logo
लाइटरमा लफडा : उच्च अदालतले माग्यो सुक्खा बन्दरगाह भन्सारसँग कारण
लाइटरमा लफडा : उच्च अदालतले माग्यो सुक्खा  बन्दरगाह भन्सारसँग कारण

वीरगञ्ज। चीनबाट आयातित लाइटर जाँचपासमा वीरगञ्ज सुक्खा बन्दरगाह भन्सारले कानून मिचेको भन्दै आयातकर्ता अदालतमा पुगेका छन् । मोर इन्टरप्राइजेजका सञ्चालक गौरव मोरले बन्दरगाह भन्सार र भन्सार प्रमुख रामप्रसाद मैनालीविरुद्ध उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जमा मुद्दा हालेका हुन् । 

उच्च अदालतले आइतवार भन्सार कार्यालय र भन्सार प्रमुखलाई कारण देखाउन आदेश जारी गरेको छ । न्यायाधीश दीपेन्द्रबहादुर बमको एकल इजलासले भन्सारलाई १५ दिनभित्र सरकारी वकिल कार्यालयमार्फत लिखित कारण पेश गर्न आदेश दिएको हो । 

बिल मूल्यलाई मान्यता नदिएको र कानूनले दिएको धरौटीमा छुटाउन पाउने अधिकारबाट समेत वञ्चित गरिएको भन्दै मोरले यस्तो निर्णय खारेजीको माग गर्दै मुद्दा हालेका हुन् । भन्सारले कानूनी प्रावधान र अभ्यास मिचेर लाइटरको मूल्यांकनमा मनपरी गरेको भन्दै मोरले बढी असुल भएको महशुल फिर्ताको आदेश माग गरेका छन् । 

भन्सार विभागले गत मङ्सिर १५ गते मातहतका भन्सारलाई पत्र लेखेर लाइटरको मूल्यांकन प्रतिकार्टोन ४० अमेरिकी डलरलाई बढाएर ६० डलर बनाउन निर्देशन दिएपछि लफडा बढेको हो । 

विगतमा यस्तो निर्णय आउनुअघिको सिपमेन्टमा पुरानै मूल्य कायम हुने गरेकोमा यसपटक भन्सारले निर्णय भएकै दिनदेखि नयाँ मूल्यांकनमा जाँचपास गराएर जरीवानासमेत लिएको थियो । 

प्रतिक्रियाहरू

टिप्पणीहरू थप्न कृपया लगइन गर्नुहोस्। लगइन

Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2024 New Business Age Ltd. All rights reserved.