काठमाडौं । लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न सुपरमाई हाइड्रोपावरले यही मङ्सिर २८ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा काठमाडौंको नक्सालस्थित लिसरा रिसेप्सन प्रालिमा अपराह्न ४ बजे शुरु हुनेछ ।
सभामा कम्पनीले गत वर्षको नाफाबाट शेयरधनीलाई ७ प्रतिशत बोनस शेयर र ५ दशमलव ६ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
त्यस्तै, सभामा आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सानलगायतका विषयमा छलफल हुनेछ । त्यसैगरी, आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभाबाट पारित गर्नेछ ।
साधारण सभा प्रयोजनको लागि कम्पनीले मङ्सिर १७ गते बुक क्लोज गर्ने भएको छ । यस बुक क्लोजको आधारमा मङ्सिर १६ गतेसम्म कायम शेयरधनीले मात्र लाभांश प्राप्त गर्न र सभामा सहभागिता जनाउन सक्नेछन् ।