ने र नहुने भोकै बस्नुपर्ने बाध्यताका दुईथरीका मानिसको कित्ताकाट भएको छ । शहरी सभ्यता झन् मानवताविहीन छ । उनीहरू आफ्नो घरअगाडि फुटेको ढल बनाइदिन १ महीना सरकारी कार्यालय धाउन पछि पर्दैनन् । तर, आफ्नो घरको ढलनिकास आफै बन्द गर्न तयार हुँदैनन् । यो किसिमको नैतिकताशून्य सभ्यता आफैमा असभ्यपनको पराकाष्ठा हो ।
त्यससँगै मानवीय संवेदनाका गुणहरू भर्चुअल संसारको आडमा हराउँदै गएका छन् । दुर्घटनापश्चात् शीघ्र उद्धारको काम बेगर भिडियो खिच्ने होडबाजी यसैको दृष्टान्त हो । तसर्थ संक्रमणबाट संसारले सिक्नुपर्ने अर्को तथ्य भनेको सहयोग र सहकार्यको भावना वृद्धि गर्नु हो । मानव–मानव बीचको प्रेम र सद्भावले मात्र मानिसको उन्नयन हुने कुरा कसैले नकार्न सक्दैन ।
पछिल्लो समय मानिस–मानिस भित्र पनि विभेद उत्कर्षमा छ । झन् पूँजीको उपयोगले वर्गीय संरचनामा व्यापक प्रभाव परेको छ । रंगभेददेखि जातिभेद धनी वा गरीबका रूपमा रूपान्तरण भएको छ । वर्गीय दृष्टिकोणले विभेद शुरू हुन खोजेको छ । छोइछिटो धनी वा गरीबका बीचमा शुरू भएको छ । तर, मानिसको सबैको रगत रातो हुन्छ भन्ने तथ्य बिर्सेको प्रतीत हुन्छ ।
धनी वा गरीबको विभेद मानिसका बीच मात्र सीमित छैन । देश, भूगोल र क्षेत्र हुँदै यसले समेत बहुरूपीय आकार ग्रहण गरेको छ । अमेरिकी र यूरोपेलीहरू धनी वा अफ्रिका तथा अन्य पिछडिएको मुलुकहरू गरीब भन्ने मानसिकता स्थापित हुनु आफैमा एक विभेद हो । वर्ल्ड बैंक, आईएमएफ वा यूएनले वर्गीकरण गरेको तिनै विभेदकारी प्रतिवेदनलाई नै सबैले आधार लिने गरेको पाइन्छ । तर, कोरोनाले गरीब वा धनी भनेको पाइएन । नेता वा सर्वसाधारण पनि छुट्टिएन । मान्छे सबै एकैनासको हो भन्ने कुराको सत्य कोरोनाले सिकाएको छ ।
मानिसले बिर्सन नहुने अर्को सत्य ग्लोबलाइजेशन बजारको विकाउ नारा हो । तर, हाम्रो प्रयोगको वस्तु वा सेवा हाम्रो पर्यावरणमैत्री हुन आवश्यक छ । ग्लोबलाइजेशनको उपहार प्लास्टिक हाम्रा लागि आवश्यक छैन र हामी सालको पातको टपरी प्रयोग गर्छौं भन्ने संकल्प खोजिएको हो ।
पछिल्लो समय संसारको प्रारूप नै अति नै खलबलिएको थियो । हिमाली क्षेत्रमा पाइने खाद्यान्न वा जडीबुटीको संरक्षणका लागि त्यहीँको हावा र पर्यावरण आवश्यक हुन्छ । अर्थात् हामी सबैले बुझेको कुरा समुद्रकिनारमा यार्सागुम्बा फलाउन खोज्नु मूर्खता हो । जहाँ जुन जैविक वस्तुको उत्पत्ति हुन्छ, त्यसको खपत वा विसर्जन पनि त्यही पर्यावरणमा हुनु आवश्यक छ । तर, आजको दिनमा विश्व एउटै गाउँ पुकारिँदै कथित ग्लोबलाइजेशनको अवधारणाले यो सन्तुलनलाई खलबल्याएको छ । दक्षिण अमेरिकीहरूको केएफसी पिजाको मूल्यले नेपालको मौलिकता नाश गरिरहेको तथ्य बुझ्न नसकिएको ग्लोबलाइजेशन हो । अमेरिकी वस्तु कोक वा पेप्सीको बजार ग्लोबलाइजेशन नभई अमेरिकनाइजेशन मात्र रहेछ भन्ने तथ्य भुल्नु हुँदैन ।
उल्लिखित सबै समस्याको निरोध स्वतन्त्र आवागमन, आयात तथा निर्यातमाथिको प्रतिबन्ध होइन । अहिले कोरोनाको सक्रमणसँगै विश्वभर यात्रा वा घरबाहिर निस्कन निषेधाज्ञा जारी छ । के बढ्दो निषेधाज्ञा भूमण्डलीकरणलाई निरुत्साहित पार्ने त होइन ? यहाँ बुझ्नुपर्ने कुरा के हो भने स्वतन्त्र आवागमन वा प्रत्यक्ष सम्पर्क कोरोनाको संक्रमण धेरै फैलनुको एक कारण मात्र हो । यसको उद्गमको कारण भने पर्यावरणीय र जैविक पदार्थमाथि मानिसको हस्तक्षेपकारी ज्यादती नै हो भन्दा अत्युक्ति नहोला ।
तसर्थ मानिसले बिर्सन नहुने अर्को सत्य ग्लोबलाइजेशन बजारको बिकाउ नारा हो । तर, हाम्रो प्रयोगको वस्तु वा सेवा हाम्रो पर्यावरणमैत्री हुन आवश्यक छ । ग्लोबलाइजेशनको उपहार प्लास्टिक हाम्रा लागि आवश्यक छैन र हामी सालको पातको टपरी प्रयोग गर्छौं भन्ने संकल्प खोजिएको हो ।
ठूलो प्रकोपले दिएको चेतना मूल्यवान् हुन्छ र यस्तो चेतनाले अवसरहरूको सही धारमा हिँड्न प्रेरित गर्छ । प्रकोप पछिको समय संवेदनशील हुन्छ र प्रभावकारी पुनरुत्थान ठूलो विपत्ति र धक्कापछिको चेतनाले सम्भव हुने देखिन्छ । विपत्तिलाई अनुभवका रूपमा उपयोग गर्दै प्राकृतिक रूपले उपलब्ध स्रोतहरूको समुचित उपयोग गर्नु अब आवश्यक हुन्छ ।
कोरोना प्रकोपले विश्वको सामाजिक, आर्थिक र भौगोलिक विविधतासँगै मानव जीवनको मूल्यमान्यतालाई पृथक् ढंगले सोच्न बाध्य बनाएको छ । यस प्रकोपसँगै अब जीवनको नयाँ मूल्यमान्यतासहित पर्यावरणीय सन्तुलनका बारेमा बहस चल्नु आवश्यक छ । आज मानिस र मानवनिर्मित संरचनाहरूको प्रतिस्पर्धामा समग्र पृथ्वीको प्राकृतिक संरचना नै विपद्का लागि हौसिएको प्रतीत हुन्छ ।
लेखक आर्थिक विकास तथा अनुसन्धान परिषद्का निर्देशक हुन् ।