काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले माघ २१ देखि फागुन ५ गतेसम्म विक्री गरेको अवितरित हकप्रद शेयर पुनः बाँडफाँट गरेको छ ।
यसअघि फागुन १५ गते प्रतिकित्ता १ हजार २२ रुपैयाँ कटअफ मूल्य कायम भई बाँडफाँट गरिएकोमा नियामक निकायबाट निर्देशन भएबमोजिम फागुन २१ गते पुनः बाँडफाँट गरिएको जानकारी कम्पनीले दिएको हो ।
कम्पनीका अनुसार पुनः बाँडफाँट गर्दा कम्पनीको लिलामी शेयरको कटअफ मूल्य ९६१ रुपैयाँ ५० पैसा कायम भएको छ । कम्पनीले यसअघि मंसिर १२ देखि पुस १७ गतेसम्म ८८ दशमलव ४५१६८ प्रतिशत हकप्रद शेयर निष्कासन गर्दा वितरण नभएको ४ लाख ९२ हजार ५७७ कित्ता हकप्रद शेयर लिलामीमा विक्री गरेको हो ।
बाँडफाँटमा नपरेको शेयरबापत्को रकम फिर्ता भुक्तानी गर्ने कार्य समेत शुरु भैसकेको जानकारी कम्पनीले दिएको छ ।
कम्पनीले २ अर्ब ३४ करोड ६८ लाख रुपैयाँ बराबरको २ करोड ३४ लाख ६८ हजार कित्ता हकप्रद शेयर विक्री कार्य सम्पन्न गरेको हो । २ अर्ब ६५ करोड ३२ लाख रुपैयाँ चुक्तापूँजीको आधारमा विक्री भएको हकप्रदपछि कम्पनीको चुक्तापूँजी ५ अर्ब रुपैयाँ कायम भएको छ ।