अन्य विकासोन्मुख देशमा जस्तैै नेपालमा पनि देखासिकी गर्ने, हो मा होे मिलाउने परम्परा देखिन्छ । राम्रा कुरालाई स्वीकार्दै अगाडि बढ्नु परिवर्तन र विकासका लागि आवश्यक छ । बालबालिका र युवामा वित्तीय साक्षरता अभिवृद्धि गर्दै वित्तीय ज्ञान, शीप, मनोेवृत्ति र व्यवहारको विकास गर्ने उद्देश्यका साथ ग्लोबल मनी विक तथा विश्व वित्तीय साक्षरता सप्ताह नेपाल राष्ट्र बैंकको संयोजकत्वमा मनाइँदै छ । विश्वका १७६ भन्दा धेरै देशले वित्तीय साक्षरता सप्ताह मनाइरहेका छन् । यसको नेतृत्व विकसित देशहरूको संगठन ओईसीडीले गरेको छ । सन् २०१२ देखि यसको नेतृत्वमा हरेक वर्ष मार्च १७ देखि २३ सम्म १ हप्ता वित्तीय साक्षरता अभियान चलाउँदै आएको छ । हालसम्म ६ करोडभन्दा बढी व्यक्तिले यो अभियानबाट वित्तीय साक्षरता पाएको उसको दाबी छ । प्रविधिको विकासले छोटोे समयमा धेरै आम्दानी गर्न सकिने अवसर आउँछन् जसका लागि हतारमा निर्णय लिँदा ठूलो आर्थिक नोक्सानी बेहोर्नुपर्छ । आज लिने वित्तीय शिक्षाले उज्ज्वल भविष्यका लागि बुद्धिमत्तापूर्ण साधनकोे निर्माण गर्न सकिन्छ भन्ने सोच साप्ताहिक अभियानले लिएको छ ।
वित्तीय साक्षरता वृद्धिका लागि लक्षित वर्ग
वित्तीय साक्षरता हरेक नागरिक, समाज, वर्ग, तह र तप्कामा रहेका सबैैलाई आवश्यक छ । देशमा उद्योगधन्दा उत्पादनमूलक क्षेत्रमा लगानी बढाउनु, वित्तीय साक्षर, शीप तालिमबाट दक्ष जनशक्तिको विकासबाटै दीर्घकालीन रूपमा देशमा गरीबी कम गरेर समृद्धि प्राप्त गर्न सकिन्छ । वित्तीय साक्षरताबाटै वित्तीय अनुशासन र गरीबी निवारण गर्न, सुरक्षित कारोबार गर्न, समुदायको सुरक्षित भविष्यका लागि विश्वसनीय र गुणस्तरीय सेवा सम्भव छ । देशमा चौतर्फी विकासका लागि साक्षरतासँगै वित्तीय साक्षरता अभिवृद्धि आवश्यक देखिन्छ । यस वर्षको ग्लोबल मनी विककोे उद्देश्यले विश्वस्तरमा दीर्घकालीन रूपमा गरीबी निवारण गरेर स्थायी रूपमा आर्थिक विकाससँगै सुसमृद्धिको परिकल्पना गरेको छ । हामीले पनि यसलाई आत्मसात् गर्न आवश्यक छ ।
हाम्रो परिवार, समाज तथा देशकोे भविष्य आजका बालबालिका र युवावर्गमा निहित छ । त्यसैले बालबालिका तथा युवा वर्गमा वित्तीय साक्षरता तथा ज्ञानको स्तर वृद्धि गर्न सक्यौं भने उनीहरूको व्यवहारमा परिवर्तन गर्न सकिन्छ । वित्तीय साक्षरताले भविष्यको स्वच्छ, शान्त, समृद्ध समाज तथा राष्ट्र बनाउँछ । बालबालिका तथा युवावर्गलाई यथार्थ बुझेर व्यवहार गर्न र घाँटी हेरेर हाड निल्नुपर्छ भन्ने सिद्धान्तलाई बुझाउँदै बचत, लगानी, व्यावसायिक उद्यमशीलता, बजेटलगायतको ज्ञान वृद्धि गराउन आवश्यक छ ।
