भनिन्छ, ठूलो प्रकोपले दिएको चेतना मूल्यवान् हुन्छ र यस्तो चेतनाले अवसरहरूको सही धारमा हिँड्न प्रेरित गर्छ । प्रकोपपछि पुनरुत्थान धेरै हदसम्म त्यसको व्यवस्थापनमा निर्भर रहन्छ । प्रकोपपछिको समय संवेदनशील हुन्छ र पुनरुत्थानको प्रभावकारी व्यवस्थापनको कौशलले मात्र गुणात्मक प्रतिफल प्राप्त हुन्छ । विश्वका विकसित मुलुकहरूको आर्थिक समृद्धि पनि कुनै न कुनै ठूलो विपत्ति र धक्कापछिको चेतनाले मात्र सम्भव भएको देखिन्छ । सत्रौं शताब्दीमा अमेरिका र अठारौं शताब्दीमा यूरोपले पनि ठूला महाविनाश तथा प्रकोपहरू भोगेको र त्यसले उनीहरूको चेतनास्तरलाई उन्नत बनाएको अनुभव गर्न सकिन्छ । यूरोपमा पुनर्निर्माण र पुनर्जागरणको शुरुआत नै ठूला युद्ध, प्रकोप र महामारीको पृष्ठभूमिमा भएको थियो । चीनको इतिहास त झनै प्राकृतिक प्रकोप, महामारी र जनसंहारले भरिएको छ । जापानको हालको समृद्धि विश्वयुद्धको झड्काले दिलाएको चेतनाबाट सम्भव भएको मानिन्छ । यसर्थ विपत्तिलाई अनुभवका रूपमा उपयोग गर्दै पुनरुत्थानको व्यवस्थापकीय कुशलताले गुणात्मक प्रतिफलको आधार तय हुन्छ भन्ने कुरा पुष्टि हुन्छ ।
उत्पादनमा विशेष जोड, मौद्रिक असन्तुलनको व्यवस्थापन र अतिरिक्त रोजगारको सृजना अविकसित मुलुकहरूले विश्वव्यापी संकटको समयमा कुशलताका साथ व्यवस्थापन गर्नुपर्ने विषय हुन् ।
उपलब्ध प्राकृतिक स्रोतहरूको समुचित उपयोग गर्नु आवश्यक हुन्छ । पछिल्लो समय प्रकृति र उपलब्ध स्रोतहरूमाथि मानिसको ज्यादती बढिरहेको तर्क गरिन थालेको छ । माल्थसले परिस्थितिजन्य अवस्था पैदा भई जैविक वा अजैविक प्रक्रियामार्फत पृथ्वीले आफ्नो भार आफै सन्तुलनमा ल्याउने तर्क गरेका थिए । उनको आलोचना प्रशस्त गर्न सकिन्छ । तर, पछिल्ला महामारीका रूप उनको तर्कलाई पुष्टि गर्ने प्रमाण हुन् । चीनको वुहानबाट देखा परेको कोेभिड–१९ ले समग्र विश्वमै नयाँ तरंग ल्याइदिएको छ । अर्थात् विश्वको सामाजिक, आर्थिक र भौगोलिक विविधतासँगै जीवनको मूल्यमान्यतालाई पृथक् ढंगले सोच्न बाध्य बनाएको छ । यस प्रकोपसँगै जीवनको नयाँ मूल्यमान्यता सहितको पृथक् धारका बारेमा बहस चल्नु आवश्यक छ । किनकि आज मानिस र मानवनिर्मित संरचनाहरूको तीव्र प्रतिस्पर्धाले समग्र प्राकृतिक संरचनालाई विपद्का लागि हौस्याइएको प्रतीत हुन खोजेको छ । कोेभिड–१९ को विश्वव्यापी प्रकोपसँगै स्थापित सामाजिक संरचना र संयन्त्रहरूलाई झड्का दिएको छ । विकसित मुलुकहरूको आर्थिक समृद्धि उच्चतम विन्दुमा थियो । तर, त्यसमा सापेक्षित सुधारको आवश्यकता जरुरी थियो र त्यो परम्परागत संयन्त्र र व्यवहारबाट मात्र निश्चित थिएन । यस प्रकोपसँगै निश्चित रूपमा विश्वका सबै क्षेत्रको मानवीय चरित्रमाथि प्रश्न गर्दै उनीहरूको सोचमा परिवर्तन आएको छ । प्रकोपपछि सामाजिक संरचनासँगै अर्थव्यवस्था पनि संकुचित बनेको छ र त्यसको छिटो पुनरुत्थान हुनु आवश्यक छ । समग्र आर्थिक क्षतिको प्रभावलाई तत्काल न्यूनीकरण गर्दै पूर्ववत् विश्व अर्थव्यवस्थाको