काठमाडौं । धितोपत्र दलाल व्यवसायी (ब्रोकर) कम्पनीहरूले प्रदान गर्ने मार्जिन कारोबार सुविधा नाममा मात्र सीमित भएको छ । २०७५ सालमै धितोपत्रको दोस्रो बजार सञ्चालक नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले मार्जिन कारोबार सुविधासम्बन्धी कार्यविधि बनाई लागू गरेको थियो । लगानीकर्तालाई थप सुविधा दिने उद्देश्यले करीब दुई दर्जन ब्रोकर कम्पनीले मार्जिन कारोबारको स्वीकृति लिएका छन् । तर, हाल कुनै पनि कम्पनीले उक्त सेवा प्रदान गरेका छैनन् ।
शुरुआती दिनमा फन्डलगायत प्राविधिक कारणले यो सेवा प्रदान गर्न नसकेको भन्दै कार्यविधिमा केही थप व्यवस्था गर्न ब्रोकरहरूले माग गरेका थिए । लाइसेन्स लिएकामध्ये एक कम्पनीले मात्र केही समय लगानीकर्तालाई यो सुविधा दिएको थियो ।
५८ नम्बरको ब्रोकर नासा सेक्युरिटिज कम्पनी लिमिटेडले मार्जिन कारोबार सेवा शुरू गरे पनि अहिले फन्डको अभावमा बन्द गरेको बताएको छ । नासाका प्रबन्ध सञ्चालक मदन पौडेलले फन्डकै अभावमा मार्जिन कारोबार सुविधालाई निरन्तरता दिन नसकेको जानकारी दिए । सय जनाभन्दा बढीलाई सेवा प्रदान गरेको नासाले पछिल्लो समय यो सेवा बन्द गरेको पौडेलको भनाइ छ ।
ब्रोकरहरूले आफ्नो फन्डसँगै वाणिज्य बैंकबाट ऋण लिएर दिन सक्ने यो सुविधा व्यावहारिक रूपमा कठिन भएको पौडेलको भनाइ छ । बैंक, वित्तीय संस्थाबाट ब्रोकरले आफ्नो पोर्टफोलियो धितो राखेर मात्र कर्जा पाउने भएकाले समस्या भएको पौडेलले बताए । मार्जिन कारोबार सुविधा लिएका ग्राहकको पोर्टफोलियोसमेत धितो राखेर ब्रोकरले कर्जा पाउने सुविधा भए फन्ड जुटाउन सहज हुने उनको भनाइ छ । वित्तीय प्रणालीमा पर्याप्त तरलता हुँदा पनि ब्रोकरले आवश्यक फन्ड जुटाउन सहज नभएको गुनासो उनले गरे ।
मार्जिन कारोबारका लागि सदस्यता प्रदान गर्ने नेप्सेका सूचना अधिकारी मुराहरि पराजुली यो सुविधाका लागि मुख्य समस्या भनेको कस्ट अफ फन्ड (पूँजीको लागत) रहेको बताउँछन् । कस्ट अफ फन्ड बढी हुँदा मार्जिन कारोबार सुविधाका लागि बजारमा मागसमेत कम रहेको बुझाइ पराजुलीको छ । ब्रोकरहरूले आफ्नो स्रोतबाट नपुगे वाणिज्य बैंकबाट ऋण लिएर यो सेवा दिँदा ब्याज र सेवा शुल्क बढी हुन जाने भएकाले यो सेवा प्रभावकारी रूपमा कार्यान्वयनमा आउन नसकेको हुन सक्ने पराजुली बताउँछन् । नेप्सेले २०७५ सालमै मार्जिन कारोबार सुविधासम्बन्धी कार्यविधि, २०७५ जारी गरेको थियो ।
उक्त समयमा दुई दर्जन कम्पनीले मार्जिन कारोबार सुविधा प्रदान गर्न स्वीकृति प्राप्त गरे पनि कार्यविधिका केही बुँदाले व्यावहारिक कठिनाइ भएको भन्दै लागू हुन सकेको थिएन । नेप्सेले ब्रोकरको मागबमोजिम आवश्यक बुँदा संशोधन गरी २०७९ साल वैशाख १५ गतेदेखि कार्यविधि लागू गरेको हो ।
बोर्डले संशोधन गरेको कार्यविधिअनुसार लगानीकर्ताले ब्रोकरमार्फत ७० प्रतिशत कर्जा पाउनेछन् । यसअघि ५० प्रतिशतसम्म मात्र पाउने व्यवस्था थियो । संशोधित व्यवस्थाअनुसार लगानीकर्ताले शेयर धितो राख्दा ३० प्रतिशत रकम वा त्यो मूल्य बराबरको शेयर धितो राखे पुग्ने भएको हो ।
लगानीकर्ताले मार्जिन कर्जाका लागि धितो राखेको शेयरको मूल्यांकन गर्दा १२० दिनको औसत मूल्य वा बजार मूल्यमध्ये जुन कम हुन्छ त्यसैको आधारमा कर्जा दिन सकिने व्यवस्था छ । यसअघि १८० दिनको औसत मूल्यको आधारमा धितो राखेको शेयरको मूल्यांकन गर्नुपर्ने व्यवस्था थियो । लगानीकर्ताले प्रत्येक दिन कम्तीमा मार्जिन रकम २० प्रतिशत बराबर कायम गर्नुपर्नेछ । शेयर धितोको मूल्य २० प्रतिशतभन्दा कम हुन गएमा ब्रोकरले रकम थप्न मार्जिन कल गर्न सक्छ ।