मानव जीवनमा उसको प्राणको अतिरिक्त सबैभन्दा प्यारो सन्तान, महत्त्वपूर्ण ख्याति र अनिवार्य कमाइ हो । सम्पत्ति, इज्जत, ख्याति आदि सबैलाई कमाइ मानिए पनि तरल सम्पत्तिलाई सबैभन्दा महत्त्वपूर्ण कमाइ मानिन्छ । जुनसुकै कमाइको मुख्य आधार लगानी हो । तर, लगानीले नियमित रूपमा कमाइ दिन सक्दैन । उचित ठाउँमा गरिएको लगानी र त्यसको अभिवृद्धिका लागि गरिने निरन्तर प्रयासले मात्र उचित र नियमित कमाइ दिन सक्छ । त्यसैले लगानी गर्नुपूर्व विशेष ध्यान पुर्याउनुपर्छ । सबै कुराको विश्लेषण गर्नुपर्छ र लगानीपछि पनि निरन्तर त्यसमा निगरानी गर्न सक्नुपर्छ । शुरूमा विश्लेषण गरिएन भने त्यसले उचित तरिकाले लक्ष्यभेदन गर्न सक्दैन । काम चलिरहँदा विश्लेषण गरिएन भने पनि त्यसले उचित गति लिन सक्दैन ।
लगानीका विभिन्न क्षेत्र छन् । जस्तै : उद्योगधन्दा, कलकारखाना, सेवामूलक व्यवसाय, स्टार्टअप, उद्यम, शेयरबजार आदि । यीमध्ये जुनमा लगानी गरे पनि यसको उचित रेखदेख, उचित व्यवस्थापन र निरन्तर सुधारका लागि प्रयासरत रहेर मात्र सफलता पाउन सम्भव हुन्छ । कुनै पनि लगानीमा कमाइ हुनका लागि आन्तरिक तथा बाह्य वातावरणको संयोजन मिल्नैपर्छ । यसमा कुनै सन्देह रहेन । तर, एउटै वातावरणमा एउटै काममा लगानी गरेका व्यक्तिहरू पनि ५ वर्षको अन्तरालमा कोही धनी बन्छन् भने अर्को सडकमा पुगेका हुन्छन्, किन ? यो लेखक २ संस्थाको स्थापनाको साक्षी छ । विसं २०६० तिर कपनमा रिलायन्स कलेज स्थापना भयो जहाँ अहिले ५ हजार विद्यार्थी र ६०० कर्मचारीले काम गर्छन् । ठीक त्यति नै बेला खुलेको त्यस्तै प्रकृतिको अर्को कलेजको अहिले नामोनिशान छैन (नाम नलेखौं) । बाह्य वातावरण दुवै संस्थाका लागि एउटै भए पनि आन्तरिक व्यवस्थापनको उतारचढावले कसैलाई उचाइमा लैजान्छ भने कसैलाई पछाडि पारिदिन्छ । हामीमा प्राय: बाह्य वातावरणलाई दोष दिने, नेता र राजनीतिलाई दोष दिने चलन छ । वास्तवमा सफलता वा असफलताको मुख्यविन्दु आन्तरिक वातावरणबाट सृजित हुन्छ । बाह्य वातावरण सफलता वा असफतामा निर्णायक छँदै छैन भन्न खोजिएको होइन तर कमजोरी हामीभित्र पनि छ । त्यसैले सुधार्नुपर्छ, सचेत हुनुपर्छ ।
शेयरबजारमा पनि लगानी गरेर प्रशस्त धन आर्जन गर्न सकिन्छ । विडम्बना त्यतिकै गुम्न पनि सकिन्छ । एउटै कम्पनीमा लगानी गरेर कसैले मनग्गे कमाउँछ र कोही त्यसै कम्पनीबाट डुब्छ भने लगानीकर्ताको आन्तरिक विश्लेषण क्षमताको अभाव हो । यसमा बाह्य वातावरणलाई दोष दिन पाइँदैन । पक्कै पनि व्यवसाय बाह्य वतावरणको पासोमा हुन्छ । अवसर वा चुनौती बृहत् वातावरणले सृजना गर्छ । सफल नाविकले हुरी र बतासका बीचमा डुंगालाई पार लगाउन सक्छ भने सही समयमा सही निर्णय नगर्नेले जहाज डुबाउँछ । शेयरबजारमा गरेको लगानीले राम्रो प्रतिफल दिन जुन कम्पनीको शेयरमा लगानी गरेका हुन्छांै त्यसको वित्तीय अवस्था स्वच्छ र प्रगति उन्मुख हुनुपर्छ । कम्पनीको सबै सूचक हेरेर लगानी गर्नुपर्छ । मूल्य आम्दानी अनुपात, प्रतिशेयर आम्दानी, निष्क्रिय सम्पत्तिको विश्लेषण गरेर लगानी गरे तापनि एकपटकको सही निर्णयले व्यवसायमा निरन्तर लाभ दिन सक्दैन । त्यसैले बजारमा लगानी गर्नेले उपयुक्त समयमा शेयर बेच्ने र अर्को कम्पनीको किन्ने क्षमता राख्नुपर्छ ।
