काठमाडौं । कुमारी क्यापिटल लिमिटेडको व्यवस्थापनमा सञ्चालित कुमारी धनबृद्धि योजनाले चैत मसान्तसम्म २ करोड ८३ लाख रूपैयाँभन्दा बढी नाफा गरेको छ । यस योजनाको नाफा फागुन मसान्तसम्मको तुलनामा भने घटेको हो । फागुन मसान्तसम्म योजनाको नाफा ५ करोड ३९ लाख रूपैयाँभन्दा बढी रहेको थियो ।
फागुन मसान्तसम्म ६ करोड ९६ लाख रूपैयाँभन्दा बढी आम्दानी गरेको योजनाले चैत मसान्तसम्म ४ करोड ५९ लाख रूपैयाँभन्दा बढी आम्दानी गरेको हो । चैतमा योजनाको आम्दानी कम र खर्च बढी हुँदा नाफामा असर परेको देखिन्छ । खर्च भने फागुन मसान्तसम्म १ करोड ५७ लाख रूपैयाँभन्दा बढी भएकोमा चैत मसान्तसम्म १ करोड ७६ लाख रूपैयाँभन्दा बढी भएको हो । १० वर्षे अवधिको बन्दमुखी प्रकृतिको यस योजनाले १२ करोड २५ लाख ७ हजार २५९ इकाई जारी गरेको थियो ।
चैत मसान्तसम्म योजनाको प्रतिइकाई खुद सम्पत्ति मूल्य १० रूपैयाँ ७५ पैसा रहेको छ । यो मूल्य फागुन मसान्तसम्म १० रूपैयाँ ९६ पैसा रहेको थियो । योजनाको खुद सम्पत्ति फागुन मसान्तसम्म १ अर्ब ३४ करोड रूपैयाँभन्दा बढी रहेकोमा चैत मसान्तसम्म १ अर्ब ३१ करोड रूपैयाँभन्दा बढी मात्र कायम भएको हो ।
धितोपत्रमा लगानी गर्ने प्रमुख उदेश्य सहित सञ्चालित यस योजनाले चैत मसान्तसम्म धितोपत्र र मुद्दति निक्षेपमा गरेको लगानीको परलमूल्य धितोपत्र दलाल कमिसन सहित १ अर्ब १८ करोड ९० लाख रूपैयाँभन्दा बढी रहेको छ । योजनाले यी क्षेत्रमा गरेको लगानीको बजारमूल्य भने चैत मसान्तसम्म १ अर्ब २० करोड ९० लाख रूपैयाँभन्दा बढी कायम भएको छ । परलमूल्यको तुलनामा बजारमूल्य बढीनै रहेको छ । बैंक मुद्दति निक्षेपमा योजनाले १८ करोड रूपैयाँ लगानी गरेको छ ।