- नेतृत्व तहमा वित्तीय साक्षरता नभएमा समुदायमा वित्तीय अनुशासन बिग्रदै जानेछ ।
- बचत वित्तीय साक्षरताको मुख्य सिद्धान्त हो ।
- नेपालमा करीब ५८ प्रतिशत नेपालीहरू वित्तीय साक्षर रहेका छन् ।
- वित्तीय साक्षरता भन्नु पैसाले कसरी, कति र के काम गर्छ भनी बुझ्न सक्ने क्षमता हुनु हो ।
- वित्तीय साक्षरता तालिम लिएर लघुवित्त संस्थासँग कारोबार गरेका अधिकांश विपन्नले राम्रो आर्थिक प्रगति गरेका छन् ।
वित्तीय साक्षरता
वित्तीय साक्षरता भन्नाले वित्तीय र आर्थिक विषय तथा व्यवहारसम्बन्धीको ज्ञान हो । व्यक्तिमा रहेको वित्तीय व्यवस्थापन सम्बन्धी ज्ञान तथा निर्णयात्मक कुशलताबाट वित्तीय साक्षरता मापन गर्न सकिन्छ । बचत, व्यक्तिगत जीवनमा आम्दानी गर्ने कला, बचत गर्ने लगानी गर्ने शिक्षा तथा स्वास्थ्यसम्बन्धीका लागि पूर्वव्यवस्था साथै अवकाशपछिको जीवनका लागि उचित बचत व्यवस्थालगायत ज्ञानको स्तर नै वित्तीय साक्षरता हो ।
वित्तीय साक्षरताको अभावमा व्यक्तिले परिवार व्यवस्थापन तथा व्यवसाय सञ्चालन गर्ने क्रममा गर्ने निर्णयहरू कमजोर हुन सक्छन् जस्ले गर्दा परिवारको वित्तीय सबलतामा प्रभाव पर्न सक्छ । वित्तीय साक्षरताअन्तर्गत दैनिक जीवनमा पाँचओटा सिद्धान्तहरू बढी प्रयोगमा आउँछन् । ती हुन् : (क) कमाई तथा आय आर्जन (ख) बचत र लगानी (ग) सम्पत्तिको सुरक्षा व्यवस्थापन (घ) खर्च व्यवस्थापन (ङ) ऋण व्यवस्थापन ।
आफूले गरिरहेको कुल आम्दानी के कति छ, करहरू केकति तिरिरहेको छ, बढी आम्दानी कसरी गर्न सकिन्छ, पुनरवलोकन गर्ने, भविष्यको शिक्षा तालिम शीप विकासमा लगानी गर्ने कति खर्च आवश्यक पर्छ जस्ता कुराको विश्लेषण गर्नुपर्छ । आवश्यकता र कमाइ (आय) को जानकारी राखेर आवश्यकता परिपूर्ति गर्नुपर्छ । परिवारमा आर्थिक योजना र लक्ष्य बनाउँदा आयस्रोतलाई ख्याल गर्नुपर्छ ।
बचत वित्तीय साक्षरताको मुख्य सिद्धान्त हो । जसले नियमित रूपमा बचत गर्ने गर्छ त्यो व्यक्ति वा परिवारको वित्तीय सफलता र सबलताको सूचक हो । बचत नियमित खर्चका साथसाथै शिक्षा, स्वास्थ्य, विवाह, घर, गाडी खरीद तथा अकस्मात् हुन सक्ने ठूलो खर्चका घटना आदिका लागि बचत गर्नुपर्ने हुन्छ ।
