काठमाडौं । विगत केही महीनामा बजारको अवस्थालाई हेर्दा नेप्से परिसूचक बारम्बार २१ सय विन्दुमाथि पुगेर फर्किएको छ ।
मौद्रिक नीतिको तेस्रो त्रैमासिक समिक्षा मार्फत नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूले एक वर्ष अवधि व्यतित भइसकेका लगानीमध्येबाट एक आर्थिक वर्षमा प्राथमिक पूँजीको २० प्रतिशतसम्म विक्री गर्न पाउने व्यवस्था गरेको थियो भने जेठ १ गते देखि ब्रोकर कमिशन पनि घटेको छ । त्यस्तै पछिल्लो समय अर्थतन्त्रका बाह्य सूचकहरू निकै सबल बन्दै गएका छन् ।
त्यस्तै लामो समयदेखि बैंक ब्याजदर घट्दोक्रममा रहेको छ । बैंक–वित्तीय संस्थामा अधिक तरलताको अवस्था छ तर पनि लगानीकर्ताहरू शेयर बजारप्रति सकारात्मक हुन नसकेको देखिन्छ । पछिल्लो समय सबै अवस्था सहज हुँदा पनि बजार सकारात्मक हुन नसकेको लगानीकर्ताहरूले गुनासो गर्न थालेका छन् ।
असार महीनाका लागि बैंक तथा वित्तीय संस्थाले पनि थप ब्याजदर घटाएका छन् । यसबाट लगानीकर्ता बजार बढ्नेमा ढुक्क थिए तर बजार आइतवार १७ अंकले घट्यो तर बढेको बजारमा अल्पकालीन कारोबारीले प्रोफिट बुक गरेकाले बजार केही घटेको जानकारहरू बताउँछन् । शेयर बजारलाई स–सानो समाचार देखि राजनीतिक अवस्थाले पनि प्रभावित पारेको हुन्छ ।
के भन्छन् लगानीकर्ता ?
नबराज दहाल
केही समय अगाडि राजनीतिक अन्योलता बढेको थियो । अर्को कुरा अहिले धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति प्रक्रियामा राजनीतिक जालझेल देखिएको छ । यसले गर्दा पनि शेयर बजार प्रभावित भएको हो । सरकारले शेयर बजारलाई केही राम्रो गर्ला कि भनेर सोचेका लगानीकर्ताले त्यो अनुसार पाएका छैनन्, सोही कारण पनि लगानीकर्तामा निरासा बढेको देखिन्छ ।
राधा पोखरेल
पछिल्लो समय बजार प्रति लगानीकर्ता सकारात्मक हुन सकेका छैनन् । बजेटमा यस्तो नीति आउँछ भनिन्छ, मौद्रिक नीति र मौद्रिक नीति समिक्षा मार्फत यो होला भनिन्छ तर केही पनि हुन सकेको छैन । अर्थमन्त्री नियुक्त हुँदा पूँजी बजारको सुधारको लागि काम गर्छु भनेर आश्वासन दिनु भएकोमा अहिलेसम्म केही कार्यान्वयन हुन सकेको छैन । ब्याजदर घटेपनि सजिलै ऋण लिन सक्ने वातावरण छैन । कर्जा लिन एउटा सीमा छ, जसले गर्दा पनि शेयर बजार प्रभावित भएको हो ।