काठमाडौं । यमपञ्चकको तेस्रो दिन आज इमान्दारीपूर्वक घरको सुरक्षामा खटिने कुकुरको पूजा गरी मिठो खानेकुरा खान दिएर मनाइएको छ ।
कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरी मिठो खान दिएमा यमलोकको यात्रा गर्दा यमराजको पहरेदारका रूपमा मूलढोकामा बस्ने श्याम र सबल नाम गरेका कुकुरले सहजरूपमा बाटो छोडिदिने धार्मिक विश्वास रहेकाले आज कुकुरको पूजा गरी मिठो खान दिने परम्परा रहेको धर्मशास्त्रविद् प्रा. डा. रामचन्द्र गौतमले बताए ।
घरमा कुकुर पाल्नाले मुटु र मधुमेहजस्ता रोग नलाग्ने आधुनिक वैज्ञानिक मान्यता छ । वैवस्वत मन्वन्तर कुलमा जन्मिएको कुकुर अहिले लोकप्रिय घरपालुवा जनावरका रूपमा स्थापित भएको छ ।
तिथिको घटबढका कारण धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गर्ने पर्व पनि आजै परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीले जानकारी दिए । आजै साँझ दीपावली गरी लक्ष्मी पूजाको तयारी भइरहेको छ ।
तिहार यस वर्ष मङ्गलवारबाट शुरु भएको हो । यमपञ्चकको पहिलो दिन मङ्गलवार नयाँ भाँडा किनी घरमा ल्याई राखेर धनतेरस पर्व मनाइएको थियो । दोस्रो दिन बुधवार सन्देशवाहकका रूपमा कागको पूजासहित मिठा खानेकुरा खान दिई मनाइएको छ । आयुर्वेदका प्रवर्तक धनवन्तरी जयन्ती पनि यसै दिन मनाइएको थियो । सोही दिनको साँझदेखि यम दीपदान पनि शुरु भएको छ ।
कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म पाँच दिन देशभर तिहार अर्थात् यमपञ्चक पर्व मनाइन्छ । चौथो दिन शुक्रवार यस वर्ष तिहारका कुनै पर्व परेको छैन । पाँचौं दिन शनिवार गाई पूजा गरिँदै छ । यसै दिन गोवर्द्धन पूजा, हलितिहार, बलिपूजा, गोरुपूजा पर्व पनि परेको समितिले जनाएको छ ।
तिथिले पाँचौं परेपनि दिनअनुसार छैटौं दिन कात्तिक १८ गते दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि तिहार समापन हुन्छ । भाइटीकाको साइत ११ः३७ बजे उत्तम रहेको पनि अध्यक्ष अधिकारीले जानकारी दिए । रासस