निरन्तरताको अपेक्षा छिटो पूर्ति नहुन सक्छ । किनकि यो समय विश्वभर विशेषतः सेवाक्षेत्र पर्यटन तथा औद्योगिक उत्पादन अधिक जोखिममा छन् । अर्थतन्त्रको पुनरुत्थानको चरणमा समाजका आधारभूत आवश्यकता र सामाजिक मूल्य एवम् तत्त्वहरूलाई प्रत्येक मुलुकले प्राथमिकता दिनुपर्ने हुन्छ । प्राकृतिक, भौगोलिक, सामाजिक तथा स्थापित सांस्कृृतिक मूल्यमान्यताको उचित सम्भार हुनु आवश्यक छ । विश्वका कुनै पनि मुलुक संक्रमणको जोखिमबाट टाढा देखिँदैनन् तसर्थ विकासको परिपूर्ति पुनरुत्थानमा जोडिनु आवश्यक देखिन्छ ।
प्रकोपपछिको विश्व अर्थव्यवस्था आफै आइसोलेशनमा जान खोजेको जस्तो देखिन्छ । तर, भूमण्डलीकरणबाट विश्व पृथक् हुन सक्दैन । कोेभिड–१९ को प्रकोपसँगै अर्थव्यवस्थाइतरका केही मानवसृजित सामाजिक संरचना अहिले समयमा निष्क्रिय बनेका हुन् । मानिसहरूका बीच भेटघाट, जमघट र पर्व वा उत्सवमा निषेधाज्ञाका कारण ती संरचना सीमित समयका लागि संकुचित बनाइएका छन् । यो प्रक्रिया चीनले पनि प्रकोप न्यूनीकरण र व्यवस्थापनमा प्रयोग गरेको थियो । तसर्थ चीनले अवलम्बन गरेको प्रकोपको नियन्त्रण र प्रतिरोध व्यवस्थापनको सिको अन्य मुलुकले अनुसरण गर्नुपर्ने देखिएको छ । यो समयमा चीनको जोखिम प्रतिरोधको क्षमता, तयारी र पुनरुत्थानका योजना प्रभावकारी देखिएका छन् । निश्चित आकारमा अर्थव्यवस्था डिजिटाइज् भइसकेकाले चीनमा जोखिम अपेक्षाकृत कम हुनपुग्यो । तर, विश्वका अधिकांश मुलुक त्यो क्षमतामा छैनन् र यसका कारण संकट अन्य मुलुकमा बढी हुने देखिन्छ । चीनमा अधिकांश कारोबार अनलाइन भएकाले घरभित्रको अभाव र संकट सतहमा आएन भने उत्पादनमा प्रकोपको प्रभाव न्यून देखियो । वस्तु तथा अन्य उत्पादन प्रक्रियामा कृत्रिम बौद्धिकताको प्रयोग, कम जोखिमको क्षेत्रमा स्थानान्तरण र मौज्दातको पुनरुपयोग गर्नमा चीन केन्द्रित रह्यो । चीनले अपेक्षाविपरीत निर्यातमा समेत प्रतिबन्ध लगाएको थियो, त्यो आन्तरिक आपूर्ति प्रणालीमा हुनसक्ने सम्भावित जोखिमको नियन्त्रणका लागि आवश्यक थियो । व्यक्ति तथा व्यवसायहरू समेत कृत्रिम बौद्धिकतासँग जोडिनुले त्यहाँको उत्पादनमा समेत धेरै कटौती भएन ।
अंकगणितीय योगदानको मूल्यांकनबाट मात्र नोक्सानीको गणना गर्न सकिँदैन । असर आफैमा दीर्घकालमा मात्र देखिने प्रकारको पनि हुन्छ । विश्वका सबै मुलुक कुनै न कुनै अर्थमा अन्तरराष्ट्रिय बजारमा निर्भर छन् । तसर्थ असरको अन्तिम अवस्थाका लागि पनि विश्वव्यापी प्रतिकूल अवस्थाको पर्खाइमा पुग्नुपर्ने हुन्छ । आज प्रायः सवै देशका गतिविधिहरू जोखिमयुक्त परिवेशबाट टाढा हुन खोजेका छन् र अन्य मुलुकसँगको सम्बन्ध र गतिविधिमा आएको शून्यतासँगै साना राष्ट्रहरू झन् प्रत्यक्ष मारमा परेको देखिन्छ । क्षतिको न्यूनीकरण र क्षतिपछिको आर्थिक बलियोपनका लागि आवश्यक स्रोतहरूको व्यवस्थापनमा शक्ति मुलुकहरू जति अभ्यस्त छन् त्यसको तुलनामा साना मुलुकहरूको क्षमता कमजोर रहेको छ । विश्वभरको आपूर्ति प्रणालीले स्वःस्फूर्त काम गर्न नपाउँदा ती मुलुकमा देखिने क्षति खतराजन्य हुने देखिन्छ । कोरोना नियन्त्रणका लागि विश्वभरको प्रयासले जति छिटो नतीजा दिन्छ त्यति नै छिटो विश्वव्यवस्था खतराबाट मुक्त हुने निश्चित छ । तसर्थ प्रकोप निरोधका लागि परिणामुखी नतीजा नआइसकेको समयमा अविकसित मुलुकहरूले आफ्नो आपूर्ति प्रणाली, रोकथामको पूर्वतयारी र जनचेतनालाई नै निरन्तरता दिनु आवश्यक छ ।