कमाउनु जत्तिकै महत्त्वपूर्ण काम जोगाउनु तथा सुरक्षा गर्नु पनि हो । हाम्रो समाजमा आफ्नो कमाइ तथा सम्पत्ति सुरक्षा गर्न नसकेर मानिशहरू गरीब भएको हामी देख्न पाउँछौं । आफ्नो बचत, व्यवसायको सुरक्षा गर्नु वित्तीय साक्षरताअन्तर्गत अर्को महत्त्वपूर्ण कार्य हो । जबसम्म व्यक्ति, परिवार तथा समुदाय सुरक्षातर्फ सचेत तथा साक्षर हुँदैनन् तबसम्म स्थायी आर्थिक उन्नति हुन सक्दैन । कुनै वित्तीय संकटबाट सुरक्षा प्रदान गर्न बीमा गराएर सुरक्षा प्रदान गर्न सकिन्छ । बीमाको आवश्यकता र महत्त्व बुझ्न/बुझाउन वित्तीय साक्षरता चाहिन्छ । हरेक कारोबारको लेखा राख्ने, प्रमाणहरू सुरक्षित गर्ने, कारोबारको बिल भरपाई लिनेदिने र जालसाजी तथा धोका बेइमानीबाट सुरक्षित हुनेजस्ता कुरा वित्तीय साक्षरताअन्तर्गतका महत्त्वपूर्ण कुरा हुन् ।
वित्तीय साक्षरताअन्तर्गत कमाउनु तथा आय आर्जन गर्नु, बचत गर्नु, लगानी गर्नु र सुरक्षा गर्नुजस्तै खर्च गर्नु पनि महत्त्वपूर्ण पक्ष हो । खर्च गर्दा पूर्वयोजना बनाएर बजेट तय गरिन्छ । वित्तीय साक्षरता भन्नु पैसाले कसरी, कति र के काम गर्छ भनी बुझ्न सक्ने क्षमता हुनु पनि हो । कसरी पैसा कमाइ हुन्छ, त्यसको सही व्यवस्थापन कसरी हुन्छ, लगानी कसरी सफल हुन्छ, त्यसले तिम्रो लागि कसरी काम गर्छ, कति काम गर्छ भन्ने बुझ्न वित्तीय साक्षरताको ज्ञान हुुन जरुरी हुछ ।
वित्तीय लक्ष्य, बजेट, लगानी, सम्झौता र कर्मचारी विधिसम्बन्धी निर्णय लिनुअगाडि वित्तीय सूचनाको ज्ञान जरुरी छ । वित्तीय साक्षरताको कारण न्यून आय भएका मानिशहरूलाई बचत गर्न योग्य बनाउन, खर्चहरू कटौती गर्न, खर्च घटाउन सक्ने क्षमतामा प्रभाव पार्छ । यसर्थ, देशमा वित्तीय शिक्षा हरेक व्यक्ति, घर, टोल तथा समुदायमा पुर्याउन आवश्यक छ । यसका लागि तालिम, कोचिङ, सिकाइ सामग्री र सिकाउने सिद्धान्तको विकास गरी योजनागत रूपमा वित्तीय साक्षरता वृद्धि गर्न अति आवश्यक भइसकेको छ । यसका लागि अभियान नै चलाउनुपर्छ ।
नेपालमा वित्तीय साक्षरताकोे अवस्था
पछिल्लो गणनाअनुसार नेपालमा करीब ५८ प्रतिशत नेपालीहरू वित्तीय साक्षर रहेका छन् । करीब ७१ प्रतिशत वयस्क नेपालीले बैंकमा बचत खाता सञ्चालन गरेका छन् । देशमा हाल करीब २० प्रतिशत जनसंख्या गरीबीको रेखामुनि छ ।
