काठमाडौं । सुरक्षा चुनौती बढेको भन्दै हेलिकोप्टर सेवाप्रदायक कम्पनीले सगरमाथा राष्ट्रिय निकुञ्ज तथा खुम्बुक्षेत्रमा हुँदै आएको उडान आइतवारदेखि स्थगन गरेका छन् । हेलिकोप्टर कम्पनीहरूको अधिकांश उडान त्यही क्षेत्रमा हुँदै आएकोमा उडान स्थगन गर्ने निर्णयपछि उनीहरूको व्यवसायमा धक्का लाग्ने देखिएको छ । देशको प्रमुख पर्यटकीय गन्तव्य सगरमाथा क्षेत्रमा उडान उनीहरूका लागि ठूलो आर्थिक आम्दानीको स्रोत रहँदै आएको छ ।
सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालय, खुम्बु पासाङल्हामु गाउँपालिका, सगरमाथा राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति र स्थानीय सरोकारवाला गैरसरकारी संस्थाहरूको मङ्सिर २५ गतेको बैठकले पुस १७ गतेदेखि लागू हुने गरी उक्त क्षेत्रमा हवाईजहाजको व्यावसायिक उडान गर्न नदिने निर्णय गरेको थियो ।
उक्त निर्णय कार्यान्वयन गराउन खुम्बुक्षेत्रको हेलिप्याडमै अवरोध सृजना गरिएका कारण सुरक्षा खतरा रहेको दर्शाउँदै हेलिकोप्टर कम्पनीहरूले उक्त क्षेत्रका उडान स्थगित गरेका हुन् । ‘सम्बद्ध निकाय पटकपटक बसेर वार्ता गरे पनि कुनै निक्र्योलमा पुग्न सकेको छैन,’ वायुसेवा तथा हेलिकोप्टर सञ्चालकहरूको छाता संस्था वायुसेवा सञ्चालक संघ, नेपालले आइतवार जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘त्यस क्षेत्रमा हेलिकोप्टर अवतरण गरेमा स्थानीय समूहले चालक दलका सदस्यलाई समाती कारबाही गर्नेजस्ता अभिव्यक्ति स्थानीय क्लब, युवा समूहलगायत सरोकारवालाले दिएका छन् । यसले सुरक्षाको पूर्ण प्रत्याभूति नभएसम्म उक्त क्षेत्रका सम्पूर्ण उडान रोकिएको छ ।’
संघका प्रथम उपाध्यक्ष प्रतापजंग पाण्डेले हाल खुम्बुक्षेत्रका हेलिप्याडहरूमा झन्डा गाडेर अवरोध गरेको र आपत्कालीन अवतरणका लागि स्थानसमेत नभएको भन्दै त्यस क्षेत्रमा उडान रोकिएको जानकारी दिए ।
उनका अनुसार हेलिकोप्टर सेवा भने आइतवार बिहानसम्म त्यस क्षेत्रमा सञ्चालन भइरहेको थियो । हवाई उडानको नियामकको नाताले हेलिकोप्टर उडानको अनुमति पूर्णत: आफ्नो क्षेत्राधिकार भएकाले नेपाल नागरिक उड्डयन प्राधिकरणले हेलिकोप्टर उडान गर्न अनुमति दिइरहेको छ । हेलिकोप्टर सेवाप्रदायकहरूका अनुसार हेलिकोप्टरको कुल दैनिक उडानमध्ये ६० देखि ७० प्रतिशत सगरमाथा क्षेत्रमै हुन्छ ।
कैलाश हेलिकोप्टर सर्भिसेज प्रालिका प्रबन्ध निर्देशकसमेत रहेका पाण्डेले अहिले अफ सिजनमा समेत दैनिक १०/१२ ओटा उडान हुँदै आएको बताए । ‘सिजनमा भने दैनिक ७०/८० ओटा उडान हुने गरेको छ,’ उनले भने ।
हिउँद र वर्षे सिजनबाहेक अन्य सिजनमा धेरैजसो उडान यही क्षेत्रमा हुन्छ । ‘स्प्रिङ (वसन्त) सिजन र अटम (शरद) सिजनमा यो क्षेत्रमा उडान व्यापक हुन्छ । सुरक्षाका कारण उक्त क्षेत्रमा उडान रोकिएको र शान्तिसुरक्षाको प्रत्याभूति नभएसम्म सेवा स्थगित रहने उनले जानकारी दिए । ‘प्राधिकरणले उडान गर्न भनेको छ, हामीले उडान रोकेको विषय जानकारी गराइसकेका छौं,’ उनले भने, ‘मौसम अनुकूल हुँदा औसतमा उक्त क्षेत्रमा दैनिक ४०/५० लाख रुपैयाँको व्यवसाय हुने गरेको छ भने उक्त क्षेत्रमा १० ओटा कम्पनीका हेलिकोप्टरले सेवा प्रवाह गर्छन् ।’
सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालय, खुम्बु पासाङल्हामु गाउँपालिकालगायत निकायले भने उक्त क्षेत्रमा अत्यधिक हेलिकोप्टर उडानका कारण वन्यजन्तुमाथि हेलिकोप्टरको चर्को आवाजको प्रभाव परेको र ट्रेकिङबाट आयआर्जन गर्ने स्थानीयको रोजगारी तथा व्यवसायमा असर गरेको भन्दै व्यावसायिक उडान रोक्ने निर्णय गरेका थिए ।
आपत्कालीन उद्धारको हकमा समेत उडानस्थलमा रहेका स्वास्थ्य संस्थाबाट अनिवार्य सिफारिश लिनुपर्ने निर्णय गरिएको छ ।