चीनले अवलम्बन गरेको प्रकोपको नियन्त्रण र प्रतिरोध व्यवस्थापनको सिको अन्य मुलुकले अनुसरण गर्नुपर्ने देखिएको छ । यस समयमा चीनको जोखिम प्रतिरोध क्षमता, तयारी र पुनरुत्थानका योजनाहरू प्रभावकारी देखिएका छन् ।
उत्पादनमा विशेष जोड, मौद्रिक असन्तुलनको व्यवस्थापन, अतिरिक्त रोजगारको सृजना अविकसित मुलुकहरूले विश्वव्यापी संकटको समयमा कुशलताका साथ व्यवस्थापन गर्नुपर्ने विषय हुन् । आयात प्रभावित हुने, विप्रेषणको आम्दानी बन्द हुने, मौद्रिक व्यवस्थापनमा कठिनाइ देखिने, आपूर्ति प्रणाली बिग्रने, कालोबजारी मौलाउने, बेरोजगारको दर बढ्ने लगायत समस्या यो समय देखिन्छन् । साथै, दीर्घकालमा समग्र अर्थतन्त्रको आकारमा अपेक्षाकृत प्रतिफल नदेखिने, मुद्रा कमजोर हुने, महँगी सधैंका लागि बढ्ने, उत्पादनमा असर गर्ने, विकास र पूर्वाधारका कार्यहरू अलपत्र हुने र अन्ततः अर्थतन्त्रमा सबै क्षेत्रको योगदान खुम्चिने अनुमान गर्न सकिन्छ । तसर्थ कमजोर मुलुकहरूले यो विषयमा विशेष चनाखो हुनु आवश्यक छ । आन्तरिक उत्पादनमा जोड दिएर परिश्रमी जनशक्तिलाई संलग्न गराउने र आयातको विस्थापन गर्ने रणनीति यो समयमा अख्तियार गर्न सकिन्छ । पर्यटनको विकासका लागि आवश्यक पूर्वाधारहरूको तयारीमा समय खर्च गर्ने, सहुलियत ऋणहरू प्रवाह गर्ने, आपूर्ति प्रणाली स्वचालित बनाउने र मूल्य नियन्त्रण स्थिर गर्न सकेमा भविष्यमा हुने प्रतिफल गुणात्मक रहने अपेक्षा गर्न सकिन्छ । पुनरुत्थानको प्रभावकारी व्यवस्थापन र यसको गतिशीलताले नै विश्व अर्थव्यवस्थाको तंग्रने निश्चित छ ।
कोरोनाका कारण चिनिया अर्थव्यवस्थामा भएको क्षति अपेक्षाभन्दा कम छ । वार्षिक जीडीपी वृद्धि क्रमशः प्रति चौमासिक २ प्रतिशतले घट्ने प्रक्षेपण गरिएको छ । त्यससँगै चीनको उपभोग स्वैच्छिक रूपमा कमी आएको र कोरोनाको निदानसँगै उपभोगको वृद्धिले फेरि आकार लिने निश्चित छ । तसर्थ कोरोनाको कारण नै विश्वको वर्तमान अर्थव्यवस्थामा उलटपुलट हुने सम्भावना कम छ । अहिलेको गतिशील अवस्था केही समय स्थिर भएको र महामारीको रोकथाम तत्काल हुने अवस्थामा विश्व अर्थव्यवस्थामा पुनः आप्mनो लयमा फर्कने निश्चित छ । यो महामारी लामो समय समयसम्म रहन नसक्ने र विश्व अर्थव्यवस्थाको वर्तमान आकारलाई उथलपुथल पार्ने हैसियतमा रहेको देखिँदैन । निरन्तर व्यापारमा नोक्सान, बेरोजगारी, कमजोर आत्मबल र नीतिगत सुधारमा एकरूपताको अभावले गर्दा छिटो रिकोभरी हुने अवस्थालाई भने अवरोध भइरहेको छ ।
लेखक नेशनल काउन्सिल फर इकोनोमिक एन्ड डेभलपमेन्टका निर्देशक हुन् ।