काठमाडौं । साताको चौथो कारोबार दिन बुधवार नेप्से परिसूचक २ हजार विन्दु नजिक आएको छ । आजसँगै लगातार चार कारोबार दिन घटेर नेप्से परिसूचक २ हजार ६ दशमलव ७८ विन्दुमा झरेको हो ।
बजार लगातार घट्दै जाँदा लगानीकर्ताको मनोबल थप कमजोर बनेको छ । नेप्से परिसूचक बुधवार २ हजारको मनोवैज्ञानिक रेखामै आएको छ । आज नेप्से न्यून विन्दु १ हजार ९९९ दशमलव ८५ विन्दुसम्म झरेर अन्तिम प्रहरमा २ हजार विन्दुमाथि पुगेको हो । बिहीवार सूचक पुनः तल झर्छ वा माथि लाग्छ भन्नेमा लगानीकर्ताको चासो बढेको छ ।
यस दिन लघुवित्त समूहको शेयरमा भने लगानीकर्ताको आकर्षण कायमै छ । यस समूहका कम्पनीको शेयर मूल्य निकै तल्लो विन्दुमा आएकाले पनि खरीदकर्ता आकर्षित भएको अनुमान लगाउन सकिन्छ ।
यसो त लामो समयदेखि घटेको बजारमा कम्पनीको शेयर मूल्य निकै सस्तो भएको छ । यस कारण दीर्घकालीन, मध्यकालीन र अल्पकालीन लगानीको लागि पनि अहिले लगानी गर्न उपयुक्त हुने पुराना लगानीकर्ता बताउँछन् ।
बुधवार सेन्सेटिभ इन्डेक्स शून्य दशमलव १२ प्रतिशत, फ्लोट इन्डेक्स शून्य दशलमव १२ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव २३ प्रतिशत घटेको छ ।
यस दिन ३२२ धितोपत्रको ६४ लाख ८१ हजार ८३४ कित्ता शेयर ५२ हजार ६५ पटकमा रू. २ अर्ब ५३ करोड बराबरको शेयर कारोबार भएको हो । कारोबारमा आएका धितोपत्रमध्ये गुराँस लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
यस कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा आज १० प्रतिशत वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । शेयर मूल्य प्रतिकित्ता रू. १ हजार ७९६ दशमलव ८० पुगेको छ । त्यस्तै विन नेपाल लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ९ दशमलव ९७ प्रतिशत बढेर रू. १ हजार ४०१ पुगेको हो ।
बुधवार सबैभन्दा बढी रिभर फल्स पावर लिमिटेडका शेयरधनीले गुमाएका छन् । यस कम्पनीको शेयर मूल्य सबैभन्दा बढी ४ दशमलव ४० प्रतिशत घटेको छ । यससँगै कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ३९१ कायम भएको छ । त्यस्तै मन्दाकिनी हाइड्रोपावरको शेयर मूल्य ४ दशमलव ०८ प्रतिशत घटेर रू. ४०६ दशमलव ७० मा झरेको छ ।
यस दिन सर्वाधिक शेयर खरीदविक्रीको हिस्सा सूर्यज्योति लाइफ इन्स्योरेन्सले ओगटेको छ । यस कम्पनीको रू. २५ करोड ८० लाख बराबरको शेयर खरीदविक्री भएको हो । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ५१८ कायम भएको छ ।
कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई २४ दशमलव ७४ प्रतिशत बोनस शेयर र करसहित १० दशमलव २६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव भएसँगै सर्वाधिक शेयर कारोबार भएको हो । शेयर सर्वाधिक खरीदविक्री हुने दोस्रोमा रहेको सर्वोत्तम सिमेन्टको रू. १२ करोड ६७ लाख बराबरको भएको छ ।
यस दिन कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये तीन समूहको सूचक बढेको छ भने बाँकी सबै समूहको सूचक घटेको छ । लघुवित्त समूहको सूचक सबैभन्दा बढी १ दशमलव ६५ प्रतिशत वृद्धि भएको छ भने उत्पादन तथा प्रशोधन समूहको सूचक सबैभन्दा बढी १ दशमलव ७४ प्रतिशत घटेको छ ।