काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले माघ २१ गतेदेखि फागुन ५ गतेसम्म विक्री गरेको अवितरित हकप्रद शेयर फागुन १५ गते बाँडफाँट गरेको छ ।
कम्पनीले यस अघि मंसिर १२ गतेदेखि पुस १७ गतेसम्म ८८ दशमलव ४५१६८ प्रतिशत हकप्रद शेयर निष्कासन गर्दा वितरण नभएको ४ लाख ९२ हजार ५७७ कित्ता हकप्रद शेयर लिलामीमा विक्री गरेको हो । प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा लिलामीमा ल्याइएको यी शेयरको कटअफ मूल्य प्रतिकित्ता १ हजार २२ रुपैयाँ कायम भई बाँडफाँट गरिएको हो ।
बाँडफाँटमा नपरेको शेयर वापत्को रकम फागुन १९ गते सोमवारदेखि आवेदकहरुको बैंक खातामै रकमान्तर गरिने जानकारी विक्री प्रबन्धकले दिएको छ । कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ ।
कम्पनीले २ अर्ब ३४ करोड ६८ लाख रुपैयाँ बराबरको २ करोड ३४ लाख ६८ हजार कित्ता हकप्रद शेयर विक्री कार्य सम्पन्न गरेको हो । २ अर्ब ६५ करोड ३२ लाख रुपैयाँ चुक्तापूँजीको आधारमा विक्री भएको हकप्रद पछि कम्पनीको चुक्ता पूँजी ५ अर्ब रुपैयाँ कायम भएको छ ।