वित्तीय साक्षरताको न्यूनस्तरले गर्दा देशमा गरीबी घटाउन, दिगो आर्थिक वृद्धि प्राप्त गर्न, रोजगार प्रवर्द्धन तथा निर्यात वृद्धिका लागि राष्ट्रिय अभियानका रूपमा थालिएका योजना तथा कार्यक्रमहरू प्रभावकारी हुन सकेको छैन । देशका वित्तीय संस्थामा जम्मा भएको पूँजी लगानी हुन नसकेर निष्क्रिय रहेको समाचार, बचतमा ब्याज घटेको, उद्योगधन्दा बन्द भएको, उपभोग्य सामग्रीको आयात बढेको, कृषि उपजहरू आयात गर्नुपरेको, वैदेशिक रोजगार बढेर प्राप्त भएको आम्दानी अनुत्पादक क्षेत्रमा लगानी भएको, विलासिताका सामान उपभोगका लागि खर्च भएको पाइन्छ । निरन्तर आम्दानी प्रदान गर्ने क्षेत्रमा लगानी गर्ने बारेमा सोच्ने गरेको पाइँदैन । फलस्वरूप समाजमा बेसहारा सडक बालबालिका, वृद्धवृद्धाको संख्या बढेसँगै बालआश्रम र वृद्धाश्रमको भरपर्ने परम्परा बढेको पाइन्छ । यसले गर्दा अनुत्पादक लगानी र विलासी उपभोग प्रणाली बढेको छ । आर्थिक अव्यवस्थाकै कारण अपराध हुने र युवाहरू विदेशिने क्रम बढेको समेत देखिन्छ ।
वित्तीय साक्षरताको अभावमा देखिएका समस्या
वित्तीय साक्षरताको अभावमा दैनिक रूपमा गास काटेर सुरक्षित भविष्यका लागि विपन्नले सहकारी संस्थामा जम्मा गरेको बचत सहकारी सञ्चालक तथा व्यवस्थापकले कुम्ल्याइरहेका छन् । विपन्नले कर्जा लिने निकाय लघुवित्त संस्थाबाट लिएको ऋण माफी हुन्छ, तिर्नु पर्दैन भन्दै लघुवित्त कार्यक्रमले ल्याएको आर्थिक गतिशीलतालाई धमिल्याउने काम भइरहेको छ । राजनीतिक कवचले ढाकिएकाहरूले नै नेतृत्व गरेर वित्तीय अनुशासन बिगारिरहेका छन् । देशमा हरेक दिन विभिन्न निकायमा भएको भ्रष्टाचारका समाचारले पत्रपत्रिकाको अधिकांश भाग ढाकिने गरेको छ । जागीर र कामको खोजीमा नेपाली युवाहरू नपुगेको देश र नेपाली युवाले नगरेको कुनै पनि जोखिमको काम बाँकी नहोला । के यस्तो परिवेशमा बैंक तथा वित्तीय संस्था तथा सहकारीमा बचत खाता खोल्दैमा, खोलाउँदैमा बैंक तथा सहकारीबाट कर्जा लिँदैमा वित्तीय साक्षरता वृद्धि भएको मान्न सकिन्छ र ?
देशमा बैंक वित्तीय संस्थाको अवस्था कमजोर बन्दै गएको छ । बैंक तथा वित्तीय संस्थाप्रति जनताको विश्वास घट्दै गएको छ । बंैक तथा वित्तीय संस्थाको कर्जा असुली घट्दै गएको छ । लगानी घट्दै गएको छ । वित्तीय अनुशासनको वातावरण बिग्रँदै जानाले देशमा धेरै बैंकिङ कसुरमा मुद्दा दर्ता भएका छन् । कालोसूचीमा सूचीकृत हुनेको बढिरहेकोे छ । यस्तो अवस्थामा केही मानिस जुटाएर वित्तीय साक्षरताका नाममा नारा, जुलुस, र्याली तथा गोष्ठी गर्दैमा अपेक्षाकृत वित्तीय साक्षरता वृद्धि सम्भव होला ?
