काठमाडौं । नेपाल विद्युत् प्राधिकरण (नेविप्रा) ले पछिल्लो केही दिनदेखि औद्योगिक क्षेत्रमा नियमित विद्युत् आपूर्ति गर्न थालेपछि निर्यातमुखी उद्योगहरू हर्षित भएका छन्। नेपाल एक्स्पोर्ट एसोसिएसन (एफएनइए) ले यस कदमलाई उद्योगप्रति मित्रवत नीति भन्दै प्राधिकरण, ऊर्जा मन्त्रालय र सरकारलाई आभार व्यक्त गरेको छ।
एसोसिएसनले जारी गर्दै गरेको प्रेस विज्ञप्तिमा लोडसेडिङको कारण उत्पादनमा आएको गिरावट, राजश्व घट्ने र अर्थतन्त्र प्रभावित हुने समस्या रहँदै आएकोमा भारतबाट थप विद्युत् आयात गरी समस्या समाधान गर्ने प्रयासलाई सराहना गरेका छन् । यसअघि औद्योगिक क्षेत्रले दैनिक १२ घण्टासम्म लोडसेडिङ झेल्नुपर्ने अवस्थामा उत्पादन, रोजगारी र निर्यात क्षमता समेत घटेको उद्योगीहरूले बताउँदै आएका थिए ।
'स्वदेशी श्रम एवं सीपमा आधारित कच्चा पदार्थ र उत्पादनलाई प्रवर्द्धन गर्दै विश्वभरमा चिनाउने, बजारीकरण गर्ने, प्रतिस्पर्धी बनाउने र नेपालको अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन निरन्तर लागिपरेका निर्यातमुखी उद्योगहरुले दैनिक १२ घण्टासम्म लोडसेडिङ भोगिरहेका कारण असुरक्षा र अनिश्चितताको विकराल समस्या भोगिरहेका छन्,' विज्ञप्तिमा जनाइएको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले भारतसँगको सहकार्यमा विद्युत् आपूर्ति बढाएपछि अब उद्योगहरूले २४ घण्टा विद्युत् पाउने सुनिश्चितता भएको बताउँदै आएका छन् । यसले स्वदेशी कच्चा पदार्थ, रोजगारी र आत्मनिर्भर अर्थतन्त्र निर्माणमा गति आउने अपेक्षा छ ।
तर, एसोसिएसनले सरकारले निर्यातमा दिने नगद सहुलियतको भुक्तानी ढिला भएको गुनासो समेत गरेका छन् । यथाशीघ्र यो समस्या समाधान गर्न सरकारलाई अनुरोध गरिएको छ। यस्तै यसमा संगठित उद्योगहरूले निर्यात मार्फत राज्य र अर्थतन्त्रमा गरिरहेको योगदान उल्लेख्य रहेको तथ्यांकले प्रमाणित गर्ने विज्ञप्तिमा उल्लेख छ ।