काठमाडौं । नागरिक लगानी कोषले सहभागीलाई नियमित ब्याजमा अतिरिक्त १ दशमलव ५ प्रतिशत प्रतिफल दिने भएको छ । कोष सञ्चालक समितिले व्यवस्थापनको राय सिफारिशअनुसार उक्त निर्णय गरेको बताइएको छ । आर्थिक वर्ष २०७८/७९ को अन्तसम्ममा कोष मौज्दात रकम रहेका सहभागीलाई उक्त आर्थिक वर्षको चैत मसान्तसम्मको मौज्दातमा उक्त प्रतिफल दिने निर्णय गरिएको हो । यसभन्दा अघि पनि १ दशमलव ५ प्रतिशत थप प्रतिफल दिएको कोषले जानकारी दिएको छ ।
यसरी प्रतिफल वितरणगर्दा कोषले सञ्चालन गरेका सातओटा बचत कार्यक्रममध्ये कर्मचारी बचत वृद्धि अवकाश कोषका सहभागीलाई १ अर्ब ८१ करोड रुपैयाँ खर्च हुने कोषका सूचना अधिकारी उद्धव सिलवालले बताए । अन्य ६ ओटा कोषमा पनि यस कोषकै आधारमा थप प्रतिफल वितरण गर्ने प्रक्रियामा रहेको बताइएको छ ।