वित्तीय साक्षरताअन्तर्गत दैनिक जीवनमा (क) कमाइ तथा आय आर्जन (ख) बचत र लगानी (ग) सम्पत्तिको सुरक्षा र व्यवस्थापन (घ) खर्च व्यवस्थापन (ङ) ऋण व्यवस्थापन पाँचओटा सिद्धान्त बढी प्रयोगमा आउँछन् ।
वित्तीय साक्षरता अभियानका चरण
यस सन्दर्भमा वित्तीय साक्षरता सबै व्यक्तिलाई आवश्यक छ । देशमा सुशासन, सुव्यवस्था कार्यान्वयन गरेर वित्तीय अनुशासन कायम गर्न कुशल र सक्षम नेतृत्वका लागि सबै नेतृत्वकर्तालाई पहिलो चरणको वित्तीय साक्षरता चेतना वृद्धि गर्ने अभियान आवश्यक छ । विभिन्न तरीकाले देश, समाज र परिवारको नेतृत्व गर्नेहरूलाई लक्षित गरेर वित्तीय साक्षरताको माध्यमले चेतना वृद्धि गर्न सकेमा मात्र समाजमा गरीबी निवारण गर्न, वित्तीय अनुशासन कायम राख्न र दिगो आर्थिक विकास गर्न सहज हुनेछ ।
नेतृत्व तहमा वित्तीय साक्षरता नभएमा समुदायमा वित्तीय अनुशासन बिगँ्रदै जानेछ । प्रतिकूल वातावरणमा वित्तीय सेवाजस्तो अतिआवश्यक सेवा प्रभावित हुनेछ । फलस्वरूप वित्तीय संस्थाहरू असफल हुनेछन् ।
दोस्रो चरणमा विद्यालय शिक्षामा नै वित्तीय साक्षरतासम्बन्धी पाठ्यक्रम समावेश गरी अनिवार्य अध्यापन गराउनु पर्छ । विद्यार्थीलाई मुद्रा, बचत, कर्जा, वित्तीय योजना, लगानी, आम्दानी खर्चबारेमा बाल्यकालदेखि नै व्यावहारिक शिक्षा दिन आवश्यक छ । यसरी दिइने शिक्षा नागरिकको जीवनभरि उपयोगी तथा मार्ग निर्देशक बन्न सक्नेछ ।
वित्तीय साक्षरता अभियानमा नाम मात्रका कार्यक्रम, नारा तथा प्रयासबाट उल्लेखनीय उपलब्धि प्राप्त भएको पाइँदैन । वित्तीय साक्षरता अल्प तथा अधुरो ज्ञानको माध्यमले लक्षित गन्तव्यमा पुग्न र पुर्याउन सकिँदैन । यसलाई अझै योजनागत रूपमा व्यवस्थित गरेर प्रभावकारिताका साथ सैद्धान्तिक ज्ञानको साथै व्यावहारिक ज्ञान वृद्धि हुने गरी वित्तीय साक्षरता वृद्धि गर्ने क्रियाकलाप अभियानका रूपमा सञ्चालन गर्न आवश्यक छ । नेपालमा वित्तीय साक्षरता वृद्धि अभियानको शुरुआत डा. हरिहरदेव पन्तले स्थापना गरेको निर्धन संस्थामार्फत भएको हो । ग्रामीण बैंकिङ पद्धतिमा लघुवित्त सेवा प्रदान गर्न तथा लघुवित्त सेवा लिन अनिवार्य सेवाशर्तका रूपमा अनिवार्य समूह प्रवेश तालिम सञ्चालन गरिन्छ । समूह प्रवेश तालिम नै वित्तीय साक्षरता वृद्धि तालिम तथा कक्षा हो । यस तालिममा समूहमा आबद्ध हुने सदस्यलाई सात दिनसम्म हरेक दिन १ घण्टाको दरले वित्तीय साक्षरताका विषयमा तालिम प्रदान गरिन्छ । तालिममा सैद्धान्तिक कक्षा मात्रै नभएर हरेक दिन अनिवार्य बचत गराएर, कर्जा, बचत, लगानी योजना, आयव्यय, बजेट, कर्जा तथा बचतको ब्याजदरलगायत सबै विषयमा उनीहरूकै गाउँटोलमा लघुवित्त संस्थाका कर्मचारीमार्फत सिकाइन्छ । तालिममा राम्ररी बुझेको/नबुझेको परीक्षण गरेर मात्रै लघुवित्त संस्थाको समूहको सदस्यता प्रदान गरिन्छ ।
