विराटनगर । कोशी प्रदेशमा यो वर्ष ११ अर्ब रुपैयाँ लगानीमा पाँचओटा पाँचतारे होटेल थपिने भएका छन् । हाल कोशीमा पाँचतारे स्तरका होटेल मेची क्राउन, किङ्सबेरी र सोल्टी वेस्टर्न सञ्चालनमा छन् । मेची क्राउन र किङ्सबेरी झापामा र सोल्टी वेस्टर्न इटहरीमा छ ।
यी होटेलमा ५ अर्ब २५ करोड रुपैयाँ लगानी भएको छ । कोशी प्रदेशका १४ जिल्लाका सबै खाले होटेलमा गरी करीब ६० अर्ब रुपैयाँभन्दा बढी लगानी भएको व्यवसायीले बताएका छन् । खुल्ने तयारीमा रहेका पाँचतारे होटेलमा झापामा इस्टर्न ग्रान्ड, इटहरीमा अजित बस्नेतको रमादा, विराटनगरमा विकास चौधरी समूहको लेमन ट्री, मोति दुगडको सेन्चुरी र दुर्गा प्रसाईको होटेल छन् ।
होटेल व्यवसायी संघ कोशीका वरिष्ठ उपाध्यक्ष तथा कोशी पर्यटन वर्ष २०८२ का सहसंयोजक भवीश श्रेष्ठले पछिल्लो समय कोशी प्रदेशमा होटेल व्यवसायमा लगानी थपिइरहेको बताए । सरकारले राम्रो नीति ल्याए मुलुकको अर्थतन्त्रमा पर्यटन क्षेत्रले नै सबैभन्दा बढी योगदान गर्ने उनी बताउँछन् । उनले कोरोनापछि पर्यटन क्षेत्र पुन: चलायमान हुन थाल्दा लगानी बढिरहेको बताए । उनले कोशी प्रदेशमा तीनओटा पाँचतारे होटेल सञ्चालनमा रहेको र पाँचओटा खुल्ने क्रममा रहेको जानकारी दिए ।
- पाँच वर्षअघिसम्म कोशीमा पाँचतारे होटेल नै थिएनन्
- हाल सञ्चालनमा रहेका पाँचतारे होटेलको संख्या तीन
- इलामको कन्याममा मात्रै ४ हजार पर्यटकलाई वास बस्न पुग्ने बेड उपलब्ध
पाँच वर्षअघिसम्म पाँचतारे होटेल नै नभएको पूर्वमा यस्ता होटेलको संख्या आठ पुग्दा अर्थतन्त्र र पर्यटन व्यवसायमा टेवा पुग्ने होटेल संघ कोशीका अध्यक्ष राजन श्रेष्ठले बताए । होटेल व्यवसायलाई राज्यले छूट दिनुपर्ने र भारतीय पर्यटकलाई एकपटकमा १ दिनको मात्र सवारी अनुमति दिइरहेकोमा त्यसलाई बढाएर ५ दिन पुर्याउनुपर्ने श्रेष्ठले बताए । भारतीय पर्यटकले १०० भारतीय रुपैयाँभन्दा माथिको नोट ल्याएमा नचल्ने भएकाले पनि समस्या उत्पन्न भएको उनको भनाइ छ । पर्यटकले भारतीय रुपैयाँ सहज रूपमा साटिनुपर्ने र उनीहरूले डिजिटल वालेटमार्फत भुक्तानी गर्न चाहेमा त्यो पनि सहज हुनुपर्ने श्रेष्ठले बताए । नेपाल र भारतबीच दुवै देशमा डिजिटल वालेटमार्फत भुक्तानी गर्न सम्झौता भए पनि तल्लो तहमा कार्यान्वयन नभएकाले भुक्तानीमा समस्या उत्पन्न भएको उनले बताए ।
होटेल व्यवसायी संघ कोशी प्रदेशका सचिव पुण्य भट्टराईले सञ्चालनमा रहेका तीनओटा पाँचतारे होटेलको शुरुआती लगानी ५ अर्ब रुपैयाँभन्दा बढी रहेको बताए । नयाँ थपिने होटेलमा ११ अर्ब लगानी हुनेछ । एउटा पाँचतारे होटेल खोल्न १ अर्ब ५० करोडदेखि २ अर्ब रुपैयाँसम्म लाग्ने भएकाले त्यसैका आधारमा नयाँ होटलमा ११ करोड रुपैयाँ लगानी हुने अनुमान गरिएको हो ।
पछिल्लो समय इलामको कन्याममा ४ हजार पर्यटकलाई वास बस्न पुग्ने बेड उपलब्ध छन् । कन्याममा तीनतारेसम्मका छन् । इलाममा झन्डै ५०० होटेल सञ्चालनमा छन् । प्रदेशको राजधानी विराटनगरमा अहिलेसम्म पाँचतारे होटेल छैन । यहाँ अहिले रत्ना, बिग, स्वागतम, एशियाटिक, इस्टर्न स्टार, ह्यारिसन, नेपालीरिक सहित झन्डै दुई दर्जन चारतारे र तीनतारे स्तरका होटेल सञ्चालनमा छन् । विराटनगरको पुरानो तीनतारे होटेल जेनियल भने बन्द छ ।
सरकारी झमेला र राजस्वको लफडाका कारण विराटनगरका होटेलले तारा लिएका छैनन् । विराटचोकको नेपालीरिकाले पाँचतारेको स्वीकृति लिन पहल शुरू गरेको छ । होटेलको सेल्स म्यानेजर विनोद विमलीका अनुसार झन्डै अढाइ अर्ब रुपैयाँ लगानी रहेको यो होटेल चाँडै पाँचतारेमा परिणत हुँदै छ ।
कोशीमा अहिले डेढ अर्बदेखि अढाइ अर्ब रुपैयाँसम्म लगानीका होटेल १० ओटा छन् । तीमध्ये तीनओटाले मात्र तारेको स्वीकृति लिएका छन् । श्रेष्ठका अनुसार बाँकीले सरकारी झमेला र राजस्वको लफडाका कारण स्वीकृति लिएका छैनन् । मोरङको जोगवनी, सुनसरीको भीमनगर, झापाको काँकडभिट्टा र इलामको पशुपतिनगर नाकाबाट पूर्वी नेपालमा भारतीय पर्यटक भित्रिन्छन् । ती नाकाबाट सवारीसाधन प्रयोग गरेर दैनिक सरदर ५०० भारतीय पर्यटक भित्रिन्छन् । खुलासीमाबाट दैनिक सरदर ५०० भारतीय नागरिक आउने गरेको अनुमान छ । होटेल तथा पर्यटन व्यवसायी समेत रहेका श्रेष्ठका अनुसार त्यसबाहेक छिटपुट आन्तरिक पर्यटक यस क्षेत्रका होटेलका मुख्य ग्राहक हुन् ।