कूटनीतिक सम्बन्धले धेरै अर्थ राख्छ । नेपालले आफूलाई कूटनीतिमा अब्बल ठाने पनि यथार्थमा सधैं पछाडि रहेको छ । छिमेकी मुलुकले सिल्क रोडको खाका बनाउँदा नेपाल सहभागी हुन नसक्नु, समुद्रसँग आफूलाई जोड्न नसक्नु, नेपाली उत्पादनलाई विदेशमा स्थापित गराउन नसक्नुले नेपालको कूटनीतिक अवस्थालाई स्पष्ट दर्शाउँछ । विगतमा राजाले जुन तरीकाले अन्तरराष्ट्रिय सम्बन्ध स्थापना गरेका थिए, जुन स्तरमा कूटनीति स्थापना गरेका थिए, त्यो अहिले पक्कै छैन ।
कूटनीतिमा नेपालले लोकतन्त्रपश्चात् कुनै पनि मुलुकबाट उल्लेखनीय लाभ लिन सकेको देखिँदैन । कुनै पनि अन्य मुलुकमा रहेको नेपाली राजदूतावासको क्षमता र कार्य क्षमताले उक्त विषय पुष्टि गरी नै रहेको छ । १६५ ओटा मुलुकसँग कूटनीतिक सम्बन्ध स्थापना गरेको नेपालले आफ्नो कूटनीतिक इतिहास बेलायतसँगको सम्बन्ध सन् १८१६ बाट शुरू गरेको थियो । नेपालले स्थपना गरेको द्विपक्षीय सम्बन्धबाट नेपालले सिकाइ र उपलब्धिबाट कुनै प्रकारको लाभ लिन सकेको छैन । व्यापार, रोजगारी, अध्ययन र बसोवासको लागि फराकिलो दायरा निर्माण गर्न नसकेको पक्षलाई बेवास्ता गर्न मिल्दैन ।
कतारका राजा शेख तामिम बिन हमाद अल थानीले हालै गरेको नेपाल भ्रमण नेपालका लागि एउटा सुवर्ण अवसर थियो । नेपालले सार्वजनिक विदा दिएर उक्त भ्रमणलाई विशेष बनाउने राम्रो प्रयत्न गरेकै भन्नुपर्छ । राष्ट्रपतिले प्रदान गरेको सम्मान, सरकारले दिएको प्राथमिकताहरूलाई दृष्टिगत गर्ने हो भने उक्त भ्रमणलाई महत्त्व दिएको थियो भन्न सकिन्छ ।
हाम्रो कूटनीतिक अवस्था, स्तर र क्षमतालाई मूल्यांकन गरेर नेपालले आगामी दिनमा थप क्षमतायुक्त जनशक्तिको प्रयोग गरी गृहकार्य गर्न सक्नुपर्छ । यसो भएमा मात्रै आगामी दिनमा नेपाललाई कूटनीतिमार्फत फाइदा होला ।
उक्त भ्रमणबाट नेपालले संस्कृतिक, पर्यटनलगायत विषयमा सांस्कृतिक सहकार्य गर्ने, सञ्चार क्षेत्रमा सहकार्यको सहमति, उच्च शिक्षामा, खेलकुदमा, महान्यायाधिवक्ता कार्यालयका सहकार्यबीचको सहमति भएकै हो । त्यसै गरी यहाँको परराष्ट्र अध्ययन प्रतिष्ठान र कतार सरकारको विदेश मन्त्रालयबीच कूटनीतिक तालीम तथा शिक्षाको क्षेत्रमा सहकार्य र समझदारी गरेकै हो । साझा व्यापारिक परिषद् स्थापनादेखि चेम्बरको समझदारी पत्रको नवीकरणलगायत सम्झौता भएकै हो । तर, कतारसँग नेपालले गर्नुपर्ने सहकार्य शायद कम नै थियो । चार लाखभन्दा बढी नेपाली कतारमा