काठमाडौं । साताको दोस्रो कारोबार दिनसँगै नेप्से परिसूचक लगातार तीन कारोबार दिन घटेको छ । सोमवार परिसूचक १५ दशमलव ६२ अंक घटेको छ । यससँगै परिसूचक १ हजार ९५८ दशमलव ७५ विन्दुमा झरेको हो । पछिल्लो तीन कारोबार दिनमा नेप्से परिसूचक ४७ दशमलव ५१ अंक घटेको छ ।
नेपाल धितोपत्र बोर्डले जेठ १ गतेदेखि ब्रोकर कमिसन घटाउने निर्णय गरेको खबर सार्वजनिक हुँदा पनि बजारमा सकारात्मक प्रभाव परेन । बजार सुधार्नका लागि नेपाल राष्ट्र बैंकले कसेका नीतिलाई खुकुलो पार्नुपर्ने लगानीकर्ता बताउँछन् । शेयर धितो कर्जामा सीमा खारेज र जोखिमभार घटाउने निर्णय नहुँदासम्म नेप्सेले गति लिन नसक्ने उनीहरूको भनाइ छ ।
सोमवार सेन्सेटिभ इन्डेक्स शून्य दशमलव ९६ प्रतिशत, फ्लोट इन्डेक्स शून्य दशमलव ८० प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव ८८ प्रतिशत घटेको छ ।
यस दिन ३१० धितोपत्रको ६९ लाख ७८ हजार ३२१ कित्ता शेयर ४८ हजार ७०९ पटकमा रू. २ अर्ब ८९ करोड बराबरको कारोबार भएको हो । कारोबारमा आएका धितोपत्रमध्ये सबैभन्दा बढी बोटलर्स नेपाल तराईको शेयर मूल्य ९ दशमलव ०३ प्रतिशत वृद्धि भएको छ । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. १४ हजार ६९ दशमलव ८० पुगेको हो । शेयर मूल्य सर्वाधिक बढ्ने कम्पनीको सूचीमा दोस्रोमा रहेको माउण्टेन हाइड्रो नेपालको शेयर मूल्य ८ दशमलव ५२ प्रतिशत बढेर रू. २४८ दशमलव ५० पुगेको छ ।
सोमवार दुई कम्पनीको शेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ । पोखरा फाइनान्स र दोल्ती पावर कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा आज १० प्रतिशत घटेसँगै नेगेटिभ सर्किट लागेको हो । पोखरा फाइनान्सको शेयर मूल्य प्रतिकित्ता रू. ६६२ दशमलव ४० र दोल्ती पावरको शेयर मूल्य रू. ४४३ दशमलव ७० कायम भएको छ ।
आज सर्वाधिक शेयर खरीदविक्रीको हिस्सा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले ओगटेको छ । यस कम्पनीको रू. ३१ करोड ९३ लाख बराबरको शेयर कारोबार भएको हो । यस कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेसँगै सर्वाधिक शेयर कारोबार भएको हो । कम्पनीले २६ दशमलव ९८ प्रतिशत बोनस शेयर कर प्रयोजनको लागि १ दशमलव ४२ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
सर्वाधिक शेयर खरीदविक्री हुने दोस्रोमा नेपाल फाइनान्स छ । कम्पनीको रू. १० करोड ८१ लाख बराबरको शेयर कारोबार भएको हो ।
यस दिन कारोबारमा आएका १३ समूहगत सूचकमध्ये विकास बैंक समूहको सूचक शून्य दशमलव २३ प्रतिशत वृद्धि भएको छ भने बाँकी सबै समूहको घटेको छ । तीमध्ये वित्त समूहको सूचक सबैभन्दा बढी १ दशमलव ९६ प्रतिशत घटेको छ ।