काठमाडौं । गतवर्ष पुसमा माथिल्लो तामाकोशी हाइड्रोपावर लिमिटेडले नबिकेको हकप्रद शेयर लिलामीमा ल्याएको थियो । कम्पनीको शेयर किन्न ३ दिनसम्म लगानीकर्ता लाम बसेर आवेदन दिएका थिए । माथिल्लो तामाकोशी हाइड्रोपावर कम्पनीले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्दा विक्री नभएको शेयर गत २०८० पुस १३ देखि २९ गतेसम्म लिलामीमा राखेको थियो । कम्पनीले १ करोड ७० लाख १९ हजार ५३० कित्ता शेयर लिलामीमा राखेको थियो ।
मेरो शेयर एपमार्फत सजिलै शेयर खरीदविक्री गरेका लगानीकर्ताका लागि यो प्रक्रिया झन्झटिलो थियो । यस्ता लिलामीमा आउने शेयर खरीदका लागि अनलाइनमार्फत आवेदन दिन मिल्ने व्यवस्था भए सहज हुन्थ्यो भनेर लगानीकर्ताले सामाजिक सञ्जालमा गुनासो गर्न थालेका छन् । ‘लिलामी शेयरमा लामो कागजपत्र भर्नुभन्दा अनलाइनमार्फत आवेदन दिन मिल्ने भयो भने सहज हुने थियो,’ पोखराकी शेयर लगानीकर्ता विष्णु पराजुली बताउँछिन् ।
हाल धेरैजसो लिलामी शेयर खरीदको आवेदन दिन विक्री प्रबन्धकको कार्यालयमै पुग्नुपर्छ । विक्री प्रबन्धक काठमाडौं उपत्यकामा मात्रै सीमित हुँदा बाहिरका लगानीकर्ता लिलामीको शेयरमा आवेदन दिनबाट वञ्चित हुनपरेको पराजुलीको गुनासो छ । ‘केही कम्पनीले कुनै निश्चित बैंकका शाखा कार्यालयमा गएर आवेदन दिन मिल्ने व्यवस्था गरे पनि सबैले त्यस्तो व्यवस्था गरेका छैनन्,’ उनले भनिन् ।
माथिल्लो तामाकोशी हाइड्रोपावर लिमिटेडपछि घलेम्दी हाइड्रो, सिंगटी हाइड्रो इनर्जी, अरुण भ्याली र रिडी पावरले हकप्रद शेयरमा नबिकेको शेयर लिलामीमा ल्याएका थिए । तिनीहरूको लिलामी शेयर किन्ने आवेदन बुझाउन लगानीकर्ता विक्री प्रबन्धकको कार्यालयमा लाम बस्नुपरेको थियो ।
सिडिएस एन्ड क्लियरिङ लिमिटेडका प्रमुख कार्यकारी अधिकृत पूर्णप्रसाद आचार्य प्राविधिक रूपमा अनलाइनमार्फत लिलामीका शेयर किनबेच सम्भव भए पनि आवश्यक नियम कानून पहिला आउनुपर्ने बताउँछन् । ‘अनलाइनबाट आवेदन दिँदा एउटाले प्रस्ताव गरेको मूल्य बाहिर लिक भयो भने अर्कोले थाहा पाउन सक्छ र उसले त्योभन्दा बढी मूल्य राख्न सक्छ,’ उनले भने ।
नेपाल धितोपत्र बोर्डले हालसम्ममा यस विषयमा कुनै कानूनी व्यवस्था नगरेको बोर्डका प्रवक्ता डा. नवराज अधिकारीले बताए । पछिल्लो समय समग्र शेयरबजार प्रविधिमैत्री भएको अवस्थामा लिलामी शेयर खरीदका लागि पनि अनलाइनमार्फत आवेदन दिन पाउने व्यवस्था हुनुपर्ने जानकार बताउँछन् ।