logo
लाइफ इन्स्योरेन्स कर्पोरेशनले भोलिदेखि ५ लाख कित्ता अवितरित हकप्रद शेयर विक्री गर्दै
लाइफ इन्स्योरेन्स कर्पोरेशनले भोलिदेखि ५ लाख कित्ता अवितरित हकप्रद शेयर विक्री गर्दै

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले सोमवार (भोलि)देखि अवितरित हकप्रद शेयर लिलामीमा ल्याउने भएको छ । 

कम्पनीले मंसिर १२ देखि पुस १७ गतेसम्म ८८ दशमलव ४५१६८ प्रतिशत हकप्रद शेयर निष्कासन गर्दा वितरण नभएको ४ लाख ९२ हजार ५७७ कित्ता हकप्रद शेयर लिलामीमा ल्याउने भएको हो । 

सर्वसाधारणतर्फको यी शेयर फागुन ५ गतेसम्म लिलामीमा रहनेछ । प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा विक्रीमा आएको यी शेयर खरीदका लागि तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्दै आवेदन दिनुपर्नेछ । 

कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा २ अर्ब ३४ करोड ६८ लाख रुपैयाँ बराबरको २ करोड ३४ लाख ६८ हजार कित्ता हकप्रद शेयर निष्कासनमा ल्याएको थियो । पहिलो चरणमा उल्लेखित कित्ता शेयर भने वितरण नभएको हो । 

यी शेयर विक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै लाइफ इन्स्योरेन्स कर्पोरेशनको केन्द्रीय कार्यालय पुतलीसडक, काठमाडौं, शाखा कार्यालयहरू वीरगञ्ज, विराटनगर, नेपालगञ्ज, पोखरा, बुटवल, सुर्खेत र धनगढीबाट आवेदन प्राप्त गर्न र पेश गर्न सकिनेछ । 

हाल कम्पनीको चुक्तापूँजी २ अर्ब ६५ करोड ३२ लाख रुपैयाँ रहेको छ । सम्पूर्ण कित्ता हकप्रद शेयर बाँडफाँट पश्चात् कम्पनीको चुक्तापूँजी ५ अर्ब रुपैयाँ कायम हुनेछ । 

प्रतिक्रियाहरू

टिप्पणीहरू थप्न कृपया लगइन गर्नुहोस्। लगइन

Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.