काठमाडौं। विदेशी लगानीका लागि खुला गरिएकामध्ये पर्यटन क्षेत्रमा लगानीकर्ताको आकर्षण बढी देखिएको छ ।
चालू आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासमा उद्योग विभागमै उपस्थित भएर लगानी स्वीकृति गराएका १३१ विदेशी लगानीका उद्योगमध्ये ९३ ओटा पर्यटन क्षेत्रसँग सम्बन्धित छन् । यो लगानी स्वीकृत गराएका विदेशी लगानीका कुल उद्योगको ७१ प्रतिशत हुन्छ ।
गत आर्थिक वर्षको पहिलो त्रैमासमा पनि उद्योग विभागबाट लगानी स्वीकृत गराएका परियोजनामध्ये ४७ प्रतिशत पर्यटन क्षेत्रसँग सम्बन्धित थिए । स्वचालित मार्ग (अटेमेटिक रुट) बाट ७३ ओटा विदेशी लगानीका उद्योगको लगानी स्वीकृत भएको छ । तीमध्ये ९ ओटा पर्यटन क्षेत्रसँग सम्बन्धित छन् ।
अचेल विभागले दुई तरिकाबाट विदेशी लगानी स्वीकृत गर्छ । लगानीकर्ताले स्वचालित मार्गबाट र साविक जस्तै भौतिक रूपमा विभागमै उपस्थित भएर लगानी तथा परियोजना स्वीकृत गराउँछन् । स्वचालित मार्गबाट लगानी स्वीकृत गराउँदा विभागले सञ्चालन गरेको विद्युतीय प्रणालीबाट गर्न मिल्छ । यसको लागि विभाग धाइराख्नु पर्दैन । गत वैशाखमा सम्पन्न लगानी सम्मेलनबाट यो प्रणाली सञ्चालनमा ल्याइएको हो ।
विभागका अनुसार साविकको प्रणालीबाट चालू आर्थिक वर्षको पहिलो त्रैमासमा १५ अर्ब ४२ करोड रुपैयाँ लगानी प्रतिबद्धता नेपालले प्राप्त गरेको छ । स्वचालित प्रणालीबाट असोज मसान्तसम्ममा १ अर्ब १ करोड रुपैयाँको विदेशी लगानी स्वीकृत भएको छ ।
साविकको प्रणालीबाट विदेशी लगानी स्वीकृत गराउनेमा पर्यटनपछि सबैभन्दा धेरै उद्योग सेवा क्षेत्रसँग सम्बन्धित छन् । सेवा क्षेत्रका १८ ओटा (१४ प्रतिशत) उद्योग विभागमा दर्ता भए । त्यसपछि क्रमश: म्यानुफ्याक्चरिङ ९ प्रतिशत, सूचना प्रविधि ४ प्रतिशत, खानी १ प्रतिशत र कृषि क्षेत्रका १ प्रतिशत उद्योग दर्ता भएका छन् । विभागमा न्यूनतम साढे २ करोड रुपैयाँदेखि अधिकतम ६ अर्ब रुपैयाँसम्म लगानीका उद्योग दर्ता हुन्छन् ।
विभागले विदेशी लगानी स्वीकृतिको दुवै प्रणालीबाट २०४ ओटा औद्योगिक परियोजना स्वीकृत गर्दा १६ अर्ब ४० करोड रुपैयाँ विदेशी लगानी प्रतिबद्धता प्राप्त भएको छ । गत आर्थिक वर्षमा यस्तो लगानी प्रतिबद्धता रकम १६ अर्ब ६० करोड रुपैयाँ थियो । विभागले गत आर्थिक वर्षको सो अवधिमा १५१ ओटा परियोजनाको विदेशी लगानी स्वीकृत गरेको थियो । विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्षको पहिलो त्रैमासमा स्वचालित मार्गबाट सूचना प्रविधि क्षेत्रका परियोजना बढी आएका छन् । स्वचालित मार्गबाट स्वीकृत ७३ परियोजनामा ५५ ओटा सूचना प्रविधिसँग सम्बन्धित छन् ।