कम्पनी छनोट गर्दाको सतर्कताले नै मानिसलाई बजारमा सक्षम लगानीकर्ता बनाउँछ । यदि राम्रो कम्पनी छनोट गरिएन भने त्यसले बजारमा हरियाली हुँदाहुदै पनि आफ्नो चाहिँ कम्पनीको अवस्था बिग्रिएको हुन्छ । आजभन्दा १ वर्ष अगाडि लघुवित्त कम्पनीहरूको शेयर मूल्य रू. १ हजारभन्दा माथि नै हुन्थ्यो । आज कुनै लघुवित्त कम्पनीको मूल्य रू. १०० भन्दा पनि तल झरेको अवस्था छ । सफलता वा असफताको खेल नै यसैमा छ । कुन बेला कुन कम्पनीको शेयर थप्ने कुन बेच्ने, सफलताको रहस्य यहाँनेर छ । लगानीले कतिबेला कमाइ र सन्तुष्टि दिन्छ भनेर कसैको अनुभव, अर्ती र अध्ययनले जानकारी दिन सक्दैन । त्यसले कसैको कहानी, लेख, किताब पढेर सफलताको सूत्र भेट्न सकिँदैन । तर, समयको अध्ययनले धेरै कुरा सिकाउन सक्छ । गाउँघरमा कुनै व्यक्ति असफल भयो जागीर पाएन भने बूढाबूढीले दिन आउनुपर्छ आत्तिनु हुँदैन भनेको सुनिन्थ्यो । यो लेख त्यो अभिप्रायले पनि लेखिएको होइन । जिन्दगीमा कुनै बनीबनाउ मुहूर्त छ त्यो पर्खिनुपर्छ भनेको होइन ।
काममा निरन्तरता, सचेतता, वृद्धिको प्रयास गर्दै जाँदा जस्तो परिस्थिति आइलाग्छ त्यसैअनुसार निर्णय गर्दै जानुपर्छ । कुनै व्यवसाय ठीक वा बेठीक भन्ने केही हुँदैन । जसले आवश्यकताअनुसार उचित निर्णय लिएर परिस्थितिलाई सम्हाल्दै लैजान सक्छ, त्यो राम्रो हुन्छ नसके बिग्रिन्छ । राजनीति वा नोकरीमा सफलता पाउनु र आफ्नो व्यवसाय र लगानीमा सफल हुनु अलग विषय हुन् । राजनीति वा समाजसेवामा कोही असफल भए पनि आफ्नो व्यक्तिगत लगानी डुबेर सडकमा आउनु पर्दैन तर व्यापार, व्यवसाय, शेयरबजारमा लगानी डुबेमा व्यवसायीले आत्महत्या गर्नुपर्ने अवस्था आउन सक्छ । त्यसैले सफलताको पनि एउटै परिभाषा हुँदैन र असफलताको एउटा मात्र कारण हुँदैन । व्यवसायलाई टिकाउन, लगानीलाई दिगो बनाउन र आम्दानीलाई कायम राख्न आर्थिक अनुशासन कायम राख्दै वित्त व्यवस्थापनमा सदैव सचेत हुनुपर्छ । कुनै पनि विषयको सफलताका लागि कुनै सूत्रात्मक तरीका छैन तर प्रक्रिया पालन गर्नुमा कुनै चुक हुनु हुँदैन । व्यक्तिलाई सबै सफलता आवश्यक छ तर राष्ट्र समाज र मानवताका लागि व्यावसायिक सफलता बढी आवश्यक र अनिवार्य तत्त्व हो । व्यवसाय एक संस्था हो र यसलाई असफल हुनबाट बचाउन त्यसको सञ्चालकले प्रयास त गर्नैपर्छ । राज्यले उद्यम र उद्यमीलाई डुब्नबाट बचाउने गरी नीति, रणनीति बनाउनुपर्छ ।
लेखक कैलाशकूट बहुमुखी क्याम्पसमा व्यवस्थापन विषय अध्यापन गर्छन् ।