काठमाडौं । गत असोजको बाढीपहिरोबाट क्षतिग्रस्त बीपी राजमार्गको भकुन्डेबेँशीदेखि नेपालथोकसम्म पर्ने खण्डको डिजाइन परिवर्तन गरेर विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएको छ । सरकारले तयार गरेको डिजाइन तथा डीपीआरअनुसार भकुन्डेबेँशीदेखि नेपालथोकसम्मको २८ किलोमीटर सडक पुनर्निर्माण गर्न ९ अर्ब ६६ करोड रुपैयाँ लगानी आवश्यक पर्ने देखिएको हो ।
उक्त खण्डको डिजाइन परिवर्तन गरेर २ लेनको सडक बनाउने र बाढीबाट हुने क्षति न्यूनीकरण गर्ने प्रविधि अपनाउँदा भने लगानी बढी लाग्ने औंल्याइएको छ । जापान सरकारको सहयोगमा निर्माण भएको बीपी राजमार्गको साविकको भन्दा फरक तरीकाले डिजाइन तयार गरिएको छ । अहिलेको डिजाइन सडक विभागअन्तर्गतको सडक डिभिजन कार्यालय भक्तपुरले तयार पारेको हो ।
- स्कोर डेप्थ र २ लेनको सडक बनाउने गरी डिजाइन परिवर्तन
- बढीमा ३ वर्षसम्म सडक तयार गर्ने गरी डीपीआर तयार
- वर्षायामलाई सहज बनाउन अस्थायी संरचना बनाउन शुरू
संघीय राजधानी काठमाडौंलाई पूर्वी तराई र पहाडी जिल्लासँग जोड्ने यो राजमार्गको कुल दूरी १६० किलोमीटर छ । त्यसमध्ये गत असोज दोस्रो साताको बाढीका कारण क्षति भएको सडक पुनर्निर्माणको तयारीका लागि डिभिजन कार्यालयले डिजाइन तयार गरेको हो । सडक डिभिजन कार्यालय भक्तपुरका प्रमुख सुमन योगेशले जापान सरकारको सहयोगमा पहिला यो राजमार्ग बन्दाको डिजाइनमा केही परिवर्तन गरिएको जानकारी दिए ।
‘जापानले बनाउँदा पहिला इन्टरमिडियट लेन (२ लेन नपुगेको चौडाइ)को डिजाइन थियो र त्यहीअनुसार सडक बनेको हो,’ योगेशले भने, ‘अहिले हामीले भकुन्डेबेँशीदेखि नेपालथोकसम्मको २८ किलोमीटरलाई २ लेनमा विस्तार गर्ने गरी डिजाइन र अनुमानित लागत तयार गरेर स्रोत सुनिश्चितताका लागि प्रस्ताव पेश गरिसकेका छौं ।’ २ लेन कालोपत्रे सडकका लागि ९ मीटर कालोपत्रे चौडाइ हुनुपर्छ । यो राजमार्गको चौडाइ ६ मीटर छ ।
पुरानो डिजाइनअनुसार बनाइएको यो सडकमा दोहोरो गाडी निर्बाध आवतजावत गर्न पर्याप्त चौडाइ छैन । ‘पहिला बनाइएको डिजाइनमा स्कोर डेप्थ र २ लेनको सडक बनाउने थिएन,’ योगेशले भने, ‘यो थप्दा लागत बढेको छ ।’ स्कोर डेप्थको अर्थ नदीले सडक/नदी खोलाको सतहमुनि नखोतल्ने गरी पर्खाल उठाएर कालोपत्रे सडक बनाउनु हो ।
यो राजमार्ग बगरैबगर बनेको हुँदा साविकको डिजाइन परिवर्तन गरेर स्कोर डेप्थ प्रणाली अपनाउने गरी डीपीआर तयार गरिएको उनको भनाइ छ । ‘खोला र सडकको सतह जुन छ, त्यसको मुनिबाट (स्थान हेरेर २ मीटर/४ मीटर) पर्खाल उठाइनेछ । यो पर्खाल आरसीसी वा मेशिनरी पनि हुनेछ ।’ उनका अनुसार नेपालीले नै उक्त सडक बनाउनेछन् । डीपीआरअनुसार कालोपत्रे सडक निर्माण तयार गर्न करीब ३ वर्ष लाग्नेछ ।
अहिले उक्त राजमार्ग भएर सवारीसाधन आतेजाते गर्न खासै समस्या नभए पनि वर्षायाममा समस्या हुने देखिएको छ । अहिले सडक र बगरको उचाइ समान छ । अहिले उक्त सडकलाई उपयुक्त उचाइमा ल्याउने काम भइरहेको छ । खोलाले असर गर्ने स्थानमा भने तारजाली लगाइनेछ ।
पूर्वसचिव अर्जुनजंग थापाका अनुसार कोरोना महामारीअघि नै यो सबै राजमार्गलाई २ लेन बनाउने योजना अघि सारिएको थियो । ‘त्यो बेला जापान सरकारले प्राविधिक सहयोग गर्छाैं भनेको थियो, त्यो बेला जापानले ठूला टेवा पर्खाल भएका स्थानलाई छाडेर सहज हुने सडक खण्डलाई २ लेनमा विस्तार गर्न भनेको थियो,’ थापाले भने, ‘कोरोनापछि उक्त काम रोकियो । अहिले २ लेनसम्म बनाउने अवसर आएको छ ।’ राजमार्गको पहिलो खण्ड बर्दिबासदेखि सिन्धुली, दोस्रो खण्ड सिन्धुली–खुर्काेट, तेस्रो खण्ड खुर्काेटदेखि नेपालथोक र चौथो खण्ड नेपालथोकदेखि धुलिखेल पर्छ । जापानले त्यो बेला उक्त सडक बनाउँदा प्रतिकिलोमीटर २५ करोड रुपैयाँ लगानी गरेको थियो ।