रही आएकाले यो भ्रमण महत्त्वपूर्ण नै हुन जान्छ । ८० हजार डलरभन्दा धेरै प्रतिव्यक्ति आय भएको कतार सानो भए पनि आर्थिक रूपमा सबल मुलुक हो । लगानी सम्मेलनको पूर्वसन्ध्यामा भएको यस भ्रमणबारे जानकारी पाउँदा नेपालले कतारको राजासँग के विषयमा सम्झौता गर्ने भन्नेबारे ठोस कार्यनीति तयार पार्ने अक्षम रहेको बुझिन्छ । कुनै प्रकारको निश्चित काममा प्रतिबद्धता नभएकाले भेटको समयमा भएको सम्झौता ‘केही गरौंला’ भन्ने आशयको मात्र देखियो । नेपाल पक्ष पक्कै पनि तयार थिएन । नेपालको कुनै निश्चित क्षेत्रमा लगानी गर्ने ठोस योजना लिएर नेपाल अगाडि बढ्न सक्नुपथ्र्यो । तर, नेपाल पक्ष तयार नभएकाले कुनै निश्चित कदमको अपेक्षा यस भेटपश्चात् होला भनेर राख्न सकिँदैन । यस कारण यस भेटको समयमा नेपाल धेरै ठाउँमा चुकेको बुझ्न सकिन्छ ।
विपिन जोशीका बारेमा छलफल भएको बुझियो, तर कतारी अमिर नेपाल आउँदा उक्त छलफल राजनीतिक आकर्षणका लागि मात्र भएको भनी बुझ्दा फरक नपर्ला । वास्तवमै नेपाली नेतृत्वलाई त्यसबारे चासो हुने थियो भने शायद त्यहाँ उक्त विषयमा महत्त्वपूर्ण छलफल र योजना प्रस्तुत हुने थियो । चार लाखभन्दा बढी नेपाली जनसंख्या रहेको कतारमा उक्त मुलुककै राजा नेपाल आउँदा नेपाली जनशक्तिको आवाज केही हदसम्म भए पनि राख्नुपथ्र्यो । उनीहरूको हकहितदेखि न्यूनतम ज्यालाको बारेमा, उनीहरूको सेवासुविधादेखि कार्यक्षेत्रमा सुरक्षा, बीमालगायतका बारेमा छलफल हुन आवश्यक थियो । तर, यी विषयले कुनै स्थान पाएन । यसले प्रत्यक्ष रूपमै कतारमा रहेको नेपाली युवा समुदायलाई अवहेलना गरिएको भनी बुझ्न सकिन्छ । नेपाली नेतृत्वलाई विदेशमा बसेर नेपालको अर्थतन्त्रमा विप्रेषणमार्फत पुर्याएको योगदानको सम्मान स्वरूप भए पनि त्यहाँ बसोवास गर्ने युवाका बारेमा कार्ययोजना र उनीहरूको हितबारे बहस आवश्यक थियो ।
कतारले विगत केही वर्षदेखि शिक्षा र अनुसन्धानमा धेरै लगानी गरेको छ । नेपाल जस्तो मुलुकले कतारसँग उक्त क्षेत्रमा सहकार्य गर्न पाउनु ठूलो अवसर हो । त्यस विषयमा ठोस कार्ययोजना लिएर फाइदा लिन सक्नुपर्ने थियो । कतारले आफ्नो कुल गार्हस्थ्य उत्पादनको २ दशमलव ८ प्रतिशत रकम अनुसन्धानमा खर्च गर्ने योजना बनाई रहँदा त्यहाँ नेपालले आफ्नो सहभागिता सुनिश्चित गर्न सकेको भए पनि ठूलो उपलब्धि हुने थियो । कतारका व्यापारीलाई नेपालको जलविद्युत्, पर्यटनलगायत क्षेत्रका बारे ज्ञान प्रवाह गर्ने अवसर खोजी लगानी गर्न आकर्षित गर्न सक्नुपर्ने थियो । विश्व कपजस्तो ठूलो कार्यक्रम आयोजना गर्न सक्ने कतार अहिले विश्वकै महत्त्वपूर्ण मुलुक बनिसकेको छ । कतारसँग नेपालले इन्धनसम्बन्धी सम्झौता गर्न सक्नुपथ्र्यो ।
