काठमाडौं । माण्डु हाइड्रोपावर कम्पनी लिमिटेडले चालू आर्थिक वर्ष (आव)को पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।
उक्त वित्तीय विवरण अनुसार कम्पनीले सो अवधिमा रू. १२ करोड ७२ लाख नाफा कमाएको छ । यो नाफा गत आवको पहिलो त्रैमासको तुलनामा १३ दशमलव ३२ प्रतिशत वृद्धि भएको छ । सो अवधिमा कम्पनीले रू. ११ करोड २२ लाख नाफा कमाएको थियो ।
चालू आवमा कम्पनीको विद्युत विक्री आम्दानीमा वृद्धि भएकाले नाफा बढ्न टेवा पुगेको हो । गत आवमा कम्पनीले विद्युत विक्रीबापत रू. २४ करोड ४० लाख आम्दानी गरेकोमा चालू आवमा बढेर रू. २५ करोड १० लाखमा पुगेको हो ।
कम्पनीको चुक्ता पूँजी रू. १ अर्ब ३६ करोड छ। चालू आवको पहिलो त्रैमासमा कम्पनीले जगेडामा रू. ४६ करोड ४७ लाख र शेयर प्रिमियममा रू. १७ करोड सञ्चिति गरेको हो । सो अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ९ रुपैयाँ ३३ पैसा, मूल्य आम्दानी अनुपात ४६ दशमलव ०४ गुणा र प्रतिशेयर नेटवर्थ १४६ रुपैयाँ ५५ पैसा छ ।
कम्पनीले गत आवको मुनाफाबाट १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीबाट करसहित १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले पहिलो पटक शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले लाभांश प्रस्ताव पारितका लागि मंसिर १५ गते साधारण सभा बोलाएको छ । सभा छाँया सेन्टर ठमेल काठमाडौंमा उक्त दिन बिहान १० बजे शुरु हुनेछ ।
उक्त लाभांश वितरण प्रयोजनको लागि कम्पनीले मंसिर ४ गते बुक क्लोज गरेको छ । यस बुक क्लोजको आधारमा कात्तिक २३ गतेसम्म (तिहारको सार्वजनिक विदाका कारण) कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।