काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष (आव)को चौथो त्रैमाससम्म १ करोड ९१ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ । अघिल्लो आवको चौथो त्रैमाससम्म ४ करोड ४२ लाख रुपैयाँभन्दा बढी खुद नोक्सानीमा रहेको कम्पनीले गत आवमा भने नोक्सानी सुधार्दै खुद नाफा गरेको हो ।
गत आवमा कम्पनीको सञ्चालन नाफा २ करोड ७२ लाख रुपैयाँभन्दा बढी भएको छ । गत आवमा इम्पेयरमेन्ट चार्जबापतको १ करोड ३८ लाख रुपैयाँभन्दा बढी रकम फिर्ता भएसँगै कम्पनी नाफामा गएको हो ।
हाल कम्पनीको चुक्ता पूँजी १० करोड ९३ लाख रुपैयाँभन्दा बढी छ भने रिटेन्ड अर्निङ १ करोड १७ लाख रुपैयाँभन्दा बढी ऋणात्मक छ । अघिल्लो आवमा ४ करोड २३ लाख रुपैयाँभन्दा बढी रहेको जगेडा कोष रकम गत आवमा ५ करोड ४७ लाख रुपैयाँभन्दा बढी छ ।
कम्पनीले गत आवको चौथो त्रैमाससम्म ९८ करोड ७८ लाख रुपैयाँभन्दा बढी निक्षेप संकलन गरेको छ भने १८ करोड ३७ लाख रुपैयाँभन्दा बढी कर्जा सापटी लिएको छ ।
कर्जा सापटी रकम १ अर्ब २८ करोड ५३ लाख रुपैयाँभन्दा बढी छ । अघिल्लो आवमा ७ दशमलव ९० प्रतिशत रहेको निष्क्रिय कर्जा गत आवमा घटेर ४ दशमलव ४६ प्रतिशतमा झरेको छ । वार्षिक प्रतिशेयर आम्दानी १७ रुपैयाँ ५३ पैसा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ १५० रुपैयाँ २ पैसा छ ।