काठमाडौं । कुल गार्हस्थ्य उत्पादन आधारभूत मूल्यमा अघिल्लो आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमासिकको तुलनामा चालु आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासिकमा २.१ प्रतिशतले वृद्धि हुने प्रारम्भिक अनुमान गरिएको छ । यद्यिप यो अघिल्लो आर्थिक वष २०७९÷८० को चौथो त्रैमासिकको तुलनामा कम वृद्धिदर हो । सो त्रैमासमा ३ दशमलव ७ प्रतिशतको वृद्धिदर थियो ।
राष्ट्रिय तथ्यांक विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार (मौसमी प्रभाव समायोजन नगरिएको) यो त्रैमासिकमा अर्थतन्त्रको धनात्मक वृद्धि हुनुमा कृषि उत्पादनमा भएको वृद्धि तथा पर्यटन आगमनमा भएको वृद्धिसँगै होटल क्षेत्रको कुल मूल्य अभिवृद्धिमा भएको बढोत्तरी प्रमुख कारक रहेका छन् ।
यसका अतिरिक्त व्यापार क्षेत्रमा भएको वृद्धि, यातायातमा भएको वृद्धि, सार्वजनिक प्रशासनका क्षेत्रमा भएको वृद्धिले समग्र अर्थतन्त्र सकारात्मक वृद्धि तर्फ उन्मुख रहेको हो प्रतिवेदनमा उल्लेख छ ।
मौसमी प्रभाव समायोजित त्रैमासिक कुल गार्हस्थ उत्पादन आधारभूत मूल्यमा चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमासिकको तुलनामा चालु आर्थिक वर्ष २०८०/८१ को चौथो अवधिमा १.० प्रतिशतले वृद्धि हुने प्रारम्भिक अनुमान छ ।
चालु आ.व. को तेस्रो त्रैमासिकको तुलनामा चौथो त्रैमासिकमा कुल १८ ओटामध्ये १६ ओटा औद्योगिक क्षेत्रहरूमा भएको सामान्य वृद्धिको प्रभावले समग्र कुल गार्हस्थ्य उत्पादनमा पनि सामान्य वृद्धि देखिएको हो ।