नेपाल आउनुअघि बंगलादेश गएका राजा शेख तामिम बिन हमाद अल थानीको भ्रमणमा बंगलादेशमा १० महत्त्वपूर्ण बुँदामा सम्झौता र सहमति भए । नेपालभन्दा पृथक् सम्झौताहरू भएको देखियो । द्विपक्षीय करदेखि कानूनी प्रावधान सहज बनाउनेसम्मका विषय परे । बंगलादेशसँग त्यहाँको ‘स्पेसल इकोनोमिक जोन’मा लगानी गर्ने बहस हुँदा नेपालमा कुनै प्रकारको विषयसमेत उठाउन नसक्नु नेपाली कूटनीतिमा गृहकार्यको अभाव भनी बुझ्न सकिन्छ । करीब नेपालकै जति जनसंख्या बंगलादेशी नागरिकको पनि कतारमा रहेको छ ।
नेपालले आफ्नो कूटनीतिक सम्बन्ध सुधार गर्न धेरै प्रयत्न गर्नु पर्नेछ । सरकारको नेतृत्वमा जुनसुकै पार्टी आए पनि परराष्ट्र नीति एउटै हुनुपर्छ । एकीकृत अभ्यासले मात्र नेपालले कूटनीतिक सफलता प्राप्त गर्न सम्भव हुन्छ । कतार मात्र नभएर नेपालले आफ्नो उपस्थिति सबै कूटनीतिक मुलुकहरूसँग राख्न आवश्यक छ । कूटनीतिक माध्यमबाट यहाँ रहेको राजदूतावाशहरूलाई प्राथमिकता दिनेदेखि विदेशमा रहेको राजदूतावासलाई सक्रिय बनाउन आवश्यक छ । नेपाल विकासोन्मुख मुलुक हो, आफै तल परेर भए पनि सम्बन्ध स्थापना गर्न सके नेपालको समग्र विकासमा सहयोग पुग्ने थियो ।
विगतमा पनि चीनका राष्ट्रपति आउँदा होस् या भारतीय प्रधानमन्त्री आउँदा होस्, ठूलो तामझाम भयो, तर नेपालले कुनै प्रकारको उपलब्धि हात पार्न सकेको थिएन । कतारका राजा नेपाल आएर फर्किए, सोही परम्परालाई अनुमान गर्ने हो भने पनि नेपालले कुनै प्रकारको ठोस उपलब्धि यो भ्रमणबाट हात पार्न सक्ने छैन । तर, हाम्रो कूटनीतिक अवस्था, स्तर र क्षमतालाई मूल्यांकन गरेर नेपालले आगामी दिनमा थप क्षमतायुक्त जनशक्तिको प्रयोग गरी गृहकार्य गर्न सक्नुपर्छ । यसो भएमा मात्रै आगामी दिनमा नेपाललाई कूटनीतिमार्फत फाइदा होला । अहिलेको विश्वव्यापीकरणको युगलाई हेर्ने हो भने सबै मुलुकको आ–आफ्नो विशेषता रहेको छ । सबै मुलुकको सकारात्मक पक्षलाई मूल्यांकन गरी दुईतर्फ हित हेर्न सक्नु नै असल कूटनीति हो । आफ्नो कमजोरी अर्काको बलियो पक्षले ढाक्न सहयोग गर्ने कूटनीतिलाई आगामी दिनमा नेपालले उच्च प्राथमिकतामा राख्न आवश्यक छ ।
रेग्मी बैंकर हुन् ।