काठमाडौं । सात कम्पनीहरूको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज रहेको छ । यस दिन कृषि विकास बैंक, महालक्ष्मी विकास बैंक, मितेरी डेभलपमेन्ट बैंक, छिमेक लघुवित्त, जीवन विकास लघुवित्त, आत्मनिर्भर लघुवित्त र चिलिमे हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो ।
कृषि विकास बैंक लिमिटेडले यही पुस २९ गते आफ्नो केन्द्रीय तालिम प्रतिष्ठान, बोडे, भक्तपुरमा १८ औं वार्षिक साधारण सभा बोलाएको छ । सो सभा बिहान ११ बजे शुरु हुनेछ ।
सभाले हाल कायम चुक्तापूँजीको ३ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थसहित ७ दशमलव ५३ प्रतिशत नगद लाभांश तथा अविमोच्य असंचित अग्राधिकार शेयरधनीहरूलाई ६ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।
यसका साथै सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्ताव पनि पारित गर्नेछ ।
मितेरी डेभलपमेन्ट बैंकले यही पुस २७ गते सुनसरीको धरान-१ स्थित सुनसरी उद्योग वाणिज्य संघमा १९ औं वार्षिक साधारण सभा बोलाएको छ । सो सभा बिहान ११ बजे शुरु हुनेछ ।
सभाले हाल कायम चुक्तापूँजीको ९ दशमलव ५०७९ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ शून्य दशमलव ५००४ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।
यसका साथै सभाले ‘ख’ वर्गको प्रादेशिक स्तरको विकास बैंकको लागि अनुमोदन गरी नेपाल राष्ट्र बैंकबाट स्वीकृत लिने, प्रबन्धपत्रमा आवश्यक संशोधन गर्ने, अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्ज तथा एक्विजिशनसम्बन्धी कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरू पारित गर्नेछ ।
त्यस्तै महालक्ष्मी विकास बैंक लिमिटेडले यही पुस २९ गते काठमाडौंको गैह्रीधारास्थित एलिश रिसेप्सन्समा २३ औं वार्षिक साधारण सभा बोलाएको छ । सो सभा बिहान १० बजे शुरु हुनेछ ।
सभाले हाल कायम चुक्तापूँजीको ३ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थसहित ४ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।
यसका साथै सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।
त्यसैगरी, छिमेक लघुवित्तले यही पुस २९ गते मकवानपुरको हेटौडास्थित होटल सामना प्रा.लि. को सभाहलमा २३ औं वार्षिक साधारण सभा बोलाएको छ । सो सभा बिहान ११ बजे शुरु हुनेछ ।
सभाले हाल कायम चुक्तापूँजीको ८ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थसहित ७ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।
यसका साथै सभाले मर्जर तथा एक्विजिशनसम्बन्धी कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सर्वसाधारण शेयरधनीहरूको तर्फबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकहरुको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्ताव पनि पारित गर्नेछ ।
जीवन विकास लघुवित्त वित्तीय संस्थाले यही पुस २८ गते माेरङको कटहरी-२ स्थित केन्द्रीय कार्यालयमा वार्षिक साधारण सभा बोलाएको छ ।
सो सभा बिहान साढे १० बजेदेखि शुरु हुनेछ। सभाले १४ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ शून्य दशमलव ७३६८ प्रतिशत नगद वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाले यही पुस २९ गते दाङको घोराही-१५ स्थित होटल माला इनमा छैटौं वार्षिक साधारण सभा बोलाएको छ । सो सभा बिहान ११ बजे शुरु हुनेछ ।
सभाले हाल कायम चुक्ता पूँजीको १४ दशमलव २५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ शून्य दशमलव ७५ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । त्यस्तै, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरू पनि पारित गर्नेछ ।
चिलिमे हाइड्रोपावर कम्पनीले गत वर्षको नाफाबाट लगानीकर्तालाई १० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थसहित २ प्रतिशत नगद लाभांश पारित गर्न यही पुस २८ गते वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले काठमाडौंस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान ११ बजेदेखि सभा बोलाएको हो ।