काठमाडौं । लगातार पाँच कारोबार दिन घटेपछि नेप्से परिसूचक आइतवार भने दोहोरो अंक बढेर बन्द भएको छ । यस दिन नेप्से परिसूचक १२ दशमलव २९ अंक बढेर १ हजार ९८४ दशमलव ४३ विन्दुमा पुगेको हो ।
आइतवार बजार खुलेदेखि निरन्तर घटेको नेप्से साढे २ बजेपछि भने खरीदकर्ता आकर्षित भएसँगै बढ्यो । बैकहरुले नाफा घटेको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेकाले सुरूआती चरणमा बजारले नकारात्मक प्रवृत्ति देखिएको हुन सक्छ तर बजार लामो समयदेखि घट्दै आएको छ ।
रिपोर्ट आउनुभन्दा अघि नै बजार धेरै करेक्सन भइसकेको र अहिले बजार मूल्य पनि निकै तल्लो विन्दुमा आएकाले पनि खरीदकर्ता आकर्षित भएका हुन । शेयर मूल्य निकै सस्तो भइसकोले अत्यावश्यक पर्ने बाहेक अन्यले शेयर बिक्री गर्न चाहेको देखिंदैन । मूल्य सस्तो भएकै कारण आइतवार बजारमा अन्तिम प्रहरमा क्रेता पक्ष हावी भएको लगानीकर्ता बताउँछन् ।
आइतवार सेन्सेटिभ इन्डेक्स शून्य दशलमव ०८ प्रतिशत,फ्लोट इन्डेक्स शून्य दशमलव ४४ प्रतिशत बढेको छ भने सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव ०२ प्रतिशत घटेको हो ।
३१० धितोपत्रको ६३ लाख ९३ हजार २४५ कित्ता शेयर ४७ हजार ११७ पटकमा रू. २ अर्ब २५ करोड बराबरको कारोबार भएको छ । कारोबारमा आएका धितोपत्रमध्ये सबैभन्दा बढी दोल्ती पावर कम्पनीको शेयर मूल्य ९ दशमलव ८८ प्रतिशत वृद्धि भएको छ । शेयर मूल्य प्रतिकित्ता रू. ४८७ पुगेको हो । त्यस्तै दोस्रोमा एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ८ दशमलव ४७ प्रतिशत बढेर रू. ७ सय पुगेको छ ।
आइतवार सबैभन्दा बढी पिपुल्स पावरका शेयरधनीले गुमाएका छन् । यस कम्पनीको शेयर मूल्य ७ दशमलव ४६ प्रतिशत घटेसँगै धेरै गुमाएका हुन । शेयर मूल्य प्रतिकित्ता रू. ६०८ मा झरेको छ । त्यस्तै दोस्रोमा खानीखोला हाइड्रोपावर कम्पनीको शेयर मूल्इ ५ दशमलव ४७ प्रतिशत घटेर रू.२३० कायम भएको हो ।
सर्वाधिक शेयर खरीदविक्रीको हिस्सा गोर्खाज फाइनान्सले ओगटेको छ । यस कम्पनीको रू. १० करोड २१ लाख बराबरको कारोबार भएको हो । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ७८७ दशमलव १० कायम भएको छ । त्यस्तै सर्वाधिक शेयर खरीदविक्री हुने दोस्रोमा सर्वोत्तम सिमेन्टको रू. ७ करोड ८८ लाख बराबरको भएको हो ।
कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये दुई समूहको सूचक घटेको छ भने बाँकी सबै समूहको सूचक बढेको हो । सबैभन्दा बढी उत्पादन तथा प्रशोधन समूहको सूचक १ दशमलव ९० प्रतिशत वृद्धि भएको छ भने म्युचुअल फण्डको शून्य दशमलव ४३ प्रतिशत घटेको हो ।