तालिमपश्चात् लिइने परीक्षामा पास भएपछि मात्रै लघुवित्त संस्थाको समूह सदस्यता दिएर मात्रै लघुवित्त कारोबारका लागि योग्य बनाइन्छ तब मात्रै उनीहरूको बचत खाता खोलिन्छ, कर्जा प्रदान गर्न शुरू गरिन्छ । यसर्थ वित्तीय साक्षरता ज्ञान उत्तम धितो हो भन्न सकिन्छ । यस क्षेत्रमा पछिल्लो समयमा सृजना भएको अस्वस्थ प्रतिस्पर्धा, अनावश्यक रूपमा सेवा आपूर्ति, संस्थाहरूको उद्देश्यमा विचलनले गर्दा खर्च घटाउने प्रतिस्पर्धामा सफलता पाउन समूह प्रवेशपूर्व तालिम तथा वित्तीय साक्षरता तालिम नदिई लघुवित्त सेवा प्रवाह गर्दा हाल केही समस्या देखिएका हुन् । वित्तीय साक्षरता तालिम लिएर लघुवित्त संस्थासँग कारोबार गरेका अधिकांश विपन्नले राम्रो आर्थिक प्रगति गरेका छन् । वित्तीय साक्षरताले गर्दा अन्य बैंक वित्तीय संस्था र तिनका ग्राहकको तुलनामा विश्वासको आधारमा सञ्चालित विनाधितो कर्जा दिने लघुवित्त संस्था र ती संस्थाबाट सेवा लिएका तथा कारोबार गरेका विपन्न समूह सदस्यहरूले उल्लेखनीय सफलता प्राप्त गरेको पाइएको छ ।
कुनै पनि व्यक्तिको आर्थिक सम्पन्नताका लागि तथा सफल जीवनयापन गर्न वित्तीय साक्षर हुन आवश्यक छ । वित्तीय साक्षरता न्यून रहेको अवस्थामा जति नै स्रोतसाधन, शीप ज्ञानले भरिपूर्ण भए पनि व्यक्ति, परिवार तथा समाजकै गरीबी निवारण गर्न सकिँदैन । तसर्थ वित्तीय साक्षरता वृद्धि सर्वप्रथम हरेक तहका नेतृत्वकर्ताहरूमा गर्नुपर्छ । साथै बालबालिका तथा युवा विद्यार्र्थी वर्गमा वित्तीय साक्षरता वृद्धि हुने गरी विद्यालय पाठ्यक्रम संशोधन गर्नुपर्छ तेस्रो, कार्यान्वयन तहमा वित्तीय साक्षरता वृद्धि गर्नुपर्छ जुन अहिले गरिरहेका छौं । लघुवित्त संस्थाहरूले दिने गरेको कारोबारपूर्वको वित्तीय साक्षरता तालिमलाई अनिवार्य गराउँदै निरन्तरता दिनुपर्छ । ग्राहक वर्गलाई लक्षित गरेर हरेक वर्ष वित्तीय साक्षरता पुनर्ताजगी तालिम प्रदान गर्ने गर्नुपर्छ । वित्तीय संस्थाका साथै संघ, प्रदेश र स्थानीय तिनै तहका सरकारले आआफ्ना स्तरमा वित्तीय साक्षरता वृद्धि कार्यक्रम तर्जुुमा गरेर वित्तीय साक्षरता तथा वित्तीय अनुशासन वृद्धि गर्न आवश्यक छ । यसका साथै हरेक राजनीतिक दलहरूले आफ्ना कार्यक्रममा समेत वित्तीय साक्षरता वृद्धि गर्ने क्रियाकलापको शुरुआत गरेमा वित्तीय साक्षरता अपेक्षाअनुरूप वृद्धि हुनेछ जसबाटै देशमा दीर्घकालीन रूपमा गरीबी न्यूनीकरण, वित्तीय अनुशासन र दिगो आर्थिक विकासबाट आर्थिक समृद्धि सहजै सम्भव हुनेछ ।
लेखक लघुवित्त र लघुबीमा क्षेत्रमा लामोे अनुभव प्राप्त अधिवक्ता तथा मेलमिलापकर्ता हुन् ।