काठमाडौं । चालु आर्थिक वर्ष (आव)को पहिलो त्रैमासमा कुल प्रत्यक्ष वैदेशिक लगानी प्रतिवद्धतामा कमी आएको उद्योग विभागको तथ्यांकले देखाएको छ ।
पहिलो त्रैमासिकसम्म १६ अर्ब ४४ करोड १३ लाख १६ हजार रुपैयाँ बराबरको कुल प्रत्यक्ष वैदेशिक लगानी प्रतिवद्धता आएको छ । गत वर्षको सोही अवधिमा १६ अर्ब ६० करोड ४३ लाख ३ हजार रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको थियो । यो गत वर्षको सोही अवधिको तुलनामा १८ करोड ८८ लाख रुपैयाँले कमी हो ।
यसवर्ष स्वचालित प्रणालीमार्फत १ अर्ब १ करोड ३५ लाख ६० हजार २०० रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको छ । नियमित प्रणालीबाट १५ अर्ब ४२ करोड ७७ लाख ५६ हजार ४०० रुपैयाँको लगानी प्रतिबद्धता आएको छ ।
यो अवधिमा स्वचालित प्रणालीबाट ७३ ओटा लगानी प्रस्ताव स्वीकृत भएका छन् भने नियमित प्रणालीबाट १३१ प्रस्ताव स्वीकृत भएका छन् । गत वर्षको सोही अवधिमा १५१ ओटा लगानी प्रस्ताव स्वीकृत भएका थिए ।
सरकारले गत वैशाख १६ र १७ गते सम्पन्न तेस्रो लगानी सम्मेलनमा स्वचालित मार्ग (अटोमेटिक रूट) औपचारिक रूपमा कार्यान्वयनमा ल्याएको हो ।
प्रत्यक्ष वैदेशिक लगानी प्रतिवद्धता आएका मुख्य क्षेत्रहरूमा उत्पादन, ऊर्जा, कृषि, सेवा, पूर्वाधार र सूचना प्रविधिमुलक छन् । पहिलो त्रैमासमा स्वचालित प्रणालीबाट ऊर्जा र कृषिमा कुनै पनि प्रस्ताव आएको छैन ।